१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रकाश सिलवाल रासस काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

Read Time : > 2 मिनेट
प्रकाश सिलवाल रासस काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:५o:oo

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन  संस्थानको स्नातक (बिई, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको संख्या केही बढेकाे छ ।
    
अध्ययन संस्थानभित्र विद्यार्थी संगठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामासमेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष ०८०/८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ । बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो । 

ढिलो परीक्षा हुँदा चिकित्सा शिक्षा एमबिबिएस प्रवेश परीक्षासँग समय जुधेको र कतिपय विद्यार्थीले इन्जिनियरिङ विषयमा अन्य विश्वविद्यालयमा भर्ना गरेकाले त्रिविको प्रवेश परीक्षामा २० प्रतिशत विद्यार्थी सहभागी भएनन् । विवादका कारण गत असोज १६ गते बोर्डका सबै पदाधिकारीले सामूहिक राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगन भएको थियो । वार्ता र सहमतिपछि परीक्षा सञ्चालन भएको थियो । 
    
अध्ययन संस्थानका सहायक डिन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्यका अनुसार यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार विद्यार्थीले मात्रै परीक्षामा भाग लिएका छन् । गत वर्ष नौ हजार चार सयले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित भएका थिए ।
     
संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि कात्तिक २० गतेसम्म सूचना प्रविधिका आधारमा यस वर्ष पहिलोपटक कम्प्युटर विधिमार्फत प्रादेशिक रूपमा पनि परीक्षा सञ्चालन गरिएको छ ।
     
त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार तीन सय ४४ विद्यार्थीले इन्जिनियरिङमा उक्त तहमा पढ्न सक्ने क्षमता रहेको छ । त्यसमा पाँच सरकारी (आंगिक) क्याम्पसमा ६ सय विद्यार्थीले पढ्न पाउँछन् । निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशिताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने एक हजार चार सय विद्यार्थी हुन्छन् ।
      
प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मंगलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ । आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्पश्चात् विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिएका छन् । ती क्याम्पसका लागि पहिलो चरणको योग्यता सूची पठाइएको र केही दिनमा भर्ना लिइने डा. बज्राचार्यले जानकारी दिए । बोर्डले तोकेअनुसार न्यूनतम अंकभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रमअनुसार भर्ना लिइनेछ ।
    
पुल्चोक इन्जिनियरिङ क्याम्पसका केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्रा.डा. हेमराज पन्तले पनि परीक्षाको मिति सर्नु र चिकित्सा शिक्षाको परीक्षासँग मिति जुध्नुले सहभागी संख्या केही घटेको बताए । उक्त क्याम्पसका प्राध्यापक संघका सभापति डा. पन्तका विचारमा नेपालमा अन्य विश्वविद्यालय र त्रिविकै पनि अरू अध्ययन संस्थान र संकायमध्ये इन्जिनियरिङ अध्ययन संस्थान अग्रणी स्थानमा रहेको छ ।

पुल्चोक क्याम्पसका उपप्राध्यापक बाबुराम दवाडीको एक अध्ययनमा अनुसन्धानात्मक गतिविधिमा स्रोतसाधनको कमी भए पनि पूर्णतया योग्यताक्रम (मेरिट) का आधारमा पारदर्शी रूपमा भर्ना लिइनु, परीक्षाका गतिविधिमा सूचना र प्रविधिको प्रयोग हुनु आदि कारणले त्रिविको इन्जिनियरिङ शिक्षामा गुणस्तर कायम रहेको र संस्थानको भावी रणनीति कार्यान्वयन भएमा अझै सुधार हुने अपेक्षा व्यक्त गरिएको छ ।

त्रिविका पाँच अध्ययन संस्थानमध्ये इन्जिनियरिङ अध्ययन संस्थान एक मानिन्छ । यसको स्थापना मुलुकमा नयाँ शिक्षा योजनासँगै ०२९ मा भएको हो । स्थापनाकालमा यसले राष्ट्रिय आवश्यकताअनुरूपका मध्यम तथा उच्च तहका इन्जिनियरिङ जनशक्ति अर्थात् ओभरसियर र इन्जिनियर उत्पादन, विभिन्न तहका जनशक्तिलाई तालिम र देशको इन्जिनियरिङ क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि एवं अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउने मुख्य उद्देश्य राखेको थियो ।

हाल इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखरा छन् । उच्च शिक्षामा निजी तथा समुदायको भूमिकालाई पनि परिचालन गर्ने सरकारको लक्ष्यअनुरूप इन्जिनियरिङ शिक्षा प्रदान गर्न त्रिविबाट सम्बन्धन प्राप्त गरेका अन्य १० वटा कलेज यस संस्थानअन्तर्गत सञ्चालनमा रहेका छन् ।

त्रिविका अतिरिक्त काठमाडौं विश्वविद्यायल, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, लुम्बिनी–बौद्ध विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्न सक्ने क्षमता रहेको छ । 

ad
ad