
चार दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार घाइते र चिकित्सहरूसँग भेट गरेका छन्। भूकम्पमा परी घाइते भएकाहरूको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
विनाशकारी भूकम्पमा परी घाइते भएकामध्ये केहिको अवस्था अझै सुधार हुन सकेको छैन। सुधार हुन नसकेका बिरामीलाई काठमाडौंलगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन दिए।
‘केही बिरामीको अवस्था अझै गम्भीर छ, उहाँहरूको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनुपर्छ,’ मन्त्री ज्वालाले चिकित्सकहरूसँग कुरा गर्दै भने, ‘घाइतेहरूको उपचार गर्न सरकारले कुनै कसरत बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस्।’
जाजरकोट, रुकुम, सल्यानलगायत प्रभावित क्षेत्रमा करिब दुई सयजना घाइते भएका छन्। घाइतेमध्ये धेरै भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। बुधबार बिहान मन्त्री ज्वालाले सबै घाइते र उपचारमा संलग्न चिकित्सकहरूसँग भेट गरेका थिए।
चार दिनअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वालाले दुई जिल्लाका विपत् व्यवस्थापनको बैठकमा सहभागी भएका थिए भने नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई राहत र उद्धारमा लाग्न निर्देशन दिए।
मन्त्री ज्वालाको गृहजिल्ला सल्यानमा दुईजनाको ज्यान गएको छ भने सयौँ घर भत्किएका छन्। मृतकको घरमा पुगेका उनले क्षतिको विवरण तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिए।
साथै उनले प्रभावित क्षेत्रमा अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अवलोकन गरेका थिए।