नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई खेलाडीलाई खुसी बनाउन र आत्मविश्वास बढाउन निकै सिपालु छन् । हार वा जितमा उनी कहिल्यै निराश हुँदैनन्, खेलाडीलाई पनि निराशावादी बनाउँदैनन् । मैदानमा जस्तो नतिजा आए पनि ड्रेसिङको वातवरण खुसी नै बनाइराख्नुपर्छ भन्ने मान्यता उनको हो । नेपाली टोली सम्हालेको दिनदेखि नै उनले ‘ह्याप्पी ड्रेसिङ रुम’ रणनीति बनाउँदै आएका छन् । यसक्रममा उनले एसिया कप क्रिकेट प्रतियोगितामा दुईपटकका एकदिवसीय विश्वकप च्याम्पियन भारतसँग १० विकेटले पराजित भए पनि नेपाली खेलाडीलाई सक्दो आत्मविश्वास र खुसी प्रदान गर्ने काम गरेका छन् ।
नेपाली खेलाडीले ह्याप्पी ड्रेसिङ रुम भारतकै रुममा मनाउँदा उनीहरूको मनोभावना कस्तो होला ? भारतजस्तो क्रिकेटकै बलियो राष्ट्रविरुद्ध साहसिक प्रदर्शन गरेका खेलाडीलाई प्रशिक्षक देसाईले भारतीय ड्रेसिङ रुममै लगेर अनुभव साट्न लगाए । यति मात्र कहाँ हो र, उनले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका आफ्ना खेलाडीलाई भारतीय प्रशिक्षक र विश्वचर्चित खेलाडीबाट सम्मानस्वरूप तक्मा प्रदान गराए । खेल सकेपछि उनले सीधै आफ्ना खेलाडीलाई लिएर भारतीय ड्रेसिङ रुममा लगेका थिए ।
आफ्नो समयकै विश्व क्रिकेटकै ‘द वाल’ उपनाम पाएका वर्तमान भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड, पूर्वकप्तान विराट कोहली र हार्दिक पाण्ड्याबाट आसिफ शेख, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई पदक थाप्न लगाए । भारतीय नागरिक देसाईसँग लामो समयसम्म इन्डियन प्रिमियर लिग (आइपिएल)को अनुभव छ । आइपिएलमा आबद्ध भएका कारण नै उनी भारतीय खेलाडीसँग नजिक हुन पाए । यसैको परिणामस्वरूप उनले ड्रेसिङ रुममा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने प्रशिक्षकको शैली आफैँमा उदाहरणीय कार्य हो ।
भारतको ड्रेसिङ रुममा उनले औपचारिक कार्यक्रम आयोजना गरेका थिए । द्रविड, कोहली र पाण्ड्याबाट पदक लगाउँदा नेपाली खेलाडी लजाएका देखिन्थे । देसाईले नै पदक थाप्न आउने खेलाडीको बारेमा संक्षिप्त जानकारी आफ्ना समकक्षीलाई दिएका थिए । उनले नेपाली खेलाडी किन पदकका हकदार थिए भन्ने कारण पनि खुलाए ।
देसाईकै प्रशिक्षणमा नेपालले आइसिसी विश्व क्रिकेट लिग–२ मा अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता रक्षा गरेको थियो । लिग–२ मा शीर्ष तीन स्थानमा रहँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो । यसैगरी, एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपालले पहिलोपटक एसिया कपमा स्थान बनायो ।
१० विकेटको जितले ठूलो अर्थ राख्छ : जडेजा
भारतका स्पिनर रवीन्द्र जडेजाले नेपालसँगको १० विकेटको जितले ठूलो अर्थ राख्ने बताएका छन् । उनले खेलपछि नेपाली खेलाडीसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताएका हुन् । एसिया कपको सुपर फोरमा पुगेको भारतले आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनले बताए । ‘हाम्रो नजरमा १० विकेटको जितले ठूलो अर्थ राख्छ, अब हाम्रो ठूला खेल आउँदै छन्,’ जडेजाले भने, ‘नेपालसँग पहिलोपटक खेल्यौँ, हामीलाई नेपालको राम्रो र कमजोर पक्ष थाहा थिएन, यसै कारण नेपालका ओपनरले सुरुका १० ओभरमा राम्रो गरेका थिए ।’
कोहलीसँग अटोग्राफ लिए सोमपालले
