१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १२ मंगलबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरीकै ३६ रोपनी जग्गामा किर्ते : प्रहरी तालिम प्रतिष्ठानद्वारा सिआइबीमा जाहेरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार o९:४८:oo

किर्ते कागजपत्रका आधारमा प्रहरीकै जग्गा व्यक्तिको नाममा लैजाने प्रयास भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा प्रहरीले नै जाहेरी दिएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले केही दिनअघि सिआइबीमा जाहेरी दिएको हो । 

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास भएको हो । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा एक स्थानीयले आफ्नो दाबी गर्दै नक्कली कागजपत्र तयार पारी हत्याउने प्रयास गरिरहेको भन्दै प्रतिष्ठानले जाहेरी दिएको हो । आन्तरिक छानबिनमा किर्ते कागजपत्र पेस भएको पुष्टि भएपछि किर्ते मुद्दामा जाहेरी दिइएको प्रतिष्ठानका एक अधिकारीले बताए । 

काभ्रेको पनौतीका स्थानीय पुष्करबहादुर बस्नेतले ३६ रोपनी दुई पैसा क्षेत्रफलको सो जग्गा हत्याउन मालपोत र नापी कार्यालयकै कागजपत्र किर्ते गरेको प्रहरी दाबी छ । उनले आफ्नो नाममा दर्ताको माग गरी हाल सर्वाेच्चमा समेत मुद्दा हालेका छन् । बस्नेत मालपोतकै पूर्वनायबसुब्बा हुन् । 

सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार किर्तेसम्बन्धी जाहेरी आएको दर्ता भइरहेको छ । जाहेरी दर्ता गरी विस्तृत अनुसन्धान अघि बढाइएको उनले बताए । 

१५ साउन ०५२ मा मन्त्रिपरिषद्को निर्णयले सो जग्गा प्रहरीलाई भोगचलन गर्न दिने निर्णय गरेको थियो । वन क्षेत्रको जग्गा प्रहरीको नाममा नामसारी गर्न नमिल्ने भएकाले भोगचलनको अधिकार मात्र दिइएको थियो । पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ । 

जग्गा दाबी गर्ने बस्नेत मालपोत कार्यालयकै पूर्वकर्मचारी भएकाले उनले सरकारी कागजपत्र किर्ते गरी सच्याएको प्रहरी अधिकारीको दाबी छ । नापी हुँदाको बखत सो जग्गा वन क्षेत्रमा पर्ने उल्लेख थियो । नापी फर्म नम्बर १ क्षेत्रीय किताबमा पटक–पटक सच्याइएको छ । जग्गाको लगतसमेत केरमेट भएको छ । तत्कालीन फरेस्टर बेचन चौधरीको समेत हस्ताक्षर किर्ते भएको प्रहरी छानबिनमा खुलेको छ । सरकारले सो जग्गा प्रहरीलाई दिएकोमा सरकारी कागजपत्र भोगहकसमेत मालपोतबाट मेटाइएको थियो । 

घुमाउरो तरिकाले सो जग्गा व्यक्तिको नाममा लैजाने प्रयास भएको देखिन्छ । बस्नेतले भाउजू कान्छी बस्नेतलाई जिल्ला अदालत काभ्रेमा अंश मुद्दा हाल्न लगाएका थिए । उक्त जग्गासमेत दाबी गरी मुद्दा हाल्न लगाएकोमा जिल्ला अदालत काभ्रेले तिरो तिरेको जग्गा दर्ता भएको वेला उनलाई दिन आदेश दिएको थियो । सो आदेशअनुसार नजिकैको १२ रोपनी जग्गा उनको नाममा दर्ता भइसकेको छ । अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी ०७४ मा मालपोत गए । तर, वनको जग्गा प्रस्ट देखिएको र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न नमानेपछि उनले हाल सर्वाेच्च अदालतमा मुद्दा हालेका छन् ।

सो जग्गा आफ्नो भएको दाबी गर्न उनले त्यसको तिरो तिरेको प्रमाण पेस गरेका छन् । तर, मालपोत कार्यालयका अनुसार सो तिरो अर्काे १२ रोपनीसँगैको जग्गाको हो । नापी कार्यालयको फिल्डबुकमा सो जग्गा खर चाहार भन्ने उल्लेख छ । खर चाहार भन्नाले जंगल भएको जग्गा जनिन्छ । सो जग्गा ०५२ सालदेखि नै प्रहरीले मालपोतमा रोक्का राख्दै आएको छ । प्रहरीकै जग्गा किर्ते गरी हत्याउने प्रयास भएपछि कानुनी कारबाहीमै जाने निर्णयमा पुगिएको प्रतिष्ठानले जनाएको छ । 

ad
ad
ad
ad