प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिए। साथै, उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याए।
उनले भने, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौँ र नवौँ आश्चर्य भन्नुपर्छ यसलाई ? यो ठूलो आश्चर्यको विषय हो। त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो । जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अप्ठ्याराे लाग्नुपर्ने होइन?’