पहिलो खेलमा पराजित नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध जित्नैपर्ने दबाबमा छ । समूह ‘ए’को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा आज नेपाल माल्दिभ्सविरुद्ध खेल्दै छ ।
माल्दिभ्सविरुद्ध दशरथ रंगशालामा खेल्दै गर्दा नेपाल ‘गर या मर’को स्थितिमा छ । आजको जितले मात्रै नेपाल सेमिफाइनलमा स्थान बनाउनेछ । यदि पराजित या बराबरी नतिजाले नेपाल पुनः एकपटक घरेलु मैदानमा समूह चरणबाटै बाहिर रहनेछ । प्रशिक्षक सुनील श्रेष्ठले माल्दिभ्सविरुद्ध जित्न खेल्ने बताएका छन् । ‘पहिलो खेलमा आफ्नै गल्तीले पराजित भयौँ । माल्दिभ्सविरुद्ध जित्न खेल्छौँ । हामीलाई विकल्प छैन,’ सुनीलले भने, ‘पहिलो खेलमा खेलाडीबीच तालमेल भएन । फिनिसिङमा चुक्यौँ ।’
सुनीलले भनेजस्तै पहिलो खेलमा नेपाल अग्ला पाकिस्तानी खेलाडीसँग फिनिसिङ र एयर बलमा चुकेको थियो । जसका कारण पहिलोपटक सहभागी भएको पाकिस्तान नेपालविरुद्ध हावी भयो । कप्तान तथा गोलकिपर जियारथ शेखले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल थप गोल बेहोर्नबाट जोगिएको हो ।
नेपालविरुद्ध बराबरीले पनि माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ । यदि हारले भने उसको चुनौती सेमिफाइनलमा समाप्त हुने पक्का छ । समूह ‘ए’मा पाकिस्तान दुई खेलबाट चार अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब एक अंकको माल्दिभ्स र विनाअंकको नेपालमध्ये एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । चार संस्करण आयोजना हुँदा नेपाल र भारतले समान दुईपटक उपाधि जितेका छन् । पहिलो दुई संस्करण नेपालले जितेको थियो भने पछिल्ला दुई संस्करणमा भारत च्याम्पियन भएको हो ।
समूहविजेता बन्न भारत र भुटान भिड्दै
समूह ‘बी’को विजेता बन्न भारत र भुटानबीच आजै प्रतिस्पर्धा हुनेछ । साँझ हुने खेलको विजेता समूहविजेता बन्नेछ । बराबरी नतिजा आएमा भारत गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहनेछ । भारत र भुटानको समान तीन अंक छ । दुई खेल खेलिसकेको बंगलादेश प्रतियोगिताबाट बाहिरिइसकेको छ । दुईपटकको उपविजेता बंगलादेश प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो । दुईपटकको च्याम्पियन भारतले पहिलो खेलमा बंगलादेशलाई ३–० र भुटानले बंगलादेशलाई नै ४–३ ले हराएका थिए ।