Skip This
ताक्लाकोटमा नेपाली–चिनियाँ अधिकारीको बैठक : हुम्लीलाई विनाभिसा मानसरोवरसम्म जान दिन नेपालको प्रस्ताव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
श्रीनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी, हुम्ला
२o८१ बैशाख २७ बिहीबार o८:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ताक्लाकोटमा नेपाली–चिनियाँ अधिकारीको बैठक : हुम्लीलाई विनाभिसा मानसरोवरसम्म जान दिन नेपालको प्रस्ताव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:५८:oo

नेपालले हुम्लाबासीलाई तिब्बतको तीर्थस्थल कैलाश मानसरोवरसम्म भिसाविना आवतजावत गर्न चीन सरकारलाई आग्रह गरेको छ । अघिल्लो साता (शुक्रबार) तिब्बतको ताक्लाकोटमा नेपालको हुम्ला र तिब्बतको पुराङ काउन्टीका प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा नेपालका तर्फबाट यस्तो आग्रह गरिएको हो ।

‘सन् १९८१ मा भएको सम्झौताअनुसार नेपाल र चीनले एकअर्को देशका नागरिकलाई सिमानाबाट ३० किलोमिटर क्षेत्रमा प्रवेश पासका आधारमा ओहोरदोहोर गर्न सकिने व्यवस्था छ । तर, हामीले हुम्लाबासीलाई कैलाश मानसरोवरसम्म जान दिन भनेका छौं । हुम्लाका बासिन्दाले लामो समयदेखि यो माग गर्दै आउनुभएको छ,’ ताक्लाकोटबाट आइतबार सिमकोट फर्केका हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले नयाँ पत्रिकासँग भने ।

श्रीनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी, हुम्ला
सन् १९८१ मा भएको सम्झौताअनुसार नेपाल र चीनले एकअर्को देशका नागरिकलाई सिमानाबाट ३० किलोमिटर क्षेत्रमा प्रवेश पासका आधारमा ओहोरदोहोर गर्न सकिने व्यवस्था छ । तर, हामीले हुम्लावासीलाई कैलाश मानसरोवरसम्म जान दिन भनेका छौँ । हुम्लाका बासिन्दाले लामो समयदेखि यो माग गर्दै आएका छन् ।

नेपाल र चीनबीच २२ नोभेम्बर १९८१ मा भएको व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौताको दफा ८ मा यो व्यवस्था छ । दफामा भनिएको छ, ‘दुई देशका सीमावर्ती बासिन्दाहरूको आर्थिक जीवनमा सुधार गर्ने दृष्टिकोणले दुई देश सहमति गर्दछन् कि दुवै देशका सीमावर्ती बासिन्दाहरू सीमाबाट ३० किलोमिटरभित्र परम्परागत व्यापार गर्न सक्नेछन् ।’ चीनको सीमा जोडिएका सबै जिल्लाका बासिन्दाका लागि ३० किलोमिटरसम्म ओहोरदोहोर गर्ने सुविधा छ । जिल्ला प्रशासन कार्यालयहरूले बनाएको सीमा प्रवेश पासका आधारमा स्थानीय बासिन्दाले यो सुविधा लिन सक्नेछन् । उनीहरूलाई भिसा र राहदानी आवश्यक पर्दैन ।

हुम्लाबाट कैलाश मानसरोवरको दूरी १६० किलोमिटर छ । कैलाश मानसरोवरसम्म जान दिनुपर्ने नेपाली अधिकारीको प्रस्तावमा पुराङ काउन्टीका प्रमुखले माथिल्लो तहमा यसबारे जानकारी गराउने वचन दिएका छन् । ‘सन्धिअनुसार कानुनी रूपमा त मिल्दैन । तर, व्यावहारिक रूपमा के गर्न सकिन्छ हामी सरसल्लाह गर्छौँ भनेका छन्,’ द्विपक्षीय बैठकमा सहभागी नाम्खा गाउँ पालिकाका प्रमुख प्रेमबहादुर लामाले टेलिफोनमा भने । प्रमुख जिल्ला अधिकारी पौडेलले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा सुरक्षा अधिकारीहरूसहित १० जना सहभागी थिए ।

