Skip This
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर २० बुधबार o७:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o७:५o:oo

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

सम्मेलनका अवसरमा बुधबार संयुक्त राष्ट्रसंघ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरे । भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्वपूर्ण योगदानका लागि धन्यवाद दिए । 

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएकोसमेत उल्लेख गरे ।  साथै यसका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत दिए । 

आजै संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गरे । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरूप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिसनहरूमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे । 

भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप– २८ मा समेत जोडदार रूपमा नेपालले उठाएको स्मरण गराए । 

आजै उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गरे। रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गरे ।

उनले कतिपय शान्ति मिसनमा घाना र नेपाली शान्ति सैनिकहरूले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न  र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधैँ तत्पर रहेको बताए । त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गरे । उनले  त्यस अवसरमा घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराए । 

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यबारे छलफल भएको थियो । 

सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैरआवासीय नेपाली संघले एक कार्यक्रम आयोजना गरेको थियो । गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपाली विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेको उल्लेख गर्दै घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घानामा आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउनसमेत समस्या भएको बताएका थिए ।  

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको कला, संस्कृति प्रवर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि उत्प्रेरित गर्न एवं आफूले सिकेको ज्ञान र आर्जन गरेको रकम नेपालमा पठाउन गैरआवासीय नेपाली संघले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गरे ।