१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Saturday, 29 June, 2024
नवीन गुरुङ संखुवासभा
२o८o श्रावण ३० मंगलबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

कारागार कैदी मृत्यु प्रकरण : सुरक्षा इन्चार्ज पक्राउ, कारागार प्रमुख फरार

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार o८:१६:oo

जिल्ला कारागार संखुवासभामा मृत्यु भएका दुई कैदीको शव ६ दिनपछि सोमबार आफन्तले बुझेका छन् । फरार रहेका कारागार प्रमुख राजेन्द्र घिमिरेविरुद्ध पक्राउपुर्जी र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेपछि आफन्तले शव बुझेका हुन् । उनीहरूले सोमबार नै मादी नगरपालिकाको राममन्दिरनजिकैको खोलामा विनोद तोलांगीको अन्त्येष्टि गरेका छन् । नुवाकोटका आकाश बलामीको खाँदबारी– ९ स्थित मनकामनामा अन्त्येष्टि गरिएको छ । 

कारागार प्रमुख घिमिरे र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक चौधरीविरुद्ध शनिबार किटानी जाहेरी दर्ता गरिएको थियो । उनलाई जिल्ला अदालतबाट आइतबार पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

जिल्ला कारागारभित्र सजाय भुक्तान गरिरहेका दुई कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको कोसी प्रदेशबाट खटिएका एसपी ऋषिराम कँडेल नेतृत्वको अनुसन्धान टोलीले पत्ता लगाएको थियो । तर, प्रहरीले कारागारभित्र रहेको सिसिक्यामेराको फुटेज अनुसन्धानकै चरणमा रहेको भन्दै सार्वजनिक गरेको छैन । प्रहरीले कारागार सुरक्षामा रहेका इन्चार्ज चौधरीसहित १० प्रहरी, पाँचजना कैदीबन्दीमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ । 

कारागारभित्र शंकास्पद मृत्यु घटनाको गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानव अधिकार आयोगको टोली, कोसी प्रदेश प्रहरीको टोली र संखुवासभा सहायक प्रजिअ मोहनमणि घिमिरे नेतृत्वको टोलीले अनुसन्धान र छानबिन गरिरहेको छ । सबैले १० दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । गत २४ साउनमा जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका– ७ का आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो । 

कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख घिमिरेविरुद्ध किटानी जाहेरी परेपछि संखुवासभाका चारजना कर्मचारी संगठनले ध्यानाकर्षण भएको जनाएका छन् । घटनाको समयमा कार्यालयमा नरहेका घिमिरेविरुद्ध किटानी जाहेरी दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले जनाएका हुन् । घटनामा प्रत्यक्ष संलग्न नरहेको कर्मचारीविरुद्ध किटानी जाहेरी दिँदा वास्तविक दोषी उम्कन सक्ने र निर्दाेष व्यक्ति फस्ने सम्भावना रहने विज्ञप्तिमा भनिएको छ । 

ad
ad
ad
ad