लमजुङको कुल जनसंख्यामध्ये २५ प्रतिशत स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लमजुङका फोकल पर्सन अनुपमा रेग्मीले स्वास्थ्य बिमा सुरु भएसँगै जिल्लाका २५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको बताइन् ।
लमजुङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या क्रमिक रूपमा बढ्दै गएको पाइएको छ । सामाजिक न्यायमा आधारित स्वास्थ्य बिमा कार्यक्रममा लमजुङका ३९ हजार एक सय ८० नागरिकले बिमा गरेको पाइएको हो । नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम लमजुङमा ०७७ माघदेखि सुरु भएको रेग्मीले बताइन् । विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहँुच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा जिल्लामा हालसम्म ३९ हजार एक सय ८० जनाले स्वास्थ्य बिमा गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता बढ्दै गएको फोकल पर्सन रेग्मीको भनाइ छ । बिमामा आबद्धमध्ये ज्येष्ठ नागरिक १७ हजार दुई सय ५३, महिला स्वास्थ्य स्वयंसेविका ६ सय २२, क वर्गका पूर्ण अशक्त अपांगता भएका सात सय ८५ र एचआइभी संक्रमित एक सय ३२ परिवार छन् । सशुल्क परिवार ११ हजार १७ जना छन् । जिल्लाका २९ हजार आठ सय २३ परिवार र ३९ हजार एक सय ८० बिमित छन् ।
स्वास्थ्य बिमामा आबद्ध हुन पाँचजनासम्म सदस्य रहेको परिवारले वार्षिक तीन हजार पाँच सय र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । त्यस्तै, पाँचजनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था छ ।