१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असोज २१ आइतबार ११:३२:००
Read Time : > 2 मिनेट
सप्तरंग डिजिटल संस्करण

...अनि चित्रकारले खोटाङलाई नै उतारे क्यानभासमा !

Read Time : > 2 मिनेट
२०८० असोज २१ आइतबार ११:३२:००

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौंले दिक्तेलमा आयोजना गरेको ‘मुन्धुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ। 

असोज १७ गतेदेखि नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममार्फत नगरपालिकाले स्वदेशी तथा विदेशी चित्रकारले क्यानभासमा कोरेका करिब सयवटा ऐतिहासिक चित्र प्राप्त गरेको छ।

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा सहभागी लातभियाकी चित्रकार आन्दा पैकानेले किराँत ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न बच्चासहित आएका महिलाको चित्र क्यानभासमा दुरुस्त उतारेकी छिन्। 

एकपटक हेरेको भरमा चित्रकार पैकानेले क्यानभासमा उतारेकी चित्र हेर्दा ती महिलालाई देख्ने जोकोहीले प्रस्टै चिन्छन्। काठमाडौंबाट आएका चित्रकार रतनकुमार राईले मझुवागढीकै चित्र डिजिटल क्यामेराले खिचेको तस्बिरजत्तिकै प्रस्ट देखिनेगरी क्यानभासमा उतारेका छन्। 

किराँती राजा रणवीर हाङले १८०४ सालसम्म राज्यसत्ता सञ्चालन गरेकाे ऐतिहासिकस्थल मझुवागढीको भग्नावशेष हेरेर चित्रकार राईले क्यानभासमा त्यसैको चित्र जस्ताको तस्तै उतारेका हुन्।  

अमेरिकाकी चित्रकार एवं प्रोफेसर जोय वल्फले दिक्तेल बजारस्थित किराँतचोकको एउटा घरको बार्दलीबाट देखिने दृश्यलाई क्यान्भासमा उतारेकी छिन्। 

घरको बार्दलीमा कुर्सी राखेर बस्दा अगाडि पूर्वतर्फ जे दृश्य देखियो, त्यही दृश्यलाई चित्रमा उतार्न तल्लीन प्रोफेसर वल्फले डेढ घन्टाभित्रै आफ्नोअगाडि देखिएका दृश्यको दुरुस्त चित्र क्यान्भासमा तयार उतारेकी हुन्। 

पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा सहभागी हुन काठमाडौंबाट खोटाङ आएका चित्रकार विजय थापाले पनि सोही घरको बार्दलीबाट अगाडि देखिएका दृश्यलाई क्यानभासमा जस्ताको तस्तै उतारेका छन्। 

चित्रकार थापाले थापाले दिक्तेल बजार प्रवेशद्वार र त्यसको पृष्ठभूमिलाई तस्बिरझैँ उतारेका हुन्। प्रत्यक्ष चित्रकला कार्यशाला कार्यक्रममा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त चित्रकारले मझुवागढी, किराँतचोक, भवनगैरा, हाटडाँडा, शंखधर साख्वाचोक, शुभम् फाउन्डेसन र जालपा पुगेर फरकफरक दृश्यका प्रत्यक्ष चित्र कोरेका छन्। 

कतिपय चित्रकारले अगाडि जे देखिन्छ त्यही दृश्यलाई क्यानभासमा उतारेका छन् भने कतिपयले आफ्नो मोबाइलमा कैद गरिएका तथा जिल्ला अन्य स्थानीय तहबाट संकलन गरिएका राम्रा दृश्यलाई र कोहीले आफ्नै इच्छाअनुसार चित्रहरू कोरेका छन्। 

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्बिर झल्किएको नगर प्रमुख तीर्थराज भट्टराईले प्रतिक्रिया दिए। ‘चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने हाम्रो प्रमुख उद्देश्य हो,’ उनले भने, ‘नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरूले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा हामी सफल भएका छौँ।’

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी ४३ जना चित्रकार खोटाङ आएका छन्। 

स्वदेश तथा विदेशमा ख्यातिप्राप्त चित्रकारले उतारेका पेन्टिङ चित्रलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको प्रांगणमा सांगीतिक कार्यक्रम, स्थानीय परिकारको स्टल, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शनसहित प्रदर्शनी गरिएको छ।

स्वदेश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारले तयार पारेका चित्र प्रदर्शनी कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राले तयार पारेका चित्रलाई पनि समावेश गराइएको नगरपालिकाले जनाएको छ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु. १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो। 

जिल्लामै पहिलोपटक दिक्तेलमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका छन्। प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। 

स्वदेश तथा विदेशका चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौंस्थित आर्ट ग्यालरीमा लगेर प्रदर्शनी गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए। ‘स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो। यसलाई नगरपालिकाको लगानीमा संग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ,’ उनले भने, ‘चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरू नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो। तत्कालका लागि प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ।’

नगरपालिकाले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम ऐतिहासिक भएको बुद्धिजीवीहरूको प्रतिक्रिया छ। चित्रकारहरूले क्यानभासमा कोरेका चित्रहरू सामाजिक सञ्जाल फेसबुकमा राख्दै उनीहरूले आयोजकलाई धन्यवाद दिइरहेका छन्। 

नेपाल सरकारका संघीय खेलकुदमन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा शनिबार आयोजना गरिएको समापन कार्यक्रममा ‘राई इज किङ’ उपाधि प्राप्त चर्चित गायक राजेशपायल राईले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। गायक राईको सांगीतिक प्रस्तुतिमा स्वदेश तथा विदेशका चित्रकारहरू छमछमी नाचेका थिए।