दैनिक २० करोडसम्म आम्दानी, यो आवमा १५ अर्बको निर्यात गर्ने लक्ष्य
भारतीय बजारमा विद्युत्को मूल्य बढेसँगै नेपाली बिजुली पनि त्यहाँको उच्चतम मूल्यमा बिक्री हुन थालेको छ । विभिन्न कारणले अहिले भारतमा विद्युत्को अभाव देखिएपछि मूल्य बढेको हो ।
नेपाली बिजुली विगत चार दिनयता त्यहाँको उच्चतम मूल्य अर्थात् प्रतियुनिट नेपाली १६ रुपैयाँमा निर्यात भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ०७८ देखि भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स)को डे–अहेड मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् खरिद–बिक्री गर्दै आएको छ । यही असोजदेखि आइइएक्सको रियल टाइम मार्केटमा पनि प्रतिस्पर्धी दरमै विद्युत् बिक्री गर्न सुरु गरिएको छ । भारतीय सरकारले त्यहाँ विद्युत् खरिद–बिक्री गर्न प्रतियुनिट अधिकतम १० भारु (नेपाली १६ रुपैयाँ)सम्मको सीमा तोकेको छ । गत मंगलबारदेखि प्राधिकरणले दुवै बजारमा सोही मूल्यमै बिजुली बिक्री गरिरहेको हो ।
यसअघि भारतीय बजारमा विद्युत् खरिद–बिक्रीका लागि प्रतियुनिट २० भारुसम्मको सीमा थियो । दुई वर्षअघि त्यो सीमालाई घटाएर प्रतियुनिट १२ भारुमा झारिएको थियो । गत वर्ष त्यो सीमा थप घटाएर प्रतियुनिट १० भारु कायम गरिएको छ । अहिले सोही दरमै विद्युत् निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार पछिल्लो समय आइइएक्समै औसत मूल्य १० भारुमै विद्युत् खरिद–बिक्री भइरहेको छ ।
प्राधिकरणले गत साउनमा प्रतियुनिट आठ रुपैयाँ १३ पैसा र भदौमा प्रतियुनिट १२ रुपैयाँ २७ पैसाको औसत दरमा बिजुली निर्यात गरेको थियो । तर, अहिले औसत १६ रुपैयाँमै विद्युत् निर्यात भइरहेको छ, यसले विद्युत् निर्यातमार्फत हुने आम्दानी बढाउनसमेत सहयोग पुगेको घिसिङको भनाइ छ ।
नेपाली बजारको भन्दा बढी मूल्य
अहिले नेपाली बजारमा विद्युत् बिक्रीको औसत मूल्य १० रुपैयाँ प्रतियुनिट छ । त्यसअनुसार प्राधिकरणले नेपालमा बिक्री गरेर पाउने मूल्यभन्दा भारतबाट ६ रुपैयाँ (प्रतियुनिट) बढी मूल्य पाएको देखिन्छ । त्यसमाथि पनि विद्युत् प्राधिकरणले निजी उत्पादकसँग बर्खाको विद्युत् खरिद दर कम तोकेको हुन्छ । प्राधिकरणले यसवेला आयोजनाहरूबाट प्रतियुनिट चार रुपैयाँ ८० पैसामा बिजुली किनेको हुन्छ । त्यसअनुसार १६ रुपैयाँ प्रतियुनिटका दरले विद्युत् निर्यात गर्दा प्राधिकरणलाई उच्च लाभ हुने देखिन्छ ।
यद्यपि, निर्यात गरेरभन्दा आन्तरिक खपत बढाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तर्क पनि गरिन्छ । तर, अहिले प्राधिकरणले स्वदेशमा खपत हुन नसकेको बिजुली निर्यात गर्दै आएको छ । त्यो अवस्थामा विद्युत् निर्यातलाई सकारात्मक रूपमा लिइएको छ । यसले नेपालको शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन)मा समेत राम्रो सहयोग पुग्ने प्राधिकरणको दाबी छ ।
दैनिक २० करोड रुपैयाँ आम्दानी
बढी मूल्य पाएपछि बिजुली निर्यातबाट हुने आम्दानी पनि बढेको छ । अहिले बिजुली निर्यातबाट दैनिक २० करोड रुपैयाँसम्म आम्दानी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘अहिले मूल्य बढी पाएपछि बिजुली निर्यातबाट हुने आम्दानी पनि बढेको छ । दैनिक २० करोड रुपैयाँसम्म आम्दानी भइरहेको छ,’ उनले भने, ‘यसले प्राधिकरणको आम्दानीमा ठूलो सहयोग पुग्छ ।’ अहिले प्राधिकरणले डे–हेड र रियल टाइममा गरेर भारतमा ६ सय ३२ मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ ।
दुई महिनामा साढे पाँच अर्बको विद्युत् निर्यात
