१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
यमनविरुद्ध खेल्नुअघि नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो र कप्तान किरण लिम्बू रणनीतिबारे बताउँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/ नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:१७:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घरेलु मैदानमा नेपालले आज यमनको सामना गर्ने

सन् २०२६ विश्वकपअन्तर्गत एसिया छनोटमा पहिलो खेल गुमाएका नेपाल र यमन दुवैलाई आगामी यात्राका लागि जित आवश्यक

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१७:oo

फिफा विश्वकप २०२६ एसिया छनोट खेलमा नेपालले दशरथ रंगशालामा आज यमनको सामना गर्दै छ । ‘होम एन्ड अवे’ आधारमा चलिरहेको छनोट खेलमा नेपालले आफ्नो दोस्रो खेलमा यमनसँग घेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल दशरथ रंगशालामा ७ बजे राति हुनेछ । गत साता समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४–० ले पराजित भएको थियो । यस समूहबाट कम्तीमा एसिया कपमा स्थान बनाउन नेपाल जित चाहन्छ । यसका लागि नेपालको एउटै मात्र लक्ष्य यमनविरुद्ध स्पष्ट अंक बटुल्ने हो । 

पछिल्लो समय सिनियर खेलाडी विदेश पलायन हुँदा वर्तमान नेपाली टोलीका खेलाडी अधिकांश युवा छन् । युवा खेलाडीहरूको साथमा घरेलु समर्थमाझ यमनविरुद्ध खेलमा नेपालको चाहना नै सानदार प्रदर्शन हो । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले यमनसँग खेल्ने तयार रहेको बताएका छन् । ‘हामीहरूको तयारी राम्रो भएको छ, स्पष्ट अंक बटुल्न चाहन्छाैँ,’ सोमबार खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले भने, ‘केही खेलाडी घाइते छन्, तर अनुभवी र युवा खेलाडीमा भावनात्मक सम्बन्ध बलियो छ ।’

नेपालको घरेलु लिग राम्रो नभएकाले खेलाडी फिट हुन नसकेको उनले दुखेसो पोखेका छन् । दिनदिनै खेलाडी पलायन भएको संकेत गर्दै प्रशिक्षक भिसेन्जोले नयाँ टोली बनाउन कठिन भएको स्विकारेका छन् । फिफा वरीयतामा यमन १५६ स्थान र नेपाल १७३औँ स्थानमा छ । नेपालको प्रतिद्वन्द्वी यमनका खेलाडी बहराइनमा लिग खेलिरहेका छन् । नेपालको तुलनामा यमनका खेलाडी व्यावसायिक रूपमा बलिया छन् । यसैकारण यमन प्रतिस्पर्धा बलियो हुन सक्ने प्रशिक्षक मिरोल्साभ सुकोपले बताए । 

‘तयारी र खेलाडीहरूको आबद्धताले नेपालभन्दा यम नै बलियो मान्छु, यद्यपि हामी घरेलु टोलीलाई कमजोर रूपमा लिन्नौँ,’ यमनका प्रशिक्षक मिरोल्साभले भने, ‘नेपाल आउने क्रममा खेलाडीलाई केही सकस भएको थियो, हामी ६–७ घन्टा ट्राजिन्टमा पर्‍यौँ ।’ उनले नेपालको वातावरणअनुकूल भएको बताए । चेक रिपब्लिकका ५८ वर्षीय प्रशिक्षक मिरोल्साभले टोलीको मुख्य लक्ष्य नै जित भएको बताए । हेड टु हेडमा यमन बलियो छ । नेपालले यमनलाई एक खेलमा मात्र बराबरीमा रोकेको छ । यमनले नेपालमाथि तीन खेलमा जित निकालेको छ । 

पहिलो खेलमा दुवै टोली पराजित
नेपाल र यमनबीच एउटै समानता छ । विश्वकपअन्तर्गतको एसिया छनोटको दोस्रो चरणमा नेपाल र यमनले आ–आफ्नो पहिलो खेल गुमाएका थिए । गत साता युएईको मैदानमा नेपाल ४–० ले पराजित भएको थियो । यमनले बहराइनलाई २–० को नतिजा सुम्पिएको थियो । समूह ‘एच’मा युएई र बहराइनको समान तीन अंक छ । यमन र नेपाल अंकविहीन छन् । नेपालका भिसेन्जोले युएईविरुद्ध तीन खेलाडीलाई डेब्यु गराएका थिए । अनन्त तामाङ घाइते हुँदा प्रशिक्षक भिसेन्जोले छिरिङ लामा, योगेश गुरुङ र अञ्जन राईलाई डेब्यु गराउँदै सेन्ट्रल ब्याकमा मौका दिएका थिए । युएईविरुद्ध नेपाल पहिलो हाफमै चार गोल व्यहोर्न पुगेको थियो । बहराइनले यमनविरुद्ध दुवै हाफमा समान एक गोल गरेको थियो । 

लाकेन नखेल्ने, अनन्त र मनीषको टुंगो लागेन
पहिलो खेलमा युएईविरुद्ध घाइते भएका मिडफिल्डर लाकेन लिम्बू यमनविरुद्ध उपलब्ध नहुने भएका छन् । युएईविरुद्ध चोट बोकेका उनी खेलको १८ मिनेटमै मैदान बाहिरिएका थिए । उनको स्थानमा रक्षक अमृत श्रेष्ठले खेले । अमृतले पनि सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक भिसेन्जोले ४६ मिनेटमा योगेश गुरुङलाई डेब्यु गराए । पहिलो ११ मा डेब्यु गरेका छिरिङ लामाको स्थानमा अर्का रक्षक अञ्जन राईले डेब्यु गर्ने अवसर पाए ।

