१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चीनमा फैलिएको निमोनियाको नेपालमा पनि जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३२:oo

सतर्कता अपनाउन र तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

चीनलगायत देशमा बालबालिकामा फैलिइरहेको निमोनिया नेपालमा पनि फैलिन सक्ने जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथामको तयारीमा जुट्न निर्देशन दिएको छ । मन्त्रालयले नेपाल प्रवेश गर्ने नाका र विमानस्थलमा चेकजाँच र परीक्षण गर्न तथा अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसो बढेसँगै फ्लुलगायत श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम बढेको तथा चीनमा फैलिइरहेको निमोनियासमेत फैलिन सक्ने भएकाले यस्तो निर्देशन दिइएको बताए । ‘हाल चीनमा देखिएको निमोनियाका लक्षण नेपालमा नदेखिए पनि चीनमा लामो समयदेखि बालबालिका प्रभावित भइरहेका छन् । जसले गर्दा हामीकहाँ पनि जोखिम बढेको छ,’ प्रवक्ता डा. बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले सीमानाका र विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न, लामो समयसम्म निमोनिया देखिएमा नमुना संकलन गरेर थप परीक्षण गर्न र देशैभरिका अस्पताललाई तयारी रहन निर्देशन दिइएको हो ।’

संक्रमण फैलिएमा रोकथाम र उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पताललगायत निकायसँग आवश्यक छलफल गरिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. हेमन्त ओझाले जानकारी दिए । 

चीनमा फैलिइरहेको निमोनिया के हो ? 

गत २१ नोभेम्बरमा प्रोमेड (संक्रामक रोगहरूको विश्वव्यापी रिपोर्टिङ सञ्चालन गर्ने सबैभन्दा ठूलो सार्वजनिक रूपमा उपलब्ध निगरानी प्रणाली, जुन सन् १९९४ मा इन्टरनेसनल सोसाइटी फर इन्फेक्सियस डिजिजेस इमर्जिङ डिजिजले सुरुवात गरेको थियो) ले चीनमा निमोनियाको संक्रमण तीव्र बढिरहेको रिपोर्टिङ गर्‍यो । जुन बिस्तारै बढ्दै गएर बेइजिङ, लिओनिङ र उत्तरी चीनका बालबालिकाहरूमा हालसम्म फैलिइरहेको छ । 

फोक्सोमा संक्रमण गर्ने ब्याक्टेरिया माइकोप्लाज्मा निमोनियाका कारण बालबालिका अस्पतालमा भर्ना हुने दर बढिरहेको पाइएको छ । तर, चीनले भने यसलाई सामान्य फ्लु अर्थात् आरएसभी रहेको बताउँदै आएको थियो । उत्तरी चीनका प्रान्तहरूमा निमोनियाका कारण बालबालिका गत अक्टोबरदेखि नै अस्पताल भर्ना भइरहे पनि चीनले यो निमोनियाबारे बाहिर जानकारी खुलाएको थिएन । नोभेम्बरको अन्तिम साता प्रोमेडले यो निमोनिया सामान्य नभएको बताएपछि विश्वको चासो बढेको हो ।

क्लिनिकल परीक्षण आधारमा यो निमोनिया सामान्य रहेको र केही दिन आराम गर्दा आफैँ निको हुने गरेको पाइए पनि हाल यो संक्रमण गम्भीर बन्दै गएको विश्व स्वास्थ्य संगठनले बताएको छ । यसअघि, १३ नोभेम्बरमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले अक्टोबरको मध्यदेखि देशमा श्वासप्रश्वाससम्बन्धी रोगको वृद्धि भइरहेको भन्दै पत्रकार सम्मेलन आयोजना गरेको थियो । जसमा उत्तरी चीनले इन्फ्लुएन्जाजस्ता संक्रमणको पछिल्लो तीन वर्षमा वृद्धि भइरहेको बताइएको थियो । तर, निमोनिया फैलिइरहेकोबारे कुनै स्पष्ट जानकारी भने दिइएको थिएन । 

त्यसपश्चात् डब्लुएचओले बालबालिकाको अस्पताल भर्नादर बढेकोमा थप परीक्षण र क्लिनिकल ट्रायल गर्न अनुरोध गरेको थियो । र, चीनको रोग नियन्त्रण र रोकथाम केन्द्र, बेइजिङ बाल अस्पताल, राष्ट्रिय स्वास्थ्य आयोगको सहयोगमा चिनियाँ स्वास्थ्य अधिकारीसँग टेलिकन्फ्रेन्स गरेको थियो । जसमा, चीनले मे महिनादेखि माइकोप्लाज्मा निमोनियाका कारण बालबालिकाको अस्पताल भर्नामा वृद्धि भएको जनाएको थियो । 

माइकोप्लाज्मा निमोनियालाई वाकिङ निमोनियासमेत भन्ने गरिन्छ । यो संक्रमण वृद्धवृद्धामा पनि देखिने गरेको पाइए पनि अधिकांश बालबालिकामा बढी प्रभावित हुने गरेको छ । यो संक्रमणबाट बालबालिकामा घाँटी दुख्ने, ज्वरो आउने, थकान महसुस गर्ने र लामो समयसम्म खोकी लाग्ने लक्षण देखा पर्छ । 

यो निमोनिया नयाँ भने होइन । कोभिड महामारीमा हराएको यो संक्रमण २००८ देखि २०१२ सम्म चीनमै उच्चदरमा फैलिएको थियो । यसबाहेक, डेनमार्क, स्विट्जरल्यान्ड, वेल्स, स्लोभेनिया र सिंगापुरमा गत जनवरीदेखि सेप्टेम्बरसम्म फैलिएको थियो । तर, सामान्य मानिएको यो निमोनियाका कारण बालबालिका अस्पताल नै भर्ना हुन थालेपछि सजग रहन भनिएको हो । 

ad
ad