१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर २७ बुधबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषको सुविधा ७१ अस्पतालबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर २७ बुधबार ०६:२८:००

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले अब देशभरका ७१ वटा अस्पतालबाट उपचार सुविधा पाउने भएका छन् । काठमाडौंमा ओम अस्पताल, किस्ट अस्पताल, फ्रन्टलाइन अस्पतालसहितका अस्पतालबाट उपचार सुविधा पाउनेछन् । कोषले यी अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनुनपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ ।

सम्झौता भएका अस्पतालअन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नुपर्नेछैन । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमती प्रदेशका २८, गण्डकी प्रदेशका आठ र लुम्बिनी प्रदेशका आठवटा गरी कोषको प्रणालीसँग जोडिएका ७१ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा दिन सक्नेछन् ।

०७९ फागुन १ यता देशभरका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ७१ अस्पतालबाट औषधि उपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानहरूमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्न सकिने कोषले जनाएको छ । आगामी दिनमा अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रूपमा बढाउँदै लैजाने प्रतिबद्धता कोषले जनाएको छ ।