गुल्मी कांग्रेसले पनि दुई लाख सहयाेग गर्ने
इस्माका आगलागी पीडितलाई छिमेकी पालिका रेसुंगा नगरपालिकाले दुई लाख सहयोग गरेको छ। पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन इस्मालाई सहयोग गरेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए।
उनले सबैभन्दा ठूलो क्षति इस्मामा भएकाले तत्काल सहयोग गरिएको र यसैगरी मदाने, मुसिकोट लगायतका पालिकामा पनि सहयोगको लागि समन्वय भइरहेको बताए । ‘विपदमा सबै एकजुट हुनुको विकल्प छैन । यो नेपाली सच्चापन हो,’ उनले भने, 'छिमेकी पालिकाको तर्फबाट दुई लाख सहयोग गरेका छौँ।’
मेयर पन्थीले बर्षात् अगाडि नै सबै आगलागी पीडितलाई स्थायी बासको व्यावस्थापन गर्न आफुले सबै सरकार र निकायसंग समन्वय गरिरहेको बताए । नेपाली कांग्रेसका सभापति समेत रहेको पन्थीले पार्टीको तर्फबाट पनि इस्माका आगलागी पीडितको लागि दुई लाख प्रदान गर्ने घोषणा गरे । मदाने र इस्मामा सबैभन्दा बढी क्षती भएकाले सबैलाई सहयोगमा जुट्न पन्थीले आग्रह गरे ।
यसअघि इस्मा गाउँपालिकाले आगलागीपीडित प्रतिपरिवार आवास निर्माण गर्न एक लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । इस्मा गाउँकार्यपालिकाको बैठकले पूर्ण रुपमा घर जलेका परिवारलाई तत्काल पालिकाले एक लाख दिने र तीनै तहको सरकारसंग साझेदारीमार्फत चार लाख रुपैयाँ उपलब्ध गराउने इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए ।
उनले आगलागीबाट प्रभावित परिवारलाई मनसुन अगावै घर निर्माण गर्न गाउँपालिकाले एक लाख प्रदान गर्ने र प्रदेश तथा संघसंग साझेदारी गरेर बाँकी रकम उपलब्ध गराउने बताए । खड्काका अनुसार इस्मामा आगलागीबाट एक सय ९९ व्यक्ति प्रभावित भएका छन् ।
यहाँ प्रारम्भिक चरणको राहत र उद्धारको काम सकिएको छ । इस्मा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो सुविधाबाट करिव सात लाख सहयोग गर्ने निर्णय गरेका छन् । कर्मचारी र जनप्रतिनिधि उद्धार, राहत र व्यक्तिगत आर्थिक सहयोगसँगै श्रमदानमा समेत खटिरहेका छन् ।