Skip This
एमाले खोटाङमा सहमतिको प्रयास असफल, अध्यक्षमा दंगाल र राईको उम्मेदवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Friday, 26 July, 2024
२o८o चैत २९ बिहीबार १८:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले खोटाङमा सहमतिको प्रयास असफल, अध्यक्षमा दंगाल र राईको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १८:४९:oo

नेकपा (एमाले) खोटाङमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। चैत २८ गते बुधबार औपचारिक रूपमा उद्घाटन गरिएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन समिति गठन गरेर नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेको नेतृत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया थालेसँगै जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र वर्तमान उपाध्यक्ष देवविक्रम राईले उम्मेदवारी दर्ता गराएका हुन्। जिल्ला सचिवालय सदस्य एवं दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई प्रस्तावक र एमाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कार्यसमिति अध्यक्ष गोपालचन्द्र आचार्यको समर्थनमा दंगालले उम्मेदवारी दर्ता गराएका हुन्। 

अध्यक्षका अर्का उम्मेदवार राईको प्रस्तावकमा प्रकाश पौडेल र समर्थकमा अर्जुन रोका रहेका छन्। वर्ममान अध्यक्ष दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राईलगायतको साथ रहेको छ भने वर्तमान उपाध्यक्ष राईलाई पोलिटब्युरो सदस्य विशाल भट्टराईलगायतको साथ छ।

उपाध्यक्षमा वर्तमान सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको उम्मेदवारी परेको छ। सचिवमा भने वर्तमान उपसचिव सुरेन्द्रकुमार राईको एकल उम्मेदवारी परेको छ।

खुला उपसचिवमा गीरेन्द्रबहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपीकृष्ण खड्का, दिलचक्र राई, दिनेश राई, युवराज रिजाल र राजन बञ्जराको उम्मेदवारी परेको छ। समावेशी उपसचिवमा कविता राई र भगवती प्रधानको उम्मेदवारी परेको बताइएको छ।

उम्मेदवारी दर्ता गर्ने नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले अझै प्रकाशन गरेको छैन। नेतृत्व चयनका लागि नेताहरूले सहमतिको प्रयास गरिरहेकाले उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएको एक नेताले बताए।

उम्मेदवारी दर्ता गराउने नेताहरूले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई दबाब दिइरहेका छन्। एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको आठौँ जिल्ला अधिवेशन दिक्तेलको माटिकोरेस्थित कभर्ड हलमा जारी छ।

अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरूले एमाले खोटाङ पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। माथिल्लो निकायका नेताहरूको आग्रहलाई अस्वीकार गर्दै जिल्ला नेताहरू चुनावी प्रक्रियामा सहभागी भएसँगै आफ्नो पक्षमा माहोल बनाउन दुवै समूहबीच प्रतिनिधि तानातानको कसरत सुरु भएको छ।

हरेक तीन-तीन वर्षमा जिल्ला अधिवेशन गर्ने पार्टीको विधानअनुसार आयोजना गरिएको आठौँ जिल्ला अधिवेशनमा ५७९ प्रतिनिधि सहभागी रहेको एमाले खोटाङले जनाएको छ। अधिवेशनले पाँचजना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ।