प्रधानमन्त्री गएको हेलिकोप्टरमा घाइतेको उद्धार, नियमित उडानमा फर्किए काठमाडौ
जाजरकोट र रुकुम पश्चिममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धार र राहत सरकारको उच्च प्राथमिकता रहेको सन्देश दिएका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पपछि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै चिकित्सक र औषधिसहित प्रभावित क्षेत्रमा पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भूकम्पको क्षति बुझ्न, पीडितका पीडा सुन्न, घाइतेको उद्धार र पीडितको राहतका लागि प्रभावित क्षेत्र पुगेका हुन् । स्थलगत भ्रमणपछि प्रधानमन्त्री प्रचण्डले राहत, पुनर्स्थापना र उपचारमा सरकार गम्भीर रहेको बताए ।
‘आजको दिनमा जे गर्नुपथ्र्यो सरकार र राज्यका तर्फबाट, त्यो गरिएको छ । म यस सन्दर्भमा सबै मृतकप्रति सरकार र मेरोतर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सबै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ प्रभावित क्षेत्रबाट फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा प्रचण्डले भने, ‘भोलिदेखि राहत र पुनर्स्थापनाको काममा लाग्छौँ ।’
प्रचण्डले दुईजना घाइतेलाई आफ्नै हेलिकोप्टरमा राखेर उपचारका लागि अस्पताल पुर्याएका थिए । प्रधानमन्त्री चढेकै हेलिकोप्टरमा घाइतेको उद्धार गर्न सकियोस् भनेर औषधि र चिकित्सक लिएर प्रधानमन्त्री जाजरकोट र रुकुम गएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेको उपचारका लागि सरकार गम्भीर रहेको बताए । उनले यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा अपिल गरेका छन् ।
राहत, पुनर्स्थापनालगायत विषयमा निर्णय गर्न प्रचण्डले आइतबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बिहान ९ बजे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेर आवश्यक निर्णय गर्न लागिएको छ ।
देशभरबाट जाजरकोट र रुकुमप्रति सहानुभूति र सहयोगको भावना देखिनु सकारात्मक भएको उनले बताए ।
‘सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी पूरै खटिराख्नुभएको मैले प्रत्यक्ष देखेँ नै । त्यसका साथसाथै म जाजरकोट र रुकुममै हुँदा विदेशबाट हाम्रा मित्रराष्ट्रले पनि के सहयोग चाहिन्छ, हामी तयार छौँ भनेर फोनमा जानकारी दिनुभएको छ । मन्त्रिपरिषद् बैठकपछि त्यसबारे पनि अगाडि बढ्छौँ । यसप्रति हामी गम्भीर छौँ ।’
उनले अझ ठूलो भूकम्प जाने सम्भावनाबारे भूकम्पविद्हरूले इंगित गरेको समेत बताए । ‘विज्ञहरूको भनाइले अझ बढी सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । फेरि पनि अझ ठूलो भूकम्प जाने सम्भावनाबारे भूकम्पविद्ले इंगित गरिराखेका छन् । सरकार योप्रति पनि गम्भीर छ । बझाङको भूकम्पको पनि प्रत्यक्ष गएर अवलोकन गरेँ । आज त्योभन्दा धेरै ठूलो क्षति भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री गएको हेलिकोप्टरमा घाइतेको उद्धार, नियमित उडानमा फर्किए काठमाडौं
भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न जाजरकोट र रुकुम पश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले आफू चढेको हेलिकोप्टरमै दुई घाइतेको उद्धार गरेका थिए । जाजरकोटको नलगाड नगरपालिकाबाट सात घाइते र सात कुरुवालाई पनि सुर्खेत प्रादेशिक लगिएको थियो । त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट– १४ की ४५ वर्षीया तिली कामी र १३ की २३ वर्षीया धनकला विकलाई पनि सुर्खेत अस्पताल लगिएको थियो । सुर्खेतबाट नेपालगन्ज आएका प्रचण्ड त्यहाँबाट नियमित उडानमार्फत काठमाडौं फर्किएर हेलिकोप्टर भने उद्धारकै लागि पठाएका छन् ।
नेपालगञ्जको राँझ विमानस्थलबाट प्रधानमन्त्री काठमाडौं फर्किएपछि भेरी अस्पतालमा उपचाररत घाइते भने निराश भएका छन् । उनीहरू प्रधानमन्त्री भेट्न आउने आशामा थिए । राहतलगायत व्यवस्थापनको तयारीका लागि छलफल गर्न प्रधानमन्त्री हतारमा काठमाडौं फर्किएका थिए ।
सिंगो देश रुकुम र जाजरकोटको साथमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहानै भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउँ पुगे । स्वास्थ्यकर्मीको टोलीसहित उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेका थिए । उनले जाजरकोटको नलगाडसहित रुकुम पश्चिमको चौरजहारी, जिल्ला अस्पताल मुसिकोट र आठबिसकोट नगरपालिका– ९ राडीस्थित नगर अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिएका थिए । उनले सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितसँग भेट गरेका थिए ।
भूकम्पपीडितसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सिंगो देश जाजरकोट र रुकुम पश्चिमको साथमा रहेको बताए । ‘तपाईंहरू नआत्तिनुहोस्, सिंगो देश तपाईंहरूको पक्षमा छ, मलाई अन्तर्राष्ट्रियस्तरबाट समेत सहयोगका लागि प्रस्ताव आइरहेको छ, तपाईंहरूलाई सरकारले पहिलेकै अवस्थामा ल्याउँछ, चिन्ता नगर्नुहोस्,’ उनले भने ।
भूकम्पपीडितका लागि सरकारले आइतबार नै राहतको प्याकेज ल्याउने प्रधानमन्त्रीले बताएका छन् । त्यसका लागि आइतबार नै मन्त्रिपरिषद् बैठक डाकिएको उनले बताए ।