१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:४४:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

ल्याटिन अमेरिका बन्न सक्छ कमोडिटी महाशक्ति 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४४:oo

सन् २०३२ सम्ममा यहाँको कुल खाद्यान्न निर्यातले एक खर्ब अमेरिकी डलर नाघ्नेछ र विश्वकै सबैभन्दा ठूलो निर्यात गर्ने देश हुनेछ 

पाँच शताब्दीभन्दा बढी समयदेखि ल्याटिन अमेरिका र उसको दुई अर्ब हेक्टर जमिन विश्वका लागि खाद्यान्न, इन्धन र धातुहरूको महत्वपूर्ण स्रोत बनी आएको छ । पहिले उनीहरूलाई उपनिवेशवादीले सुन, चाँदी, कपास र चिनीका लागि लुटे, पछि उसले युरोप र संयुक्तराज्य अमेरिकालाई रबर र तेल आपूर्ति पनि गर्‍यो । अब ल्याटिन अमेरिकाले २१औँ शताब्दीको कमोडिटी महाशक्ति बन्ने अवसर साक्षात्कार गर्दै छ । यसपटक, उसले कमोडिटी–उछालको अवसर घरेलु विकासलाई बढवा दिन उपयोग गर्न सक्नुपर्छ ।

सफा अर्थात् हरित ऊर्जातर्फको संक्रमणले सौर्य र वायुऊर्जा, ऊर्जा आपूर्ति लाइन र विद्युतीय सवारीसाधनको गुणात्मक एवं संख्यात्मक वृद्धिका लागि आवश्यक धातुको दशकौँ माग सिर्जना गर्नेछ । ल्याटिन अमेरिकासँग विश्वको २० प्रतिशतभन्दा धेरै पाँचवटा महत्वपूर्ण धातुको भण्डार छ । हरित प्रविधिका लागि व्यापक रूपमा आवश्यक पर्ने तामाको उत्खननमा उसको पहिलेदेखि नै वर्चस्व छ । विश्वमा अहिलेसम्म पत्ता लागेका लिथियमको लगभग ६० प्रतिशत स्रोत यहीँ छ, जसको प्रयोग विद्युतीय वाहनका ब्याट्रीमा गरिन्छ । ल्याटिन अमेरिका चाँदी, टिन र निकेलमा पनि धनी छ । यदि हरित ऊर्जातर्फको संक्रमण सुस्तायो भने पनि उसले फाइदा उठाउनेछ, हालै पत्ता लागेका तेल भन्डारले सन् २०३० पछिको विश्वव्यापी मागको ५ देखि १० प्रतिशत धान्न सक्छ । 

संसार हरित हुँदै जाँदा यसको जनसंख्या पनि बढ्दै जानेछ । सन् २०५० सम्ममा पृथ्वीमा मानिसको संख्या करिब १० अर्ब पुग्ने अनुमान गरिएको छ । यस परिदृश्यले यसले प्रशस्त मात्रामा उत्पादन गर्ने कार्बाेहाइड्रेट, प्रोटिन र स्वादिष्ट भोजनको मागलाई वृद्धि गर्नेछ । ल्याटिन अमेरिकाले विश्वको ३० प्रतिशतभन्दा बढी मकै, मासु, पोल्ट्री र चिनी अनि ६० प्रतिशत भटमास आपूर्ति गर्छ । विश्वको अरेबिका कफीको १० मध्ये आठ कप कफी यसै क्षेत्रमा उत्पादित दानाबाट बनाइन्छ । सन् २०३२ सम्ममा यहाँको कुल खाद्यान्न निर्यातले एक खर्ब अमेरिकी डलर नाघ्नेछ र विश्वकै सबैभन्दा ठूलो निर्यात गर्ने देश हुनेछ ।

ल्याटिन अमेरिकाले विश्वको ३० प्रतिशतभन्दा बढी मकै, मासु, पोल्ट्री र चिनी अनि ६० प्रतिशत भटमास आपूर्ति गर्छ । विश्वको अरेबिका कफीको १० मध्ये आठ कप कफी यसै क्षेत्रमा उत्पादित दानाबाट बनाइन्छ । 

महाशक्तिबीचको प्रतिद्वन्द्विताले व्यापारिक साझेदारका रूपमा यस क्षेत्रको आकर्षण अझ बढाउनेछ । पश्चिमा देशहरू चीनबाट अलग भएर अघि बढिरहेका वेला उसले धेरैहदसम्म तटस्थ र शान्तिपूर्ण ल्याटिन अमेरिकासँग थप सम्झौता गर्न चाहेको छ । ठूला कम्पनीले पनि यसको धनमा आँखा लगाइरहेका छन् । गत महिना मात्र ब्राजिलको माइनिङ कम्पनी भेलले आफ्नो सफा धातु उत्खनन एकाइको १३ प्रतिशत सेयर स्वामित्व साउदी स्वामित्वका कम्पनीलाई तीन अर्ब डलरमा बेच्यो । चीनले बोलिभियामा लिथियम उत्पादनका लागि एक अर्ब ४० करोड अमेरिकी डलर छुट्याएको छ । यसैगरी, युरोपले ल्याटिन अमेरिकाका हरित परियोजनामा ४५ अर्ब युरो लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

