१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Saturday, 06 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८o भदौ १ शुक्रबार o७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्थानीय तहको पैसा निक्षेपमा गणना हुन नपाएपछि १२ बैंकले बढाए ब्याजदर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार o७:२७:oo

ब्याजदरमा भद्र सहमति अन्त्य गरेर साउनबाट खुला प्रतिस्पर्धामा गएका बैंकहरूले भदौका लागि ब्याजदर बढाएका छन् । साउनमा केही बैंकहरूले मात्रै ब्याजदर बढाउँदा निक्षेप ती बैंकहरूमा केन्द्रित भएको भन्दै १२ वाणिज्य बैंकहरूले भदौका लागि ब्याजदर बढाएका हुन् । 

साउनमा केही बैंकहरूले ब्याजदर बढाउँदा निक्षेप संकलनमा असन्तुलन भएपछि अधिकांश बैंकहरूले सन्तुलन कायम राख्न ब्याजदर बढाउनुपरेको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए । उनले भने, ‘बैंकहरूको ब्याजदर सन्तुलनमा आउन थालेको मात्रै हो । भद्र सहमति तोडिनेबित्तिकै साउनमा बैंकहरूले के गर्ने–नगर्ने अन्योलबीच केही बैंकले बढाए, अधिकांशले घटाए । अहिले त्यसलाई सन्तुलनमा ल्याउन खोजिएको हो ।’ ब्याजदर सन्तुलनमा ल्याउन साउनमा ब्याजदर घटाउनेले बढाएको र त्यतिवेला बढाउनेहरूले अहिले नबढाएको उनको भनाइ छ । उनका अनुसार खासगरी संस्थागत निक्षेप ब्याजदरका कारण तलमाथि हुने जोखिमलाई कम गर्न खोजिएको हो । 

साउनयता सरकारले विगतमा स्थानीय तहको सञ्चित कोषको मौज्दात रकमलाई ८० प्रतिशतसम्म गणना गर्न दिने व्यवस्था हटाएको छ । यसले केही बैंकहरूलाई कर्जा निक्षेपको अनुपात सन्तुलनमा ल्याउनुपर्ने दबाब परेकाले पनि ब्याजदर बढाउनुपरेको उनको भनाइ छ ।  

कर्जाको मागसमेत नभएको अवस्थामा ब्याजदर बढाउनुको औचित्य नरहने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट केन्द्रीय बैंकको परिधिभित्र रहेर बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गर्न पाउने बताए । तर, अस्वस्थ प्रतिस्पर्धा गरेको खण्डमा नियामकले आवश्यक कदम चाल्ने उनले बताए । 

उनले भने, ‘राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको संरक्षण होस् भन्ने उद्देश्यले स्प्रेडदर तोकेको छ । ब्याजदर स्थायित्व राख्नका लागि अन्य व्यवस्था पनि तोकेको छ । हामीले तोकेको परिधिभन्दा बाहिर गएर ब्याजदर निर्धारण गर्ने छुट कुनै बैंकलाई छैन ।’ 

१२ बैंकले बढाए व्यक्तिगत मुद्दतीको ब्याज
२० वाणिज्य बैंकमध्ये १२ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । अब भदौमा सातवटा वाणिज्य बैंकको ब्याजदर एउटै हुने देखिएको छ । नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र सिटिजन्स बैंकको ब्याजदर एउटै भएको हो । उनीहरूले व्यक्तिगत मुद्दतीमा १०.८९ प्रतिशत र संस्थागत मुद्दतीमा ८.८९ प्रतिशत ब्याजदर पुर्‍याएका हुन् । 

त्यसबाहेक अन्य सातवटा बैंकहरूको पनि ब्याजदर एकनासको देखिन्छ । सिद्धार्थ, नेपाल एसबिआई, हिमालयन, नेपाल इनभेष्टमेन्ट मेगा, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकको व्यक्तिगत मुद्दतीमा ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । 

संस्थागततर्फ ब्याजदर बढाउनेमा पनि १२ वटै बैंक छन् । यसमा नेपाल बैंक, कृषि विकास, सानिमा, कुमारी, एनआइसी एसिया, ग्लोबल आइएमई, सिटिजन्स, प्रभु, एभरेष्ट, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंक छन् । संस्थागत मुद्दतीमा माछापुच्छ्रेबाहेक अन्य ६ वटा बैंकहरूको ब्याजदर ७.९९ प्रतिशत छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीमा ८.९२ प्रतिशत र संस्थागत मुद्दतीमा ६.९२ प्रतिशत ब्याजदर दिने भएको छ । 

सबैभन्दा बढी दरमा ब्याजदर वृद्धि गर्नेमा नेपाल बैंक छ । नेपाल बैंकले व्यक्तिगततर्फ २१.२ प्रतिशत र संस्थागततर्फ २७.२६ प्रतिशतले ब्याजदर बढाएको छ । 

नेपाल एसबिआई, हिमालयन, नेपाल इनभेष्टमेन्ट मेगा र नबिलले साउनकै व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ ब्याजदरलाई यथावत् राखेका छन् । संस्थागततर्फ भने लक्ष्मी सन्राइज र एनएमबिले पनि ब्याजदरलाई यथावत् राखेको छ । 
 

ad
ad
ad
ad