एक बालक सानैदेखि चेस खेलमा अत्यन्त रुचि राख्थे । उनी चेस खेल्नबाहेक अरू केही जान्दैनथे । उनी चेस खेलसँगै कुनै राम्रो शैक्षिक संस्थाबाट शिक्षा प्राप्त गर्न चाहन्थे । उनले एउटा चर्चित विद्यालयबारे सुनेका थिए ।
एक दिन बालक विद्यालय गए र प्राचार्यसित आफूलाई विद्यालयमा भर्ना लिन अनुरोध गरे । प्राचार्यले भने– भर्ना हुन तिमीसित केही विशिष्ट गुण जरुरी छ । तिमी नै भन, तिमीसित कुन गुण छ ? बालकले नम्रतापूर्वक भने– मलाई चेस खेल्नबाहेक केही आउँदैन । प्राचार्यले भने– चेस खेल्न जान्दैमा यहाँ भर्ना हुन पाइन्न । बालकले पटक–पटक आफूलाई भर्ना लिइदिन अनुरोध गरिरहे । अन्त्यमा प्राचार्यले भने– ठिक छ, तिमीले हाम्रो यस विद्यालयका सबैभन्दा दक्ष खेलाडीलाई चेसमा जित्यौ भने मात्र प्रवेश पाउँछौ ।
विद्यालयका सबैभन्दा दक्ष चेस खेलाडीलाई बोलाएर प्राचार्यले थप सर्त राखे– हेर बालक, तिमीले जित्यौ भने यस स्कुलमा भर्ना पाउँछौ र हार्नेलाई विद्यालयबाट निष्कासन गरिनेछ । खेल सुरु भयो । बालकले होसियारीसाथ खेल अघि बढाए । खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुँदै गयो ।
तर, विद्यालयका खेलाडीलाई आफूले बालकसित हार्ने हो कि भन्ने चिन्ता लाग्न थाल्यो । हारियो भने विद्यालयबाट निकालिनुपर्छ भन्ने सोचेर उनी चिन्तित देखिन थाले । बालकले पनि उनको मनोदशा बुझे । त्यसपछि उनले मनमनै सोचे– मैले जितेँ भने स्कुलले चेसबाहेक अरू केही नजान्ने विद्यार्थी पाउनेछ भने एक योग्य विद्यार्थीको भविष्य चौपट हुनेछ ।
त्यसपछि उनी हार्नका लागि खेल्न थाले । यो सबै हेरिरहेका प्राचार्यले बालकको मनोभाव बुझे । बालकले जित्नका लागि होइन, अब हार्नका लागि खेलिरहेका छन् भन्ने उनले बुझे । त्यसैले, उनले चेसबोर्ड हटाए र भने– बालक, तिमीले चेसबाहेक पनि अरू धेरै कुरा सिकेका रहेछौ ।
तिमी जित्न पनि चाहन्छौ, त्यसका लागि सक्षम पनि छौ । तर, तिमी आफ्नो जितसँगै अरूको अस्तित्व मेटाउन पनि चाहँदैनौ । अरूका लागि यसरी त्याग गर्न तयार हुने बालक हाम्रो स्कुलका लागि आवश्यक छ । तिमी भर्नाका लागि योग्य छौ । तिमीलाई हाम्रो विद्यालयमा स्वागत छ ।