१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Friday, 05 July, 2024
२o८o भदौ १५ शुक्रबार १२:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्दै गोरखाका सोमबहादुर 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १२:३९:oo

धार्चे गाउँपालिका– ७ लापुबेँसीमा उनले ड्रागन फ्रुट खेती सुरु गरेको तीन वर्ष भयो। लापुगाउँका सोमबहादुर गुरुङले गत वर्षबाट ड्रागन फ्रुट बेच्न थालिसकेका छन्।
 
रोजगारीका क्रममा दक्षिण कोरिया जाँदा ड्रागन फ्रुटको खेती गरेको देखेपछि त्यहाँबाट फर्केपछि उनले करिब १२ लाख लगानी गरेर सो खेती गर्न सुरु गरेका हुन्। 

उनका अनुसार गत वर्ष फ्रुट बेचेर एक लाखभन्दा बढी आम्दानी भयाे। यो वर्ष तीन लाख रुपैयाँ आम्दानी भइसकेको छ। ‘अहिले राम्रै फल लागेको छ। म सन्तुष्ट छु,’ उनले भने, ‘किन्ने ग्राहकहरूको पनि कमी छैन।’

दैनिक १० देखि १५ जना फल किन्न आउने गरेको उनले जानकारी दिए। उनी प्रतिकेजी पाँच सयदेखि ६ सय रुपैयाँसम्ममा यो फल बेच्छन्। उत्पादित फल स्थानीय स्तरमै खपत हुने गरेको छ। गोरखा बजार, आरुघाट, सोती, लापु आर्खेतसहित काठमाडाैंसम्म पनि पुग्ने गरेको उनी बताउँछन्। 

फल छिमल–छिमलका छन्। केही बोटमा फल टिप्ने वेला भइसकेको छ, केहीमा फूल फुलिरहेको छ। फूल फुलेको ४५ दिनमा फल तयार हुने भएकाले असोज मसान्तसम्म पनि फल टिप्न मिल्ने उनको भनाइ छ। 

यो वर्ष थप दुई लाखभन्दा बढी आम्दानी हुनेमा उनी आशावादी छन्। ‘उत्पादन हुने क्रम जारी छ, लटलटमा फल टिप्न मिल्छ, त्यसैले आम्दानी अझै बढ्छ भन्नेमा म ढुक्क छु,’ उनले भने। बजारमा मागअनुसार फल उत्पादन गर्न नसकिएको उनले बताए। 

धार्चे ड्रागन फलफूल फर्म दर्ता गरेर गुरुङले ०७८ सालदेखि ड्रागन फ्रुट खेती सुरु गरेका हुन्। लापुबेँसी रहेको आफ्नै सात रोपनी जग्गामा उनले खेती गरेका हुन्। उनको कृषि फर्ममा सेतो र रातो प्रजातिका गरी करिब १४ सय बोट छन्। खेतीका लागि उनले कृषि ज्ञान केन्द्र र गाउँपालिकाबाट अनुदानसमेत पाउँदा उनी उत्साहित छन्।

स्वरोजगार भइयो भने आफ्नो कम्पनीको आफैँ मालिक हुन पाइन्छ भनेर बुझ्न उनलाई लामो समय लाग्यो। त्यसो त व्यवसाय गर्न बिउ पुँजी पनि चाहिन्थ्यो, त्यसैले उनले नौ वर्ष दक्षिण कोरियाको भूमिको वैदेशिक रोजगारीमा बिताए। आफ्नो व्यवसायको आफैँ मालिक बनेपछि उनी अहिले स्वदेशमै ड्रागन फ्रुटको खेतीमा रमाइरहेका छन्। 

विदेशमा रहँदा ड्रागन फ्रुटको फल देखेको र खाँदा मिठो र स्वादिलो लागेकाले उनले स्वदेशमै खेती गर्ने योजना बनाएका थिए। सोहीअनुसार उनी नेपाल फर्केर विभिन्न ठाउँमा भएको ड्रागन फ्रुट खेतीको अवलाेकन गरी आफ्नै गाउँमा व्यावसायिक रूपमा खेती सुरु गरेका हुन्। 

खेतीका लागि उनले सुरुमा कृषि ज्ञान केन्द्रका प्राविधिकबाट माटो परीक्षण गराएका थिए। उपयुक्त देखिएपछि उनले खेती सुरु गरेका हुन्। खेतीका लागि उनले तालिम भने लिएनन्। तर, ड्रागन फ्रुट खेती भइरहेको विभिन्न ठाउँको अवलोकन गरेर आवश्यक परामर्श भने लिएका थिए। उनलाई खेतीका लागि आवश्यक सहयोग उनका परिवारका सदस्यले गरिरहेका छन्। गाउँमा फल फलेको देखेर स्थानीयहरू दंग परेको उनले बताए।

‘सुरुमा सबैले यो के रोपेको भनेर हँसिमजाक गरे, अहिले लटरम्म फल फलेको देखेर, फेरि खाँदा स्वादिलो पनि भएपछि उनीहरू दंग छन्,’ उनले भने ।

उत्तरी गोरखामा ड्रागन फ्रुट खेती गर्ने आफू पहिलो किसान रहेको उनको दाबी छ। मनास्लु पदमार्ग हुँदै उत्तरी गोरखा आउने पर्यटकहरू फर्म अवलोकन गरेर जाने गरेको उनको भनाइ छ। खेतीलाई विस्तार गर्ने उनको योजना छ। तर, जग्गा नपाउँदा समस्या भएको उनले गुनासो गरे। 

ड्रागन फ्रुटमा प्रोटिनको प्रशस्त मात्रा पाइने भएकाले सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न मद्दत पुग्ने उनले बताए। यसले मुटु स्वस्थ राख्नुका साथै शरीरको तौललाई सन्तुलन राख्नसमेत मद्दत गर्ने बताइएको छ। 
 

ad
ad
ad
ad