हुम्लावासीलाई नयाँ पास दिइने
दुई देशका अधिकारीहरूले प्रवेश पासको मिति समाप्त भएर पनि तिब्बत क्षेत्रमा रहेका नेपालीहरूलाई हुम्ला आउन सहजीकरण गर्ने निर्णय गरेका छन् । प्रमुख जिल्ला अधिकारीको टोलीले तिब्बतमा कोरोना महामारीदेखि बसोबास गर्दै आएका हुम्लावासीले नेपाल आउन सहजीकरणका लागि पास लिएर गएका थिए । ‘पास नवीकरण गर्दा विवरण दोहोरिने अवस्था भएपछि अब सबैजनालाई जिल्ला प्रशासन कार्यालयबाट नयाँ पास उपलब्ध गराउने निर्णय भएको छ । पासको मिति सकिएर पनि तिब्बतमा रहनुभएकाहरूलाई नेपाल आउन समस्या हुँदैन, नेपालतर्फ आएर प्रशासनबाट नयाँ पास लिएर उहाँहरू जान सक्नुहुन्छ,’ पौडेलले भने । हाल ताक्लाकोट आसपासमा पाँच सयजना हुम्लावासी छन् । पछिल्लोपटक जिल्ला प्रशासन कार्यालयबाट २३ सय हुम्लावासीले सीमापार प्रवेश पास लिएका छन् ।

दुई प्रशासनबीच सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्ने सहमति भएको छ । नाम्खा गाउँपालिका अध्यक्ष लामाका अनुसार सीमाक्षेत्रमा संयुक्त गस्ती गर्ने तथा शंकास्पद व्यक्तिहरूको आवतजावतमा रोक लगाउने सहमति भएको छ । ‘हामीले नेपाली भूमिबाट चीनविरोधी कुनै पनि प्रकारका गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छौं । हुम्लामा त्यस्तो खालको केही पनि अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने । हुम्ला जिल्ला जोडिएका क्षेत्रमा सीमासम्बन्धी कुनै पनि समस्या नरहेको पनि उनीहरूले निष्कर्ष निकालेका छन् । ‘तीन वर्षपछि भर्खरै हिल्सा नाका खुलेका कारण यसबीचमा रहेका समस्याहरूका बारेमा जानकारी आदनप्रदान भयो,’ अध्यक्ष लामाले भने ।

भारतीय तीर्थयात्री अभावमा नाका सुनसान
चीनले भारतीय तीर्थयात्रुलाई कैलाश मानसरोवर जाने अनुमति दिएको छैन । भारतीय यात्रु अभावका कारण हिल्साबाट कैलाश मानसरोवर जाने यात्रुहरूको संख्या न्यून छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार यो वर्ष करिब ५० जना तीर्थयात्री मात्रै हिल्सा नाका भएर कैलाश मानसरोवर गएका छन् । 

‘काठमाडौंबाट चीनको भिसा लिएका र हुम्लाको ट्रेकिङ परमिट लिएका विदेशीहरूलाई हिल्सा नाकाबाट मानसरोवर जान अप्ठ्यारो छैन । तर, यो वर्ष यो नाका त्यति धेरै उपयोगमा छैन,’ पौडेलले भने । कैलाश मानसरोवर जाने नेपाली तथा भारतीयबाहेकका तीर्थयात्रीहरूले रसुवागढी केरुङ राजमार्ग प्रयोग गरेका छन् । तर, हिल्साबाट कैलाश मानसरोवर १६० किलोमिटर दूरीमा रहेका कारण त्यही दिन गएर फर्किन सकिने अवस्था छ, अन्य सीमानाकाबाट यो अवस्था हुँदैन । 

ad
ad