१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्याटु खोप्दा नगर्नुस् हेलचेक्र्याइँ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४४:oo

पछिल्लो समय विशेष गरी युवापुस्तामा शरीरमा ट्याटु खोप्ने फेसन चलेको छ । विशेष गरी टिनएजमा यो मोह अचम्मलाग्दो छ । पहिले–पहिले सहरमा मात्रै सीमित रहेको ट्याटु ट्रेन्ड अहिले ग्रामीण भेगमा पनि फैलिएको छ । युवाहरू शरीरका विभिन्न अंगमा आफ्नो प्रिय आइकन, कलाकार, प्रेमी–प्रेमिकाको आकृति कुँदाउने गर्छन् । कतिपयले आफूलाई मन पर्ने जनावर, देउताको पनि आकृति बनाएको देखिन्छ । 

ट्याटु हाउसका सञ्चालक सन्दीप लामा आफ्ना प्रेरक पात्रको सम्झनामा ट्याटु खोपाउने जमात ठूलो रहेको बताउँछन् । ‘छोरा–छोरीले बुबा–आमाको चित्र बनाउँछन्, कतिपयले आफ्नो श्रीमान्–श्रीमतीको फोटो राखेर पनि बनाउँछन् । घरमा पालेका पेट (कुकुर–बिरालो) खोपाउने पनि हुन्छन्,’ लामाले बताए ।

उनले आफूले ग्राहकलाई ट्याटुबारे बुझाएर मात्रै खोप्ने गरेको बताए । ‘सबैले ट्याटु खोप्न मिल्दैन । ट्याटु खोप्नुअघि आफ्नो स्वास्थ्य जाँच गर्न आवश्यक छ । शारीरिक रूपमा अशक्त तथा सुगर, ब्लडप्रेसरजस्ता समस्या भएको अवस्थामा ट्याटु खोप्नु उचित हुँदैन । शरीरमा सुगर ब्यालेन्समा छ भने मात्रै खोप्दा हुन्छ,’ उनले भने, ‘ब्लडप्रेसरको समस्या भएका व्यक्ति फेन्ट हुन सक्ने खतरा हुन्छ । त्यसैले यस्तो समस्या भएका व्यक्तिले ट्याटु नखोप्दा हुन्छ ।’ १८ वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै ट्याटु खोप्न दिइने उनले बताए । 

फेसनेबल देखिन शरीरमा ट्याटु खोप्दा भने विशेष ख्याल गर्नैपर्छ । कस्ता किसिमका सामग्री प्रयोग गरेर खोपाइँदै छ भन्ने कुरा विचार गर्नुपर्छ । निर्मलीकरण गरिएका सामग्रीले ट्याटु खोपाउँदा ठूलो समस्या आउँदैन । तर, निर्मलीकरण नै नगरिएका सामग्री ट्याटु खोप्न प्रयोग गरिएको छ भने गम्भीर खालका रोग पनि सर्न सक्छ । 

छालारोग विशेषज्ञ डा. ईशा पौडेल ट्याटु खोप्दा हेलचेक्र्याइँ गर्न नहुने बताउँछिन् । उनी भन्छिन्, ‘ट्याटु खोप्नु भनेको सियोका माध्यमबाट छालाको विभिन्न तहमा इंकलाई पुर्‍याउनु हो । निडलका माध्यमबाट छाला हुँदै रगतमा संक्रमण पुग्न सक्छ । जथाभावी ट्याटु खोपाउँदा रगतबाट सर्ने रोग, छालामा एलर्जी लगायत अन्य समस्या देखिन सक्छ । तुरुन्तै नदेखिए पनि पुरानो हुँदै गएपछि विभिन्न खालको समस्या देखिन सक्छ ।’

उनका अनुसार ब्याक्टेरियल इन्फेक्सन, फंगस इन्फेक्सन र भाइरल इन्फेक्सन हुन सक्छ । ‘विभिन्न खालका कीटाणुको संक्रमण हुन सक्छ । ब्याक्टेरियन इन्फेक्सन इस्टाफेलकोल इन्फेक्सन (घाउ पाक्ने, पिप आउनेजस्ता लक्षण देखिन्छ । कतिपयलाई ज्वरो पनि आउन सक्छ । घाउ हुने, कतिपयलाई पानीफोका पनि हुन सक्छ । सारो गाँठोजस्तो पनि हुन सक्छ ।’ 

यस्ता समस्या देखिन सक्छन् 
फंगस : छालाको संक्रमण प्रायः फंगसको कारणले हुने गर्दछ । फंगस इन्फेक्सन भएको व्यक्तिलाई प्रयोग गरिएका सामग्री निर्मलीकरण नगरी सामान्य मान्छेमा प्रयोग गरेमा यो सर्ने सम्भावना हुन्छ । विशेष गरी दाद, छालाको एलर्जी सर्ने सम्भावना हुन सक्छ । इंकको कलर रियाक्सन पनि हुन्छ । 

टिटानस : ट्याटु खोप्दा औजारमा खिया लागेको छ वा छैन विचार गर्नुपर्छ । यदि खिया लागेका सामग्री छ भने त्यसले टिटानस हुने खतरा हुन्छ । 

एलर्जी : कसैलाई ट्याटु खोप्दा एलर्जी हुन सक्छ । तर, यो समस्या व्यक्तिको छालाअनुसार हुन सक्छ । ट्याटु बनाउँदा प्रयोग हुने रङ र केमिकललाई छालाले सहन नसक्दा यस्तो समस्या हुन सक्छ । कतिपयलाई इंकको कारणले गर्दा एलर्जी पनि हुने गर्छ । शरीरले बाहिरी कुरा भित्र छिर्दा रियाक्सन गर्छ । खोप्नासाथ समस्या नदेखिए पनि केही हप्ता वा महिनापछि देखिन सक्छ । दुबीलगायत पहिले नै छालामा समस्या भएकालाई झन् समस्या हुन्छ । 

एचआइभी/हेपाटाइटिस : रगतका माध्यमबाट हेपाटाइटिस ‘बी’, सी र एचआइभी सर्न सक्छ । कुनै व्यक्ति यी रोगबाट संक्रमित छन् र ती व्यक्तिलाई खोप्न प्रयोग गरिएका सामग्री निर्मलीकरण नगरी स्वस्थ मानिसमा प्रयोग गर्दा रोग सर्ने जोखिम बढी हुन्छ । तसर्थ, ट्याटु खोप्न जाँदै हुनुहुन्छ भने सबै सामग्री निर्मलीकरण गरिएका छन् वा छैनन् भनेर राम्ररी विचार गर्दा राम्रो हुन्छ । सानो कुरामा ध्यान नदिँदा जिन्दगीभर पछुताउनुपर्ने हुन सक्छ । 

डा. ईशा पौडेल, छालारोग विशेषज्ञ
एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिक 

निर्मलीकरण नै नगरिएका सामग्री ट्याटु खोप्न प्रयोग गरिएको छ भने गम्भीर खालका रोग पनि सर्न सक्छ । विभिन्न खालका कीटाणुको संक्रमण हुन सक्छ । ब्याक्टेरियन इन्फेक्सन, घाउ पाक्ने, पिप आउनेजस्ता लक्षण देखिन्छ । कतिपयलाई ज्वरो पनि आउन सक्छ । घाउ हुने, कतिपयलाई पानीफोका पनि हुन सक्छ । सारो गाँठोजस्तो पनि हुन सक्छ ।

ad
ad