मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० असोज ७ आइतबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०८० असोज ७ आइतबार १८:३५:००

बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरेको घटनाका एक फरार कसुरदारलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।

डा. श्रेष्ठको अपहरणमा संलग्न नुवाकोट जिल्ला विदुर नगरपालिका– १२ चारघरेका ३९ वर्षीय लुप्पा भनिने सुब्बा तामाङलाई शनिबार गाउँमै आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक पुष्प दर्लामीले जानकारी दिए।

प्रहरीले तामाङ आइतबार नुवाकोट जिल्ला अदालतमा पेस गरेकोमा अदालतले कैद सजायको लागि कारागार चलान गर्न आदेश दिएको छ। चितवन जिल्ला अदालतको ०६९ जेठ २४ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक कसुरमा तामाङलाई दोषी ठहर गर्दैै १३ वर्ष कैद र रु. एक लाख जरिवाना तोकेको थियो।

०६७ जेठ ४ गते राति २२ः१५ बजे क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक ४८ वर्षीय डा. श्रेष्ठ चितवन अस्पतालबाट हिमचुली विकास बैंकनजिकको मोडमा रहेको क्वाटरतर्फ जाने क्रममा भीमसेन पण्डित, रोहित पलिवाल, बद्रीप्रसाद ढुंगाना, सुनील श्रेष्ठ, नवीन क्षेत्री, लुप्पा तामाङ भनिने सुब्बा तामाङ र गौतम योञ्जनसहितले अपहरण गरी नुवाकोट, काठमाडौं र धादिङका विभिन्न स्थानमा राखेका थिए।

अपहरणकारीको समूहले पीडित परिवारलाई ईन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी साढे तीन किलो सुन फिरौती मागेको थियो।

नेपाल तथा भारतमा बराबर बसोबास गर्ने रोहित पलिवाल अग्रवालले भारतबाट २०६७ जेठ ५ गते राति पीडित परिवारलाई इन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी फिरौतीको लागि साढे तीन किलो सुन बार्गेनिङ गरेकोमा मिति २०६७ जेठ १९ गते अपहरितबाट फिरौतीबापतको सुन भारतको कानपुर आसपासको इलाकामा प्राप्त गरेपश्चात् सो समूहले जेठ २२ गते बिहान २ः३० बजे डा. श्रेष्ठलाई धादिङको मझिमटारमा छाडिदिएका थिए।