त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विशिष्ट व्यक्ति (भिआइपी)लाई जहाज पार्किङसम्म निजी सवारी लैजान रोक लगाइएको छ । त्यस्ता व्यक्तिलाई भिआइपी कक्षदेखि आन्तरिक जहाज पार्किङस्थलसम्म प्रहरीको एस्कर्टसहित सम्बन्धित वायुसेवा कम्पनीको भिआइपी सवारीसाधन चढेर जाने व्यवस्था मिलाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए ।
‘भिभिआइपी–भिआइपी आवागमन व्यवस्थापनसम्बन्धी कार्यविधि २०८०’ जारी गरी भिआइपी व्यक्तिलाई जहाज पार्किङसम्म निजी सवारीसाधन लैजान निषेध गरेको हो । तर, अतिविशिष्ट (भिभिआइपी) व्यक्तिहरूको सवारीमा प्रयोग हुने सवारीसाधनको हकमा भने र्याम्प सुरक्षा पालना हुने गरी एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको महाप्रबन्धक तिवारीले बताए ।
भिभिआइपी व्यक्तिहरूमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख तथा उपसभामुख पर्छन् । पूर्वराष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सवारीलाई सम्बन्धित एयरलाइन्सको भिआइपी सवारीले जहाज पार्किङसम्मको आवागमनमा एस्कर्ट गर्ने व्यवस्था गरिएको छ ।
अन्य भिआइपी व्यक्तिहरूको हकमा उडान समयभन्दा एक घन्टाअगाडि नै आन्तरिक विमानस्थल टर्मिनलमा पुगेर निषेधित क्षेत्रमा प्रवेश गर्ने भिआइपी सवारीसाधनसहितले पास लिन, एयरलाइन्स चेक–इन र लगेज सुरक्षा जाँचको व्यवस्था मिलाउन विमानस्थल कार्यालयले अनुरोध गरेको छ ।