जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ । यही विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलित रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ, त्यति नै पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ । जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ, तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुन गई असन्तुलन भएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र हावापानीमा परिवर्तन देखिन्छ । यसले अन्ततः जलवायुमा परिवर्तन असर पुर्याउँछ ।
पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास र ओजन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बनजस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिनप्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ र परावर्तित विकिरण वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगीकरणजस्ता क्रियाकलाप पर्छन् । जलवायु परिवर्तन लामो समयको जलवायुसम्बन्धी तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । वेलावेला मौसममा आउने उतारचढावलाई वातावरणीय परिवर्तन मान्न सकिँदैन ।
जलवायु परिवर्तनको कारण : सन् १९६० को दशकपछि पृथ्वीका विभिन्न स्थानमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिक बताउँछन् । मूलतः जीवाश्म इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजंगल विनाश भई त्यस्तो ग्यास अवशोषण गर्न नसक्दा भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पुग्छ ।
जंगल फँडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन)का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेको हुन्छ । पृथ्वीमा जलवायु परिवर्तनका कारण सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै, सन् १९६१ र २००३ बीच समुद्री सतह प्रतिवर्ष १.८ मिलिमिटरले वृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको छ ।
विश्वव्यापी रूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार छन् । हरितगृह ग्यासको प्रमुख कारकका रूपमा देखिएको कार्बनडाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बनडाइअक्साइड अत्यधिक उत्सर्जन गर्दा नेपालजस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकले यसको चर्को मार खेप्नुपरिरहेको छ ।
जलवायु परिवर्तनको असर : जलवायु परिवर्तनको मूलकारक नेपालजस्ता विकासोन्मुख मुलुक होइनन्, तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन, सामाजिक जीवन, आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदिमा नकारात्मक असर पुर्याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, खडेरीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ । हिमालयनजिकका भूभागमा मात्र होइन, यसको नकारात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ ।
हिमनदी विश्व तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक भएको छ । तलका नदीको वहाब, तिनको आकार, हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्छ । साबिकको समयभन्दा पहिल्यै बिरुवामा फूल लाग्ने र चराले चाँडै अन्डा पार्ने गरेको पाइन्छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन भई सिंगो पारिस्थितिक प्रणालीमै खलल पुग्ने सम्भावना बढेको छ ।
उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगवाहक कीरा त्यहाँ पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रम बढ्दै छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्याजस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी बढी व्यापक बसाइँसराइ हुनेछ । वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भूक्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन् ।
पहाडी भागमा व्यापक बाढीपहिरो जानुका साथै ससाना खोल्सा, मूल कुवा आदि पानीका स्रोत सुक्न थालेका छन् भने तराईमा भूमिगत पानीको सतह घटेको छ । यसैगरी, तापक्रमको वृद्धिसँगै मलेरिया, पहेँलो ज्वरो, डेंगु, इन्सेफलाइटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नुका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँनयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ ।
नेपालमा जलवायु परिवर्तनका असर : नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो । नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन्, जो कुनै पनि वेला फुट्न सक्छन् । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्छ र सीमान्तकृत एवं जोखिममा परेका समूहले अझ कठिनाइ व्यहोर्नुपर्ने हुन्छ ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा जलवायु परिवर्तन : विश्वव्यापी रूपमा भइरहेको मौसम परिवर्तनले गर्दा नेपालको हिमाल, पहाड तथा तराईका भित्री मधेशमा पानीका मुहान दिनप्रतिदिन सुक्ने क्रम बढिरहेको छ । पानीका मुहान सुक्नाले नेपालका थुप्रै गाउँबस्तीमा बसोवास गर्ने मानिसको दिनचर्या कष्टप्रद हुँदै गइरहेको छ । यस्ता बस्तीमा पानीको सम्भाव्य स्रोत टाढा हुने तथा नजिकका सोत सुक्दै जाने अवस्थामा पम्पिङजस्ता जटिल प्रविधि प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ ।
यसले लागत बढ्दा खानेपानी आयोजना निर्माण तथा सञ्चालन कठिन हुन्छ । यस्ता गाउँबस्तीमा जलवायु अनुकुलित खानेपानी योजना व्यवस्थापन गर्नुपर्ने हुन्छ । साथै, यसका लागि तिनै तहका सरकारबाट विभिन्न प्रकारका जलवायु अनुकुलित खानेपानीका चेतनामूलक कार्यशाला र प्रशिक्षण आवश्यक देखिन्छ । पिउनेपानीकै अभावका कारण कतिपय बस्तीका बासिन्दा बसाइँ सरिरहेका छन् । जसका कारण पानीको स्रोत संरक्षण हुन नसकी सुक्ने क्रम थप बढेको छ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली जनतालाई सुरक्षित पिउनेपानी तथा सरसफाइको अधिकार सुनिश्चित गराउन राज्यको दायित्व भएकाले त्यसतर्फ ध्यान जानुपर्ने हुन्छ ।
जलवायु परिवर्तनलाई कसरी कम गर्ने : अहिले विश्वमा उत्सर्जन हुने करिब ६० प्रतिशत कार्बनडाइअक्साइड वनजंगलले सोस्छ । यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउन हामीले वनजंगल बढाउने प्रयत्न गर्नुपर्छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्न बृहत् रूपमा वृक्षरोपणको अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रुख मात्रै रोप्न र संरक्षण गर्न सक्ने हो भने पनि हामीले धेरै लाभ हासिल गर्न सक्छौँ । त्यसैगरी, सडकको दायाँबायाँ किनारामा वृक्षरोपण गर्नुपर्छ । त्यसो गर्दा गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
यदि अहिलेकै गतिमा जलवायु परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा प्राप्त हाम्रा सुन्दर हिमताल र नदीनाला भविष्यमा संकटमा पर्ने निश्चित छ । त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्नेछ । हाम्रो मुलुकमा रहेका हिमशृृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृंखलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनुपर्छ ।
लगातार रूपमा चुरे पर्वत शृंखलामा भइरहेको क्षयीकरणले हाम्रो भूसन्तुलनमै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्छ र सम्पूर्ण उद्योगले कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न प्रभावकारी नियमन गरिनुपर्छ । यसैगरी, विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरुरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो । त्यसैले, आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रम वृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखापरिरहेका छन् । सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायु तथ्यांकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखापरेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ । साथै, भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेकै अनुपातमा बढ्दै गएको खण्डमा स्थिति थप भयावह हुने प्रस्ट पारेको छ । तसर्थ, हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा साझा प्रयासको खाँचो छ ।
यसैगरी, जलवायु परिवर्तनसम्बन्धी महासन्धिको प्रावधान र पक्ष राष्ट्रहरूको सम्मेलनले गरेका निर्णयलगायत अनुकूलन, प्रभाव न्यूनीकरण, आर्थिक स्रोत, प्रविधि विकास एवं हस्तान्तरण, क्षमता अभिवृद्धि, जलवायु समानुकूलनजस्ता अवयवलाई समेटी जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी खाका निर्माण हुन नसक्नु आजको प्रमुख समस्या रहेको छ । विश्वव्यापी मुख्य सवालका रूपमा रहेको जलवायु परिवर्तनलाई विज्ञान र प्रविधिको कोणबाट हेर्न सक्ने क्षमता भएको निकायको अभाव पनि अर्को समस्या हो ।
(डा. नेपाल खानेपानी तथा जलवायु परिवर्तन विषयका विज्ञ हुन् ।)