गाजापट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा एक सय ११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौँ घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजापट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको छ ।
गाजा सहरको केन्द्रमा रहेको अल–दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।
गाजापट्टीको दक्षिणी भागमा रहेको रफाह सहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले उत्तरी गाजापट्टीको बेइट लाहियाको कमल ओडवान अस्पतालमा आक्रमण गर्दै अस्पतालका निर्देशक र अन्य ७० जना मेडिकल स्टाफलाई गिरफ्तार गरेको मन्त्रालयले जनाएको छ ।
इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरूबीच लडाइँ जारी छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार ६ सय पुगेको छ ।