
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन्।
राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्रीनिवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रूपमा पाउन सक्ने अवस्था बन्नु आवश्यक भएको बताएका हुन्।
आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले प्रधानमन्त्री प्रचण्डलाई आयोगको आव ०७९/८० को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आयोगका आयुक्त रत्नप्रसाद मैनालीका अनुसार प्रधानमन्त्री प्रचण्डले सूचनाको हकसम्बन्धी कानुनमा आवश्यक संशोधन गरी आयोगलाई स्रोत–साधनबाट प्रभावकारी बनाउन आफू सकारात्मक रहेको पनि विश्वास दिलाए।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागी भएका थिए। आयोगले प्रतिवेदन र सिफारिसबारे आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै छ।