समस्या के मात्र हो भने ल्याटिन अमेरिकाको कमोडिटी सम्बन्ध बिरलै सुखद रहने गरेको छ । विगतका संघर्षले ‘कु’, ‘असमानता’ र ‘पपुलिजम’लाई उत्प्रेरित गरेका छन् । भेनेजुएलाका तानाशाह ह्युगो चाभेजले तेलको अवसरलाई अनावश्यक खर्चमा उडाएका थिए । उनले तेल उद्योगमा न्यून लगानी गरे भने आसेपासे र दलाल पँुजीपतिहरूलाई पोस्ने काम गरे । कोलम्बिया र इक्वेडरलाई तेलको व्यापक मुनाफाले समयअगावै औद्योगीकरणतर्फ अघि बढायो । निर्यातमा वृद्धि हुँदा घरेलु मुद्राको पनि मूल्यवृद्धि भयो, जसबाट अन्य निर्यात उद्योगको गला घोट्ने र अस्थिर बजारसँग यो क्षेत्रको भाग्यलाई गाँस्ने काम भयो । ल्याटिन अमेरिकाले अनगिन्ती उछाल र सुस्ती सहेको छ । तर, यहाँ स्थानीय अर्थ–व्यवस्था एकतर्फी छन् । औसतमा, यहाँका देशमा निर्यातको ८० प्रतिशत हिस्सा कच्चा पदार्थको निर्यातले ओगट्छ । 

यसपटकको कमोडिटी उछालबाट लाभ लिन ल्याटिन अमेरिकी देशहरूले थुप्रै चिजलाई ठीक बनाउन आवश्यक छ । पहिलो, तिनले यो उछाल साकार हुने कुरा सुनिश्चित गर्न आवश्यक छ । यसलाई अहिले राजनीतिले पछाडि धकेलिरहेको छ । वामपन्थी र पपुलिस्टले शक्ति प्राप्त गरेपछि यस क्षेत्रका धेरै देशले कर बढाउने, खानीलाई राष्ट्रियकरण गर्ने वा विदेशी लगानी बन्द गर्नेजस्ता कानुन पारित गरेका छन् । यो सही र उचितै छ, किनकि सरकारहरू  राजस्व र तिनको प्रतिफल अधिकतम बनाउन चाहन्छन् । विशेषगरी, विगतमा उनीहरू कैयाैँपटक लुटिएका छन् । तर, यदि तिनले धेरै लिन खोजे वा छिनछिनमा मन परिवर्तन गरिरहे भने, तिनका भण्डार चाँडै उपयोगमा आउनेछैनन् । यो आयलाई खानी छेउछाउका समुदायसँग बाँड्नु पनि उत्तिकै महत्वपूर्ण छ । उत्खननले जीविकोपार्जनमा समस्या हुने गरेको स्थानीयवासीको गुनासो रहने गर्छ । 

यस वर्ष विरोध प्रदर्शनले विश्वको आपूर्तिको दुई प्रतिशत हिस्सा ओगट्ने पेरुको एउटा तामाखानीमा महिनौँसम्म काम रोकेको थियो । सरकारबाट अक्सर समुदायहरू बेवास्तामा पर्ने गर्छन् भने खानी कम्पनीहरू  घोटालामा संलग्न हुने र स्थानीय वातावरणलाई बर्बाद गर्ने गरेका छन् । जन गुनासो क मगर्न जबसम्म दुवैले थप कदम चाल्दैनन्, तबसम्म प्रगति अनिश्चित हुनेछ । स्थानीय नेताहरू अक्सर पैसाको पछि लाग्छन्, तर पैसाले सबै कुराको समाधान गर्न सक्दैन ।

सरकारले पनि आफ्नो पैसा बुद्धिमानीपूर्वक खर्च गर्नुपर्छ । उच्च मूल्य प्राप्त भएर आय अप्रत्याशित भएको बखत तिनले अप्ठ्यारा दिनका लागि बचत राख्नुपर्छ जुन उनीहरूले पछि बजेटमा खर्चिन सक्छन् । शून्यबाट अत्याधुनिक ब्याट्री फ्याक्ट्री निर्माण गर्न पैसा बगाउनुको सट्टा यहाँका सरकारले आधारभूत कुरामा लगानी गर्नुपर्छ जसले गर्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार र अनुसन्धानजस्ता क्षेत्रमा नयाँ उद्योग आउन सकून् । विश्व बैंकका अनुसार सन् २०३० सम्ममा ब्राजिलको पूर्वाधार क्षेत्रको वित्त अभाव करिब आठ खर्ब अमेरिकी डलर हाराहारी पुग्ने अनुमान गरिएको छ, जुन वार्षिक जिडिपीको ३.७ प्रतिशत हुनेछ । ल्याटिन अमेरिकासँग स्रोतसम्पदाको पासोबाट बाहिर निस्कने ऐतिहासिक सुअवसर छ । उनीहरूले यौ मौका छोप्नुपर्छ । 

–द इकोनोमिस्ट

ad
ad