आफैँ पढाउने विद्यालयमा अध्ययनरत छोराको सट्टा अर्को व्यक्तिलाई परीक्षा दिन लगाउने शिक्षकलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय सुनाएको छ । बिहीबार जुम्लास्थित चन्दननाथ माध्यमिक विद्यालयका शिक्षक कलानन्द माझीलाई विशेषले कैद तथा जरिवाना तोकेको हो ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य बलभद्र बाँस्तोलाले यस्तो फैसला गरेका हुन् । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार कलानन्दलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ को कसुरमा ४ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
ऐनको उक्त दफामा सरकारी कागजात सच्याउनेलाई सजाय हुने व्यवस्था छ । सोही कसुरमा अन्य दुईजनाले मतियारको भूमिका खेलेको विशेषको ठहर छ ।
शेखर माझी र प्रभात शाहीलाई विशेषले ऐनको दफा २२ बमोजिम मतियार मान्दै सजाय तोकेको छ । उनीहरूलाई कलानन्दभन्दा आधा सजाय तोकिएको अधिकृत रेग्मीले जानकारी दिए । ‘उहाँहरू दुईजनालाई जनही दुई-दुई महिना कैद र पाँच-पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ,’ रेग्मीले भने ।
यस प्रकरणमा मीनराज शर्माले भने सफाइ पाएका छन् । उनी चन्दननाथ माविको परीक्षा केन्द्र तोकिएको कर्णाली माविका केन्द्राध्यक्ष हुन् । दुई वर्षअघि दायर मुद्दामा आंशिक ठहर हुने फैसला भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ चैत ०७८ मा चारजनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा तीनजनामाथि कसुर कायम भएको हो भने एकजनाले सफाइ पाएका छन् ।
चन्दननाथ माविमा प्राथमिक तहका शिक्षक रहेका कलानन्दले ११ कक्षामा अध्ययनरत छोरा शेखर माझीलाई उत्तीर्ण गराउन कागजात हेरफेर गरेका थिए । विज्ञान विषय लिएर अध्ययन गरिरहेका शेखरको अंग्रेजी र फिजिक्स विषयमा उनको सट्टा प्रभात शाहीलाई परीक्षा दिन लगाएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।
३० वैशाख ०७५ देखि सोही वर्षको ९ जेठसम्म सञ्चालित परीक्षाका क्रममा कलानन्दले परीक्षामा उपस्थित विद्यार्थीको कन्ट्रोल लिस्ट हेरफेर गरेका थिए । विज्ञान विषय लिई १२ कक्षा पास गरिसकेका प्रभातको नाम सुरुमा उल्लेख गरी पछि छोरा शेखरको नाम राखेको भेटिएको थियो ।
उक्त कार्य परीक्षाको केन्द्राध्यक्ष मीनराजको समेत मिलेमतोमा भएको अख्तियारको निष्कर्ष थियो । यद्यपि उनलाई विशेषले सफाइ दिएको छ ।