एकीकृत समाजवादी केन्द्रीय समिति बैठक
एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैली विद्रोहको स्पिरिटअनुसार नभएको टिप्पणी गरेका छन् । सरकारमा सहभागी भएर दिनप्रतिदिन कांग्रेस र माओवादीको एजेन्डामा लतारिँदा सांगठनिक रूपमा पार्टी सशक्त हुन नसकेको सदस्यहरूले औँल्याएका छन् ।
केन्द्रीय सदस्य अमृत तिमल्सिनाले साम्राज्यवादी र दलाल पुँजीवादलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको, नेपाली समाजको विश्लेषण गम्भीर ढंगले नभएको सदस्यहरूले टिप्पणी गरेको बताए । प्रतिस्पर्धी पार्टीहरूको वर्गचरित्रको विश्लेषण पर्याप्त र वस्तुनिष्ठ नभएको उनले औँल्याएका छन् । विचार एकातिर र संगठन अर्कोतिर हुँदा समस्या भएकोमा सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् । ‘विचार र संगठनलाई सन्तुलन कायम गर्नुपर्नेमा सदस्यहरूको जोड छ । विचार एकातिर संगठन अर्कोतिर हुँदा कतिपय समस्या देखिएका छन् ।’
अर्का केन्द्रीय सदस्य हस्तबहादुर शाहीले भने सदस्यहरूको चिन्ता पार्टी निर्माणमा रहेको र भूगोललाई बलियो बनाउनुपर्ने सबैको जोड रहेको बताए । केही सदस्यहरूले पार्टीमा अवसरवादी प्रवृत्ति देखा परेको भन्दै वेलैमा सचेत हुनुपर्नेमा जोड दिएका छन् । बुधबार घनप्रसाद गौतम, गठेन्द्रप्रकाश पुरी, अमृत तिमल्सिना, बालगोपाल थापा, टीकाराम शर्मा, नरेन्द्र भट्ट, धर्म पौडेल, हस्तबहादुर शाही, विदुर सापकोटा, चुनु केसीलगायत ८२ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बिहीबार बिहान ८ बजेदेखि बाँकी सदस्यले धारणा राख्ने एकीकृत समाजवादीले जनाएको छ ।
कतिपय सदस्यले मूल नेतृत्वको स्पिरिटमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चल्न नसकेको औँल्याएका छन् । पार्टी कामको पर्याप्त प्रचार हुन नसकेको पनि उनीहरूले बताएका छन् । पदाधिकारीबाटै कार्यकर्ताको मनोबल गिराउने काम भएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरूले भनेका छन्, ‘कार्यकर्ताको मनोबल गिराउने प्रवृत्ति पदाधिकारीमै देखियो । एमालेसँग बार्गेनिङ गर्ने र पार्टीमा पनि बार्गेनिङ गर्ने प्रवृत्तिले पार्टी चल्दैन । यसलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिनुपर्छ ।’