१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १ शुक्रबार १२:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगराैँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १ शुक्रबार १२:२३:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन्। उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरुरी भएको बताए।

आज काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा बताएका हुन्। 

सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारीसाधनहरू, विद्युतीय चुलाे आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत् खपत गर्ने उद्योग, कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात् गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायको आपसी समन्वयमा जोड दिएको औँल्याए। 

उनले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बंगलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरूबारे जानकारी दिँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रस्ट पारे। 

उनले खोलानाला बगिरहने, तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न योजनाबद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत् आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताए।

प्रधानमन्त्रीले नेपालमा नदीप्रवाही जलविद्युत् आयोजनाहरूको बाहुल्यले नवीकरणीय, स्वच्छ विद्युतीय ऊर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्न सक्ने बृहत् अवसर रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले यस कार्यमा आफूलाई समेत तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिए। 

उनले आउने पिँढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने ? भन्ने गम्भीर प्रश्न अघि सार्दै हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरुरी रहेको औँल्याए।