एकपटक एउटा राज्यमाथि अर्काे एउटा देशको विधर्मी शासकले आक्रमण गर्यो । राजाले आफ्ना सेनापतिलाई सीमामा सेना लिएर जान र आक्रमणकारीको कडा प्रतिकार गर्न आदेश दिए । सेनापति अहिंसावादी थिए । उनी लड्न चाहँदैनथे । राजाको आदेश लड्नु भन्ने थियो । यसर्थ, ऊ आफ्नो समस्या लिएर भगवान् बुद्धकहाँ परामर्श लिन गयो । सेनापतिले भने, ‘युद्ध भयो भने हजारौँ सैनिक मारिनेछन्, के यो हिंसा होइन र ?’ ‘हो, पक्कै हिंसा हो,’ बुद्धले भने, ‘एउटा कुरा बताउनुस् । के हाम्रा सेनाले उनको प्रतिकार गरेनन् भने उनीहरू आफ्नो देश फर्किन्छन् त?’
‘अहँ फर्किँदैनन्,’ सेनापतिले भने, ‘उनीहरूले हाम्रा देशका निर्दाेष नागरिकको हत्या गर्नेछन् । धनसम्पत्ति नाश गर्नेछन् ।’‘के योचाहिँ हिंसा होइन र ?,’ बुद्धले सोध्नु भयो । ‘हो, यो पनि हिंसा हो,’ सेनापतिले भने । ‘यदि तपाईं हिंसाको डरले चुप बस्नु भयो भने हाम्रो देशका नागरिक मारिनेछन् । त्यसको पाप तपाईंले बोक्नुपर्नेछ,’ बुद्धले भन्नुभयो । सेनापतिले टाउको झुकाए ।
‘के हाम्रा सेना उनीहरूलाई रोक्न सक्षम छन् त ?,’ बुद्धले सोध्नुभयो । ‘सक्षम छन् हजुर,’ सेनापतिले जवाफ दिए । त्यसोभए, यस्तो अवस्थामा आफ्ना प्रजाको रक्षा गर्नु नै तपाईंको परम कर्तव्य हुन आउँछ । अहिंसाको अर्थ कायरता होइन, अरूमाथि अत्याचार नगर्नु हो ।