Skip This
वडाध्यक्षको साथपछि बेगनासमा निरन्तर मोटरबोट सञ्चालन, महानगरको पत्रलाई बेवास्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १८ सोमबार १४:o८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षको साथपछि बेगनासमा निरन्तर मोटरबोट सञ्चालन, महानगरको पत्रलाई बेवास्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १४:o८:oo

चौतर्फी विरोधपछि पोखरा महानगरपालिकाले रामसार  सूचीमा  सूचीकृत पोखरा– ३१ स्थित बेगनास तालमा विनाअनुमति व्यावसायिक रूपमा सञ्चालनमा आएको मोटरबोट बन्द गर्न पत्राचार गरे पनि बन्द हुन सकेको छैन।

बेगनास ताल डुंगा व्यवसायी समितिले १३ जेठदेखि तालमा विनाअनुमति मोटरबोट सञ्चालनमा ल्याएको हो। रामसार  सूचीमा  सूचीकृत तालमा मोटरबोट सञ्चालनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकनसँगै आवश्यक अन्य अध्ययन गरेर मात्र बोट सञ्चालन गर्नुपर्नेमा सामान्य अध्ययनसमेत नगरी व्यवसायीहरूले मनोमानी ढंगले व्यावसायिक रूपमा बोट सञ्चालनमा ल्याएका हुन्।

यस सम्बन्धमा नयाँ पत्रिकाले ७ असारमा समाचारसमेत प्रकाशन गरेको थियो। सोही समय महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बोट सञ्चालन भएको पाइए महानगरले रोक्ने बताएका थिए। तर, ६ महिना बित्दासमेत महानगरका सम्बन्धित प्रतिनिधि ‘तैँ चुप मैँ चुप’जस्तै गरी बसेका थिए।

विनाअनुमति तालमा मोटरबोट सञ्चालनमा आएपछि स्थानीयसँगै अन्य सरोकारवाला निकायले त्यसको चौतर्फी विरोध गर्दै बन्द गर्न महानगरपालिकालाई लिखित रूपमा आग्रह गरेका थिए। डेलिगेसन आउँदासमेत त्यसलाई बेवास्ता गर्दै चुप रहेको महानगरले विरोध भएपछि १३ मंसिरमा ३१ नम्बर वडा कार्यालय र डुंगा व्यवसायी समितिलाई बोट सञ्चालन बन्द गर्न भन्दै पत्र काटेको थियो।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना बेगनासमा मोटरबोट सञ्चालनका लागि कसैलाई अनुमति नदिएको बताउँछन्। ‘महानगरपालिका कार्यालयले कसैलाई अनुमति दिएको छैन र सञ्चालनका लागि कहीँकतैबाट केही पत्र आएको पनि छैन। तर, व्यवसायीले आफ्नो ढंगले सञ्चालन गरेको मोटरबोट बन्द गर्न महानगरले समिति र वडा कार्यालयलाई पत्रचार गरिसकेको छ,’ उनले भने।

महानगरले पत्र पठाएको एक हप्ता बित्न लाग्दासमेत त्यसलाई बेवास्ता गर्दै वडाध्यक्षसमेतको प्रत्यक्ष संलग्नतामा मोटरबोट सञ्चालन भइरहेको छ। बेगनासताल पोखरा– ३१ मा पर्छ। ३१ वडाका वडाध्यक्ष ढकनाथ कँडेल डुंगा व्यवसायी समितिका पूर्वअध्यक्षसमेत हुन्।

वडाध्यक्ष कँडेलसँगै अन्य दुई सय ६५ जनाको उक्त मोटरबोटमा लगानी रहेको छ। कँडेलले यसअघि नै महानगरको अनुमतिविनै तालमा बोट सञ्चालन गरेका हुन्। बोट सञ्चालनका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिनुपर्नेमा त्यसो नगरी उनले सीधै आफ्नोसमेत लगानी भएको बोट अध्ययनसमेत नगरी सञ्चालन गर्न दिएका हुन्। पोखरा महानगरपालिकासमेत यसबारेमा मौन बसेको थियो। तर, त्यसको चौतर्फी विरोधपछि ६ महिनापछि आएर मात्र बन्द गर्न भन्दै पत्र काटेको हो।

महानगरका तर्फबाट प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले १३ गते व्यवसायी समितिका नाममा पत्र काट्दै मोटरबोट बन्द गर्न निर्देशन दिएका थिए। पत्रमा भनिएको छ, ‘मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्‍याएको, माछालगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको, डुंगा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातिको पेसामा प्रभाव पारेको, ध्वनि प्रदूषण भएको तथा विनाअनुमति मोटरबोट सञ्चालन गरेको भनी बेगनास ताल मत्स्य व्यवसायी समिति र अन्य सरोकारवालाबाट पटकपटक गुनासो आएकाले बेगनासतालमा मोटरबोट सञ्चालन कार्य शीघ्र बन्द गर्नु–गराउनु हुन जानकारी गराइन्छ। अन्यथा प्रचलित कानुनबमोजिम हुने व्यहोरासमेत यसै पत्रबाट जानकारी गराइन्छ।’

यसैगरी महानगरले पोखरा– ३१ वडा कार्यालयलाई मोटरबोट बन्द भए–नभएको अनुगमन गरी जानकारी गराउन अनुरोध गर्दै पत्राचार गरेको थियो। महानगरले पत्राचार गरेको एक हप्ता बित्नै लाग्दा त्यसको वास्ता न वडा कार्यालयले गरेको छ, न त व्यवसायीले। वडा अध्यक्षको पूर्ण साथ पाएका व्यवसायीले महानगरको पत्रलाई बेवास्ता गरी निरन्तर बोट सञ्चालन गरिरहेका छन्।

पोखराका तालमध्ये सबैभन्दा ठूलो र धेरै पर्यटकको आवतजावत हुने फेवातालमा व्यावसायिक रूपमा मोटरबोट सञ्चालनमा आएको छैन। तर, बेगनासमा रेस्क्युलाई देखाउँदै व्यावसायिक प्रयोजन र स्वार्थका लागि बोट सञ्चालन गरिएको हो।

यस सम्बन्धमा डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कँडेललाई महानगरको पत्रपछि पनि किन मोटरबोट बन्द नगर्नु भएको भनी प्रश्न गर्दा उनले केही बताउन चाहेनन्। उनले, ‘महानगरको पत्र आएको छ। पत्र अफिसमा छ, म बाटोमा छु। मोटरबोटका सम्बन्धमा फोनमा केही बताउँदिनँ, केही सोध्न परे भेट्न आउनुस्, प्रत्यक्ष कुराकानी गरौँला, तर फोनमा केही बताउँदिनँ।’ 

वडाध्यक्ष कँडेललाई सम्पर्क गर्दा उनले मेयरसँग कुरा गरेर जानकारी दिने बताए। उनले भने, ‘मोटरबोट बन्द गर्न भनी महानगरबाट मेल आएको छ भन्ने सुनेको छु। मेयरसँग सम्पर्क भएको छैन, मेयरसँग कुरा गर्छु अनि के गर्ने गरौँला।’