विभागीय डर्बीमा नेपाल पुलिस क्लबमाथि ६–० को जित निकाल्दै एपिएफ क्लबको शीर्ष स्थानमा २ अंकको अग्रता
सानदार प्रदर्शन गरिरहेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगको उपाधिमा एकतर्फी दाबेदारी प्रस्तुत गरेको छ । बिहीबार भएको विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ६–० ले हरायो । एपिएफको जितमा कप्तान अनिता बस्नेतले ह्याट्रिक गरिन् । मिडफिल्डर सरु लिम्बूले दुई र रेनुका नगरकोटेले एक गोल थपेका छन् ।
एपिएफले यसअघि बागमती युवा क्लबलाई ५–१ र वालिङ नगरपालिककालाई ९–० ले हराएको थियो । टोलीले समग्रमा तीन खेल खेल्दा २० गोल गरेको छ । जम्मा एक गोल बेहोरेको छ । यसअघि ह्याट्रिकसहित ७ गोल गरिसकेकी रश्मिकुमार घिसिङ पुलिसविरुद्ध भने गोलविहीन भइन् ।
जितपछि एपिएफले डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भइरहेको दोस्रो चरणको लिगमा २ अंकको अग्रता बनाएको छ । लगातार तीन खेलबाट एपिएफको ९ अंक छ । पहिलो हार बेहोरेको पुलिसको चार खेल खेल्दा ७ अंक रह्यो । एपिएफ, पुलिस, आर्मी, वालिङ नगरपालिका र बागमती युथ सम्मिलित लिगको दोस्रो चरणका शीर्ष चार क्लबले प्लेअफमा स्थान बनाउनेछन् ।
एपिएफले लिगमा राष्ट्रिय टोलीबाट खेलिरहेका अनितासँगै रेनुका नगरकोटे, सरु लिम्बू, गीता राना, प्रीति राई, सविता रानामगर, रश्मिकुमारी घिसिङ र अनिता केसीसहित आठ खेलाडी मैदान उतारेको छ । त्यस्तै, मञ्जलीकुमारी योञ्जनसहित नेपालको उमेर समूहबाट खेलेका गोलकिपर सावित्री किसन, रेनुका हमाल, प्रतीक्षा चौधरी, मनमाया दमाईं, कुसुम खतिवडा, हिमा रावतलाई प्रशिक्षक जीवेशकुमारपाण्डेले मौका दिएका छन् ।
प्रशिक्षक पाण्डेले खेलाडीलाई दिएको जिम्मेवारी निर्वाह गर्दा ठुलो जित निस्केको बताए । उनले यो जितले उपाधि जित्ने आत्मबल बलियो भएकोसमेत जनाएका छन् । पुलिसका प्रशिक्षक भोला सिलवालले ठूलो हार नसोचेको बताएका छन् ।
कप्तान अनिताको ह्याट्रिक
एपिएफको जितमा कप्तान अनिता बस्नेतले ह्याट्रिक गरिन् । उनले खेलको ११ मिनेटसँगै इन्जुरी समयमा दुई गोल गरेकी थिइन् । पुलिसले राष्ट्रिय टिमकी पूर्वकप्तान निरु थापासहित वर्तमान टोलीका उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, अमृता जैसीलाई मैदानमा उतारेको थियो । अन्य खेलमा पुलिसको फाइनल थर्ड कमजोर देखिए पनि एपिएफविरुद्ध भने सबै क्षेत्रमा कमजोर रह्यो । बलियो मानिएको डिफेन्स पनि एपिएफले लगातार दबाब सिर्जना गर्दा निकै कमजोर बन्यो ।
पुलिसविरुद्ध एपिएफले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा चार गोल थपेको थियो । खेलको ११औँ मिनेटमा अनिताको गोलमार्फत एपिएफले अग्रता लियो । उनले करिब २५ यार्डबाट क्रस गरेको बललाई पुलिसकी गोलकिपर उषा नाथले ठम्याउन नसक्दा सीधै जाली चुमेको थियो । ३७औँ मिनेटमा रेनुकाले टोलीको अग्रता दोब्बर बनाइन् । सिक्स यार्ड बक्समा पुलिसका गोलकिपर र रक्षकबिचको तालमेल नमिल्दा त्यसको फाइदा रेनुकाले लिएकी थिइन् ।
सरुले दुई मिनेटभित्र दुई गोल गरेपछि पुलिस आत्तिएको थियो । सरुले खेलको ८६ र ८७औँ मिनेटमा गोल गरेपछि एपिएफ ४–० ले अगाडि बढ्यो । इन्जुरी समयमा दुई गोल गर्दै अनिताले ह्याट्रिक पूरा गरिन् । जारी लिगमा उनी तेस्रो खेलमा मात्रै गोल गर्न सफल भएकी थिइन् । विभागीय डर्बीमै उनले आफूलाई पुनः लयमा रहेको प्रमाणित गरेकी छिन् ।