१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Wednesday, 26 June, 2024
अजित अधिकारी काठमाडौं
२o८o कार्तिक १४ मंगलबार १o:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयल निगमको दुई ठूला डिपो प्रमुख हेरफेर

 काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोटमा अशोक शाह

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार १o:o४:oo

नेपाल आयल निगम लिमिटेडले काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो र लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा नयाँ कार्यालय प्रमुख पठाएको छ ।

थानकोटमा कार्यरत इन्जिनियर शैलेन्द्र भुसालको दुईवर्षे कार्यकाल सकिएपछि केन्द्रीय कार्यालयमा कार्यरत उपनिर्देशक अशोक शाहलाई नयाँ कार्यालय प्रमुखका रूपमा पठाउने निर्णय भएको निगमले जनाएको छ । शाहले आगामी सोमबारदेखि कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

त्यस्तै, भैरहवा डिपोमा कार्यरत इन्जिनियर जगदीशचन्द्र यादवले निरन्तर सरुवा माग गरेको कारण देखाउँदै उनलाई केन्द्रीय कार्यालयस्थित आन्तरिक नियन्त्रण तथा नियमन विभागमा सरुवा गरिएको छ भने नयाँ कार्यालय प्रमुखका रूपमा कमला न्यौपानेलाई पठाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

न्यौपानेको उमेर हदका कारण सेवा अवधि करिब दुई वर्ष मात्रै बाँकी रहेको र ठूलो डिपोको नेतृत्व गर्ने चाहना राखेका कारण व्यवस्थापनले भैरहवा डिपोमा सरुवा गरेको स्रोतको भनाइ छ । त्यस्तै, कार्यकारी निर्देशक उमेशप्रसाद थानीको सचिवालयमा कार्यरत सुमन पुडासैनीको पोखरा विमानस्थलस्थित हवाई इन्धन डिपो प्रमुखमा सरुवा भएको स्रोतको भनाइ छ ।

आयल निगमको ११ वटा डिपो तथा शाखा कार्यालयमध्ये काठमाडौं उपत्यकामा इन्धन वितरण सबैभन्दा चुनौतीपूर्ण मानिन्छ । यद्यपि, यो डिपोमा दुई वर्ष नेतृत्व गर्दा भुसालले कुनै पनि दिन उपत्यकामा इन्धन आपूर्तिमा अवरोध हुन नदिई सहज रूपमा पेट्रोलियम पदार्थ वितरणका लागि सहजीकरण गरेका थिए । उनले इन्धन चुहावट नियन्त्रणका लागि ‘इलेक्ट्रिक फ्लो मिटर’समेत जडान गरी कार्यान्वयन सुरु गरेका छन् । अहिले थानकोट र अमलेखगन्ज डिपोमा मात्र फ्लो मिटर जडान गरिएको छ ।

फ्लो मिटरका कारण ट्यांकरमा लोडिङ भएको इन्धनको नापजाँच ‘डिप रड’ले गर्नुपर्ने बाध्यता हटेको छ । प्रत्येक ट्यांकरमा लोड भएको इन्धनको परिमाण फ्लो मिटरको स्क्रिनमै देखिने हुँदा चुहावटसमेत घटेको छ भने पाइपको सहायताले गर्ने लोडिङको तुलनामा छिटो कार्यसम्पादन गर्न पनि मद्दत मिलेको छ ।

थानकोटमा नयाँ कार्यालय प्रमुखका रूपमा सरुवा भएका अशोक शाह यसअघि दुईपटक कोशी प्रादेशिक कार्यालय, विराटनगरमा प्रमुख भइसकेका छन् । उनले केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा रहँदा बबरमहलस्थित निर्माणाधीन कर्पोरेट टावरको डिजाइन र टेन्डरको काम गरेका थिए । एक अर्ब २५ करोड रुपैयाँ लागत अनुमानको सो भवन ९२ करोड रुपैयाँमा ठेक्का लागेको छ ।

हाल उपनिर्देशक रहेका शाहले आन्तरिक प्रतिस्पर्धामार्फत निर्देशक तहमा बढुवाका लागि अध्ययन गरिरहेका वेला सबैभन्दा चुनौतीपूर्ण डिपोमा सरुवा भएको छ । निर्देशक तहका लागि शाहसँगै उपनिर्देशकहरू पुस्कर कार्की, अञ्जना पोख्रेल, दिवाकर मल्लिक र मनोज ठाकुर प्रतिस्पर्धामा छन् । आर्थिक लाभ हुने भएकाले आयल निगममा डिपो प्रमुखलाई आकर्षक पद मान्ने गरिएको छ।

ad
ad
ad
ad