प्राधिकरणले चालू आव ०८०/८१ मा भारततर्फ हुने विद्युत् निर्यात २३.१५ प्रतिशतले बढाएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त चालू आवको भदौँ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आर्थिक वर्ष ०७९/८० को दुई महिनामा भारतमा चार अर्ब ४१ करोड १५ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको थियो । चालू आवको साउन र भदौ महिनामा पाँच अर्ब ४२ करोड ३१ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । प्राधिकरणले यो वर्ष भारतमा १३ देखि १५ अर्ब हाराहारीमा विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।
विद्युत् निर्यातले नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यो अवस्थामा बर्खामा खोलामा पानी बढी हँुदा उत्पादन पनि पूर्ण क्षमतामा हुन्छ । यही समयमा भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ ।
नेपालमा विद्युत्को जडित क्षमता २९ सय मेगावाट हाराहारी छ । तर, स्वदेशी माग भने दुई हजार मेगावाट हाराहारी मात्रै छ । त्यो अवस्थामा प्राधिकरणले बर्खामा विद्युत् निर्यात गर्न सक्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन स्वदेशी मागभन्दा पनि कम हुन्छ । त्यसवेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ । अझै दुई महिना विद्युत् निर्यात गर्न सकिने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । त्यसपछि भने भारतबाटै विद्युत् आयात गरिने उनको भनाइ छ ।
नेपाली बिजुलीका लागि भारतीय बजार निकै ठूलो मानिन्छ । नेपालमा जति विद्युत् उत्पादन हुँदै छन्, सोबराबरको विद्युत् यहीँ खपत हुने बजार छैन । अहिले पनि नेपालको विद्युत् खेर गइरहेको अवस्था छ । त्यसैले नेपाली बिजुलीका लागि भारतीय बजार अपरिहार्य छ । साथै, बढ्दो जलवायु परिवर्तनका लागि भारतलाई पनि नेपालको स्वच्छ बिजुलीको आवश्यकता बढ्दो छ । किनकि, भारतमा डिजेल र पावर प्लान्ट चलाउँदा वातावरण नराम्ररी प्रभावित भएको छ । त्यसले गर्दा भारतलाई स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने दबाब छ । नेपाल र भारतबीच ऊर्जामा सहकार्य गर्ने गरी २०१४ मा समझदारी भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गत जेठ १८ गते द्विपक्षीय दीर्घकालीन विद्युत् व्यापार समझदारी पनि भएको थियो । त्यसअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा पनि गरेका थिए । त्यससम्बन्धी अन्तिम सम्झौतापत्रको मस्यौदा भारतीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि दुवै देशका ऊर्जासचिवले त्यसमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
किन अभाव भयो भारतमा बिजुली ?
भारतले यसअघि पनि पटक–पटक ऊर्जा संकटको सामना गर्दै आएको छ । यसपालि पनि विभिन्न कारणले भारतमा विद्युत्को अभाव देखिएको छ । भारतमा विद्युत्को मुख्य स्रोत कोइला र डिजेल पावर प्लान्ट हो । अहिले भारतमा आयातीत कोइला महँगो हुँदै गएको छ, त्यसले भारतको विद्युत् उत्पादन प्रभावित भएको छ । यसैगरी, केही दिनअघि सिक्किमको टिस्टा बाँध फुटेर आएको बाढीले १२ सय मेगावाट क्षमताको टिस्टा–३ जलविद्युत् आयोजना बगाएको छ । त्यसपछि भारतको विद्युत् आपूर्तिमा समस्या देखिएको छ । प्राधिकरणका व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार अहिले भारतमा मागअनुसार विद्युत्को आपूर्ति हुन सकेको छैन । त्यसले गर्दा पनि भारतीय बजारमा विद्युत्को मूल्य बढ्दै गएको छ ।