भारतसँगको प्रतिस्पर्धामा दुई रनले अर्धशतक बनाउन चुकेका नेपालका अलराउन्डर सोमपालले कोहलीसँग अटोग्राफ लिएका छन् । उनले जुत्तामा कोहलीको अटोग्राफ लिएको तस्बिर सोसल मिडियामा राखेका छन् । सोमपालले भारतका पूर्वकप्तान कोहली एक क्रिकेटर मात्र नभएर भावना जोडेको प्रतिक्रिया दिएका छन् । ‘वास्तवमा विराट एक क्रिकेटर मात्रै नभएर भावना गाँसिएको छ,’ उनले भनेका छन्, ‘उनी हामीसँग जोडिएका छन् ।’ सोमपालले भारतविरुद्ध ५६ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए ।
अफगानिस्तानविरुद्ध श्रीलंकाले निकाल्यो सनसनी जित
साबिक विजेता श्रीलंकाले समूह ‘बी’मा अफगानिस्तानमाथि सनसनीपूर्ण खेलमा दुई रनको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो । प्रत्युत्तरमा अफगानिस्तान ३७.४ ओभरमा दुई सय ८९ रनमा अलआउट भयो । धनञ्जय डी सिल्भाले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा अफगानिस्तानका दुई विकेट लिएपछि श्रीलंकाले महत्वपूर्ण दुई अंक जोडेको हो । अफगानिस्तानले प्रतिओभर ७.६७ रनको रनरेटमा ब्याटिङ गरेको थियो । तर, अफगानिस्ताका ब्याट्सम्यानले महत्वपूर्ण समयमा विकेट गुमाउँदा श्रीलंकाले हातबाट गएको खेलसमेत जित्यो ।
अफगानिस्तानका लागि रहमत साहले ४० बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । कप्तान सहिदीले ६६ बलमा ५९ रनको योगदान दिए । मोहमद नावीले केवल ३२ बलमा ६५ रन जोडे । उनले आफ्नो इनिङ्समा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए । उनकै विस्फोटक ब्याटिङका कारण अफगानिस्तान एक समय सहज जितको अवस्थामा पुगेको थियो । तर, स्ट्रोक लगाउने चक्करमा अफगानी ब्याट्सम्यानले आफ्नो विकेट गुमाउँदै गए । श्रीलंकाका कुसन राजिथले ७९ रन खर्चेर चार विकेट लिए ।
मेन्डिस शतक बनाउन चुके
यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाले ६ ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनको मद्दतमा अफगानिस्तानविरुद्ध चुनौतीपूर्ण योगफल खडा गरेको थियो । श्रीलंकाले सुरुदेखि नै गतिलो साझेदारी पायो । ओपनर पथुम निसांका र दिमुथ करुनारत्नेबीच पहिलो विकेटका लागि १०.२ ओभरमा ६३ रनको साझेदारी भएको थियो । दिमुथले ३५ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । ओपनर निसांकाले ४० बल सामना गरी ६ चौका प्रहार गरी ४१ रन जोडे । कुशल मेन्डिस र चरिथ आसालांकाले चौथो विकेटका लागि एक सय दुई रनको साझेदारी गर्दै श्रीलंकालाई ३३.२ ओभरमा १८८–४ को स्थितिमा राखे ।
चरिथले ४३ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३६ रन बनाए । मेन्डिसले धनञ्जय डी सिल्भासँग पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गरे । डी सिल्भाले १९ बलमा १४ रन बनाए । क्रिजमा सेट भएका ब्याट्सम्यान मेन्डिस शतकीय इनिङ्स खेल्न आठ रनले चुके । रसिद खानबाट सीधा थ्रोमा रनआउट हुनुअघि उनले ९२ रन जोडेका थिए । उनले ८४ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए ।
वेलागे र महिश थिक्सनाले आठौँ विकेटका लागि ६४ रनको साझेदारी गरे । वेलागेले ३९ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३३ रन बनाए । महिशले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरी २८ रन बटुले । बलिङमा अफगानिस्तानका गुल्वदिन नैवले ६० रन खर्चेर सर्वाधिक चार विकेट हात पारे । स्पिनर रसिदले ६३ रनमा दुई विकेट लिए ।