युएईसँग खेल्नुअघि अभ्यास खेलमा अनन्त घाइते भएका थिए । उनी यमनसँग खेल्ने नखेल्ने टुंगो लागेको छैन । युएईविरुद्ध ८४औँ मिनेटमा मैदान छाडेका मनीष डांगी पनि पूर्ण फिट छैनन् । अञ्जन विष्ट पनि पूर्ण फिट नभएको प्रशिक्षक भिसेन्जोले बताएका छन् । ‘पहिलो ११ खेलाडी छान्न निकै मुस्किल छ, लोकेन हामीसँग हुनेछैनन्,’ उनले भने, ‘मनीष, अञ्जन र अनन्तको अन्तिम निर्णय मेडिकल टिमसँग लिनेछौँ । त्यसपछि मात्रै खेल्ने या नखेल्ने टुंगो लाग्छ ।’ 

दर्शकलाई बसको व्यवस्था
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राति ७ बजे खेल आयोजना गरेपछि दर्शकलाई गन्तव्यमा पुर्‍याउन बस सेवा दिने भएको छ । नेपाल र यमनबीचको खेल सकिँदा राति नौ बज्नेछ । काठमाडौंमा सात बजे नै सार्वजनिक यातायात पाउन मुस्किल पर्छ । त्यसैको मध्यनजर गर्दै एन्फाले बस सुविधा दिएको हो । ‘हामीले सार्वजनिक यातायात नहुने अवस्था देखेपछि दर्शकका लागि बस उपलब्ध गराएका छौँ, सुरुमा १५–२० वटा विभिन्न दूरीमा चल्ने गरी राखेका छौँ, माग भए अरू थप्छौँ,’ प्रतियोगिता संयोजक तथा एन्फा उपाध्यक्ष दीपक खतिवडाले भने, ‘दर्शकले टिकटको अर्धकट्टी देखाएर बसको सुविधा लिन सक्छन्,’ खतिवडाले भने । एन्फाले टिकट मूल्य साधारणतर्फ चार सय र भिआइपीतर्फ एक हजार रुपैयाँ तोकेको छ । 

 यमनसँग खेल्न तयार छौँ
भिन्सेन्जो अल्बेर्टाे एनेस, प्रशिक्षक, नेपाल

हाम्रो तयारी राम्रो छ । यमनसँग हाम्रो इतिहास राम्रो छैन । एक बराबरी खेल्नुबाहेक सबै खेल हारेका छौँ । यसपटक हामी जित्न चाहन्छौँ । हामी उच्च प्रदर्शन गर्न चाहन्छौँ । यमन निकै बलियो टोली हो । उनीहरूसँग अनुभवी खेलाडी र प्रशिक्षक छन् । हामी पनि खेलमा केन्द्रित हुन्छौँ । नेपाली टोलीमा भावानात्मक सम्बन्ध बलियो छ । एकसाथ खेल्न पाउँदा खेलाडी खुसी छन् । अहिले मलाई पहिलो ११ खेलाडी छान्न गाह्रो परिरहेको छ । अनन्त, अञ्जन र मनीषको पनि टुंगो छैन । खेलाडीलाई लामो समयसम्म फिट राख्न राम्रो लिग आयोजना हुनुपर्छ । नेपालमा वर्षभरि खेल आयोजना हुनुपर्छ । 

 जित्नका लागि दबाब छ
किरणकुमार लिम्बू, कप्तान, नेपाल 

पहिलो खेलमा जे भयो, अहिले पुरानो भयो । यमनसँगको खेलमा गत साताको नतिजा दिमाकमा राख्दैनौँ । हामी सबै खेलाडीले युएईसँगको खेल बिर्सेर खेल्नुपर्छ । नेपाल फर्केर अभ्यास राम्रो भएको छ । खेलाडी मनोवैज्ञानिक रूपमा बलिया छन् । दशरथ रंगशालाको घरेलु मैदानमा खेल्न पाउँदा सबै उत्साहित छन् । हामी जित्नका लागि दबाबमा छौँ । खेल जितेर अर्काे चरणको सम्भावना बलियो बनाउनु छ । नयाँ खेलाडी सेट हुन समय लाग्छ । उनीहरूले पनि राम्रो गरिरहेका छन् । 

 नेपाललाई सहज रूपमा लिन्नौँ
मिरोल्साभ सुकोप, प्रशिक्षक, यमन 

नेपाल सहज प्रतिद्वन्द्वी होइन । नेपाल राम्रो छ । नेपाल लाओसलाई हराउँदै छनोट भएको टोली हो । युएईसँग पराजित भए पनि नेपालले राम्रो खेलेको थियो । यसकारण नेपाललाई हामीले सहज रूपमा नलिएका हौँ । हामी मनोवैज्ञानिक रूपमा तयार छौँ । बेलुकी ७ बजे खेल हुँदा समस्या हुँदैन । यमनको तयारी नै बेलुकीको भएको छ । हम्माद एयरपोर्टमा ६–७ घन्टा ट्रान्जिट बस्नुपर्दा खेलाडी थकित छन् । तर, नेपालपको वातावरण हेर्दा खुसी छौँ । हामी घुलमिल भइसकेका छौँ । राम्रो नतिजा निकाल्न तयार छौँ । हामीलाई घरेलु समर्थक हुँदा समस्या हुँदैनौँ । हरेक खेलाडी समर्थकअघि खेल्न तयार हुनुपर्छ ।

 

 

 

ad
ad