राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिसँगको भेटमा उनले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
देशको अर्थ व्यवस्थामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको बताउँदै राष्ट्रपति पौडेलले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे । उनले भने, ‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।’
राष्ट्रपति पौडेलले उद्योगी–व्यवसायीले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारे । ‘रोजगारी सिर्जना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामञ्जस्यता नहँुदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा वेला–वेलामा विघ्न–बाधा देखापर्ने गरेका छन्,’ उनले भने, ‘यसैले गर्दा मूल्यवृद्धिलगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी–सार्वजानिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ ।’
नेपालमा रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले केही दिनअघि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘धेरै राजनीतिको तानाबानामा नअल्झीकन देशको आर्थिक अवस्था सुदृढ गर्न सबैको ध्यानाकर्षण गराएको छु ।’
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहे पनि आमनागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए ।
निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक–आपसमा सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।
व्यवसाय शतप्रतिशत चल्न सक्ने आधारमा राजस्वको लक्ष्य राखिएको हुन्छ । तर, व्यवसाय दुईतिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजस्व संकलन भएको छ । यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पुँजीको लागत घटाई बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो । उनले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक रहेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए । यस्तै, उपाध्यक्ष हेमराज ढकालले आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकाले तत्काल सुधार आवश्यक रहेको बताए ।