१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Saturday, 28 September, 2024
२o८o कार्तिक १३ सोमबार १८:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा डिपोमा इन्धन अपचलन : पाँच लाख धरौटीमा छुटे डिपो प्रमुख दास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १८:२६:oo

नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौँडा डिपो पोखरामा भएको तेल अपचलन घटनाका मुख्य आरोपित डिपो प्रमुख चित्तरञ्जन दास पाँच लाख धरौटी बुझाएर तारेखका छुटेका छन्।

तेल अपचलनको घटना भएको दिन २५ साउनदेखि फरार रहेका दास आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतले आइतबारै उनको बयान लिएको थियो। दासको बयानपछि भएको थुनछेक बहसपछि न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले धरौटी तारेखमा छाड्ने आदेश दिएको अदालतका शाखा अधिकृत रामबहादुर किसानले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७२ अनुसार दासलाई धारौटीमा छाड्ने आदेश भएको हो।

डिपोबाट २५ साउनमा १२ हजार लिटर डिजेल खरिद गरेर ग २ ख ८३६ नम्बरको ट्यांकरबाट पम्पसम्म लैजाँदै गर्दा डिपोमा रकम बुझाएकोभन्दा तीन हजार दुई सय लिटर बढी डिजेल जिल्ला प्रशासन कार्यालय कास्कीबाट खटिएको टोलीले फेला पारेका थियो। घटनामा संलग्न भएको आरोप लागेका चारमध्ये तीनजना यसअघि नै धरौटी तारेखमा छुटिसकेका थिए भने दास फरार थिए।

घटनाका आरोपित अन्य तीनजना ट्यांकर धनीसँगै पश्चिमाञ्चल ट्रेडर्स पोखरा– २७ का सञ्चालक बाबुराम जम्कट्टेल, पेट्रोलपम्प व्यवसायीहरूका तर्फबाट ट्यांकरमा लोड भएको पेट्रोलियम पदार्थ डिप गर्दा हेर्न राखिएका गण्डकी धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकरचालक निर्मल थापा २४ भदौमा धरौटी तारेखमा छुटेका थिए। जम्कट्टेलले एक लाख ५० हजार, ढुंगानाले एक लाख र थापाले ७५ हजार धरौटी बुझाएका थिए।

आरोपपत्र दर्ता भइसक्दासमेत फरार रहेका दासविरुद्ध अदालतले २५ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसअघि पनि प्रहरीले अदालतको स्वीकृति लिएर ३० साउनमा पक्राउ पुर्जी जारी गरेको थियो। दुईपटक पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका दास अन्ततः आफैँ अदालतमा उपस्थित भएका हुन्।

डिपो प्रमुखको रूपमा दास ६ असोज ०७९ मा पोखरा आएका थिए। उनी आएदेखि नै डिपोबाट यसरी नै बढी परिमाणमा तेल निजी ट्यांकरहरूबाट ढुवानी हुँदै गरेको आरोप छ। जुन पोखराको ६ देखि सातवटा पम्पमा जाने गरेको बताइन्छ। निजी पम्प र ट्यांकरका धनीहरूले त्यसरी बढी मात्रामा आउने तेलको रकम खरिद मूल्यभन्दा केही कम रकम सीधै दासलाई बुझाउँदै आएका थिए। डिपोबाट पम्पसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्ने निजी ट्यांकरमा तेल भर्ने क्रममा ट्यांकरमा भएको परिमाण नाप्ने (डिप गर्ने) काम सधैँ डिपो प्रमुख दास आफैँले गर्दै आएका थिए। डिप गर्ने जिम्मा पाएका अन्य कर्मचारीहरू हुँदाहुँदै उनीहरूलाई डिप गर्न नदिएर दास आफैँले डिप गर्दथे।

बरौनी र अमलेखगन्जबाट आएको तेलको परिमाण नाप्ने काम मात्र सम्बन्धित कर्मचारीले गर्दै आएका थिए। पम्पहरूमा झार्नका लागि बरौनी र अमलेखगन्जबाट आएको ट्यांकरहरूबाट समेत दासले प्रत्येक ट्यांकरबाट एक सय लिटरको हाराहारीमा तेल झारेर पम्पहरूमा कम पठाउने गरेको आरोप छ।