काभ्रे जिल्लाको रोसी गाउँपालिकाले सुत्केरी आमाहरूका लागि पोसिलो खानाका लागि भत्ता उपलब्ध गराउँदै आएको छ। पालिकाले ‘सुत्केरी आमा, पोसिलो खाना’ कार्यक्रमअन्तर्गत रोसी गाउँपालिकाभित्रका सुत्केरी आमाहरूका लागि भत्ता वितरण गर्दै आएको हो।
गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार सुत्केरी आमाका लागि प्रतिसुत्केरी दुई हजार पाँच सय रुपैयाँ गाउँपालिकाले दिँदै आएको छ। सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खाएमा आमा र बच्चाका लागि फाइदा हुने भएकाले यस्तो कार्यक्रम लागू गरेको लामाले जानकारी दिए।
त्यस्तै, गाउँपालिकाले आफ्नो बाबुआमा तथा अभिभावकको राम्रो हेरचाह गर्नेलाई नगदसहित पुरस्कार प्रदान गर्दै आएका छन्। वृद्ध–वृद्धाहरू आश्रममा भरिभराउ हुँदै आएको समयमा गाउँपालिकाले यस्तो कार्यक्रम लागू गरेको हो। अध्यक्ष लामाका अनुसार आफ्ना बाबुआमा तथा अभिभावकको राम्रो हेरचाह गर्नेहरूलाई प्रत्येक वडाबाट २ जनाको दरले प्रत्येक वर्ष नगद पाँच हजारसहित श्रवणकुमार पुरस्कार प्रदान गर्दै आएका छ। वृद्धवृद्धा अवस्थामा रुँदै घर छाडेर जानु नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम लागू गरेको अध्यक्ष लामाले जानकारी दिए।
यसैगरी, गाउँपालिकाले ५६ जना दीर्घ रोगीहरूलाई औषधि उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ ०७९ वैशाखबाट वितरण गर्दै आएको छ।
एक वर्षमा १७८० घरधुरीको निःशुल्क स्वास्थ्य बिमा
गाउँपालिकाले एक वर्षमा एक हजार ७ सय ८० घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। ६० वर्षभन्दा माथिका व्यक्ति भएको घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेको हो।
रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार सामाजिक विकासअन्तर्गत रोसी गाउँपालिकाका एक हजार सात सय ८० घरधुरीका व्यक्तिहरूको गाउँपालिकाले बिमा गरिदिएको छ। ६० वर्षमाथिका व्यक्तिहरूको परिवारको निःशुल्क बिमा गरेको हो।
बिमाका लागि आर्थिक वर्ष ०७९/८० मा ८० लाख बजेट छुट्याएकोमा एक हजार ७ सय ८० जना ६० वर्षीय व्यक्तिहरूको परिवारको बिमा गरेको थियो। एकजना ६० वर्षीय व्यक्तिको नामबाट थप चारजना परिवारका सदस्यको एक लाखबराबरको स्वास्थ्य बिमा भएको अध्यक्ष लामाले जानकारी दिए। एक परिवारको एक वर्ष बिमाको तीन हजार पाँच सयका दरले स्वास्थ्य बिमा गरेको लामाले बताए।
आर्थिक वर्ष ०८०/८१ को लागि पनि गाउँपालिकाले ८० लाख बजेट छुट्याएको लामाले जानकारी दिए। सामाजिक विकासअन्तर्गत गाउँपालिकाले निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरी एक सय २३ जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरेको थियो।