१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 21 September, 2024
कुटपिटमा परेका डाक्टरद्वय डा. विकास थापा र  प्रशान्त बिडारी ।
२o८o भदौ २९ शुक्रबार २o:o६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सक कुटपिट घटना : दुईजनाविरुद्ध किटानी जाहेरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार २o:o६:oo

चिकित्सक कुटपिट घटनामा संलग्न रहेको अभियोगमा दुईजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ ।

नेपाल चिकित्सक संघले शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका– १२ का २९ वर्षीय अनुप प्रधान र १९ वर्षीय रोहित प्रधानविरुद्ध किटानी जाहेरी दिएको हो । 

उनीहरूलाई हेटौँडा– १ मा रहेको सन्चाे अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र  प्रशान्त बिडारीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ ।

यस्तै, घटनामा संलग्न रहेको अभियोगमा बिहीबार नै हेटौँडा– १२ कै रमा प्रधान र रमिता प्रधानलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत २५ साउनमा सन्चो अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारीमाथि २८ भदौमा उनीहरूले कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले दुईजनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए । जाहेरी नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले दिएका हुन् ।

जाहेरीमा घटनामा संलग्न देखिएका सबैजनालाई चाँडोभन्दा चाँडो पक्राउ गरी प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिएको प्रवक्ता भण्डारीले बताए ।

यसैबीच प्रहरीले चिकित्सक कुटपिट घटनामा पक्राउ परेका चारजनामाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट तीन दिनको म्याद थप गराएको छ । 

पक्राउ परेका चारजनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट तीन दिनको म्याद थप गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

उनले घटनामा संलग्न भएका अन्यलाई सिसिटिभी फुटेज र पक्राउ परेकाहरूको बयानको आधारमा पक्राउ गर्ने बताए । प्रहरीले टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेको उनको भनाइ छ ।

हेटौँडाका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द 
चिकित्सक कुटपिट घटनाको विरोधमा शुक्रबार हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सबै सेवा पूर्ण रूपमा बन्द गरिएको छ । हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिकबाहेका सबै सेवा प्रवाह बन्द गरिएको हो । 

मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा पनि शुक्रबार आकस्मिक र फार्मेसीबाहेकका सबै सेवा बन्द गरिएको थियो ।

स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकाले आकस्मिकबाहेकका सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले बताए ।

बुधबारको घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काम गर्न सक्ने मनस्थितिमा नरहेकाे उनको भनाइ छ । घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहे पनि ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द रहेको डा. सापकोटाले जानकारी दिए । 

डा. सापकोटाले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले तदारुकता नदेखाउँदा स्वास्थ्यकर्मीहरू त्रासमा रहेको दाबी गरे । उनले घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म आफूहरू पूर्ण रूपमा काममा फर्कन नसक्ने बताए । 
 
हेटौँडा अस्पतालका ७९ जनाले बुझाए राजीनामा 
बुधबारको घटनाले काम गर्ने वातावरण नरहेको भन्दै हेटौँडा अस्पतालमा कार्यरत ७९ चिकित्सक एवं स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरूले स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकाले सामूहिक राजीनामा बुझाएको जनाएका छन् । उनीहरूले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटालाई राजीनामा बुझाएका हुन् ।

घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही नगरे डा. सापकोटा आफूले समेत उक्त राजीनामापत्रमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले स्वास्थ्य संस्थाहरू बन्द गरेर आन्दोलन गर्दा धेरै सेवाग्राही मर्कामा पर्ने भएकाले चिकित्सकहरूलाई आफ्नो काममा फर्किन आग्रह गरेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै प्रजिअ सेढाईंले चिकित्सकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।

उनले चिकित्सकलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले गलत गर्ने कसैलाई पनि नछोड्ने दाबी गर्दै चिकित्सकहरूमाथिको कुटपिटको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताए ।