मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Friday, 20 December, 2024
मञ्जु टेलर काठमाडाैं
२o८o श्रावण २८ आइतबार o८:३३:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्पदंशबाट बर्सेनि करिब तीन हजारले गुमाउँछन् ज्यान

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार o८:३३:oo

अध्ययनअनुसार प्रभावितमध्ये ४८.८ प्रतिशतलाई विषालु सर्पले टोकेको र ७.८ प्रतिशतको तत्काल मृत्यु हुने गरेको छ

नेपालमा बर्सेनि सर्पदंशबाट तीन हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । सर्पदंशबाट बर्सेनि ४० हजारभन्दा बढी प्रभावित हुने र तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । ‘नेसनल लाइब्रेरी अफ मेडिसिन’ले गत ३१ डिसेम्बरमा प्रकाशित गरेको अध्ययनले सन् २०२२ मा मात्रै ३७ हजार ६ सय ६१ जनालाई सर्पले टोकेको उल्लेख गरेको छ । सर्पको टोकाइबाट हुने मृत्युका सबै घटना प्रहरीसँग पुग्दैन । त्यसैले वास्तविक मृत्युको संख्या अझै धेरै हुने अनुमान छ । 

तराईका अति प्रभावित जिल्लाहरूलाई केन्द्रित गरेर गरिएको अध्ययनले सर्पदंशबाट प्रभावितमध्ये ४८.८ प्रतिशतलाई विषालु सर्पले टोकेको र ७.८ प्रतिशतको तत्काल मृत्यु भएको पाइएको थियो । अध्ययनले प्रतिएक लाखमा बर्सेनि २६२ जना अर्थात् देशभर २६ हजार ७४९ देखि ३७ हजार ६६१ जनालाई सर्पले टोक्ने गरेको देखाएको हो । तीमध्ये बर्सेनि २३ सयदेखि ३२ सयसम्म मान्छेको मृत्यु हुने गरेको छ । अध्ययनले अति प्रभावित जिल्लाहरू समेटे पनि अन्य पहाडी र हिमाली जिल्लामा समेत सर्पको टोकाइबाट मृत्यु भइरहेका कारण बर्सेनि ४० हजारको हाराहारीमा सर्पदंशबाट प्रभावित भइरहेको आकलन गरिएको हो ।

सर्पले टोकेको एक घन्टाभित्र उपचार सुरु गर्नुपर्ने भए पनि अस्पतालसम्म नपुग्दा बर्सेनि हजारौँको संख्यामा ज्यान जाने गरेको चिकित्सकहरूको भनाइ छ । गोमन, करेतजस्ता विषालु सर्पले टोकेर तत्काल उपचार गर्नुपर्नेसमेत बर्सेनि नौ सयभन्दा बढी बिरामी अस्पताल पुग्ने गरेका छन् । 

विभिन्न अध्ययन र सर्वेक्षणले नेपालमा सर्पदंशको जोखिम उच्च रहेको देखाए पनि बर्सेनि सर्पको टोकाइबाट हुने प्रभावित र मृत्युको यकिन तथ्यांक भने उपलब्ध छैन । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पतालसम्म पुग्ने प्रभावितको तथ्यांक संकलन गर्ने गरे पनि अस्पतालसम्म निकै कम संख्यामा पुग्ने र स्वास्थ्य संस्थाहरूले मृत्युको कारण सर्पदंश नखुलाउने भएकाले तथ्यांक नभएको डा. रोशिका श्रेष्ठको भनाइ छ । ‘हामीले सर्पदंश उपचार केन्द्रबाट तथ्यांक लिने गरेका छौँ । तर, गम्भीर बिरामीलाई थप उपचारका लागि अन्यन्त्र रिफर गरिने भएकाले मृत्युको रिपोर्ट हामीसँग हुँदैन,’ उनले भनिन् ।

इडिसिडीले अस्पतालसम्म पुग्ने बिरामी र विषालु सर्पले टोकेर तत्काल उपचार गर्नुपर्ने प्रभावितको मात्रै तथ्यांक संकलन गर्ने गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार विषालु सर्पले टोकेर अस्पताल पुग्नेको संख्या बर्सेनि नौ सयको हाराहारीमा हुने गरेको छ । गत वर्ष नौ हजार ३४६ जना सर्पको टोकाइबाट प्रभावित हुँदा अस्पताल भर्ना गर्नुपर्ने बिरामी ९२६ जना रहेको तथ्यांकमा उल्लेख छ । आव ०७७/७८ मा सात हजार ९०२ जनालाई सर्पले टोक्दा ९६७, आव ०७६/७७ मा पाँच हजार ८१ जनालाई सर्पले टोक्दा ८७८, आव ०७५/७६ मा चार हजार पाँच सय ६७ जना प्रभावित हुँदा ६९६ जना अस्पताल भर्ना भएका थिए ।

सर्पदंशबारे लामो समयदेखि अध्ययन गरिरहेका मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले देशभर ४० हजारभन्दा बढी प्रभावित हुने भए पनि अस्पतालसम्म निकै कम संख्यामा बिरामी पुग्ने भएकाले यकिन तथ्यांक नभएको बताउँछन् । ‘असारदेखि भदौ, असोजसम्म तराईलगायत पहाड र छिटफुट घटना हिमाली जिल्लामा पनि हुने गरेका छन् । समयमा उपचार नपाउँदा हजारौँको ज्यान गइरहेको छ । तर, यसको उपचारलाई सरकारले प्राथमिकतामा राखेको छैन । जसकारण ग्रामीण भेगमा बसोवास गर्ने र विपन्न बढी प्रभावित भइरहेका छन्,’ उनले भने । तराईका जिल्लामा सर्पदंशको उपचारमा जनचेतना नहुनुले झन् बढी प्रभावित भइरहेको उनको भनाइ छ । ‘सर्पले टोकेमा अस्पतालको साटो पहिले धामीझाँक्रीकहाँ जान्छन् । त्यसमा पनि बिरामीको अवस्था गम्भीर भइसकेपछि लाने गरिएको छ । सर्पदंशको जोखिम गाउँमा हुने, तर अधिकांश उपचार केन्द्र सहरकेन्द्रित हुनुले समेत सर्पदंशबाट मृत्युदर उच्च रहेको देखिन्छ,’ मण्डलले भने ।

नेपालमा सर्पदंशविरुद्ध प्रयोग भइरहेको ‘पोलिभेलेन्ट एन्टिभेनम’ औषधिले सबै सर्पको विषविरुद्ध काम गर्दैन । गोमन, करेत, भागे र सस्पेल भाइपर गरी चारवटा सर्पको विषविरुद्ध औषधि निर्माण गरिएको छ । तर पनि तीनवटा र विशेष गरी गोमन सर्पविरुद्ध मात्रै प्रभावकारी रहेको पाइएको हो । जसमध्ये भागे सर्पले टोकेका केसहरू चितवन र नवलपरासीबाहेक एकदमै न्यून पाइने भएकाले औषधि प्रयोग निकै न्यून हुने र सस्पेल प्रजातिको सर्प नेपालमा नपाइने भएकाले गोमन र करेतको विषको प्रभाव घटाउन मात्रै प्रयोगमा आइरहेको छ । 

पहाडी क्षेत्रमा पाइने पिट भाइपर अर्थात् हरियो सर्प, गुरुबे सर्पको विषको प्रभाव ‘पोलिभेलेन्ट एन्टिभेनम’ औषधिले काम गर्दैन । यी सर्पको विषको प्रभाव तुलनात्मक रूपमा कम हुने भएकाले तत्काल मानिसको मृत्यु हुने घटनासमेत न्यून हुने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंश रोग विशेषज्ञ डा. सञ्जीव शर्माले बताए । ‘पिट भाइपर प्रजातिअन्तर्गतका सर्पको टोकाइबाट रगत पातलो हुने, टोकेको ठाउँ सुन्निने लक्षण मात्र देखिने भएकाले ढिला उपचार गर्दासमेत बढी जोखिम हुँदैन । यी सर्पको टोकाइबाट घाइते भएका बिरामीमा ‘पोलिभेलेन्ट एन्टिभेनम’ले काम गर्दैन,’ उनले भने ।

पाँच वर्षमा मधेसमा मात्र पाँच सय ४१ जनाको मृत्यु 
नेपाल प्रहरीको तथ्यांकअनुसार सर्पको टोकाइबाट मृत्यु हुने दर मधेस प्रदेशमा धेरै छ । पछिल्लो पाँच वर्षमा मधेसमा पाँच सय ४१ जनाले ज्यान गुमाएका छन् । सर्पको टोकाइबाट हुने मृत्युका सबै घटना प्रहरीसँग पुग्दैन । त्यसकारण यसको संख्या अझ धेरै हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षमा दुई सय चार र लुम्बिनीमा एक सय ७० जनाले सर्पदंशबाट ज्यान गुमाएका छन् । लुम्बिनीमा सबैभन्दा धेरै दाङ र कपिलवस्तुमा मृत्यु भएको छ । कर्णालीमा यो आर्थिक वर्षमा दुईजनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरी तथ्यांक छ । विगतका वर्षमा कर्णाली प्रदेशमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या प्रहरीसँग छैन । गण्डकी प्रदेशमा पाँच वर्षमा आठजना र कोसी प्रदेशमा पाँचजनाले ज्यान गुमाएको विवरण प्रहरीसँग छ । 

३० जिल्लामा सय सर्पदंश उपचार केन्द्र 
नेपालमा हाल एक सय स्वास्थ्य संस्थामा सर्पदंश उपचार केन्द्र सञ्चालित छन् । जसमध्ये कोसी प्रदेशको झापामा सात, मोरङमा चार, सुनसरीमा तीन र उदयपुरमा सातवटा गरी २१ वटा सर्पदंश उपचार केन्द्र छन् । मधेस प्रदेशको सप्तरीमा दुई, सिराहामा तीन, बारामा तीन, धनुषामा दुई, महोत्तरीमा चार, सर्लाहीमा सात, रौतहट र पर्सामा दुई–दुई २५ वटा सर्पदंश उपचार केन्द्र छन् । बागमतीको सिन्धुलीमा सात, काठमाडौंमा पाँच, ललितपुर र चितवनमा एक–एक गरी १४ वटा सर्पदंश उपचार केन्द्र छन् । गण्डकी प्रदेशको कास्कीमा एउटा मात्रै सर्पदंश उपचार केन्द्र छ । हाल गण्डकी प्रादेशिक अस्पतालले मात्र सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशको बाँके र पाल्पामा एक–एक, बाँके र रुपन्देहीमा दुई–दुई, दाङमा पाँच, कपिलवस्तुमा तीन र नवलपरासीमा सात गरी २१ वटा सर्पदंशको उपचार केन्द्र छन् । कर्णालीको सुर्खेतमा रहेको मध्यपश्चिम प्रादेशिक अस्पतालले मात्रै सर्पको टोकाइबाट प्रभावितहरूको उपचार गरिरहेको छ । सुदूरपश्चिमको कञ्चनपुरमा आठ, कैलालीमा चार, बाजुरा, अछाम र डडेल्धुरामा एक–एक र डोटीमा दुई गरी १७ वटा सर्पदंशको उपचार केन्द्र छन् । 

विषालु सर्पले टोकेका २० प्रतिशत बिरामी पुग्छन् अस्पताल
विषालु सर्पको टोकाइबाट झन्डै ८० प्रतिशतभन्दा बढीको मृत्यु तत्काल हुने भएकाले अस्पताल पुग्ने बिरामीको संख्या २० प्रतिशतभन्दा पनि न्यून भएको अध्ययनले देखाएको छ । विशेषगरी, ग्रामीण क्षेत्रमा सर्पको टोकाइबाट बढी प्रभावित हुने र स्वास्थ्य संस्था नजिक नहुँदा समयमै उपचारबाट वञ्चित रहने भएकाले समेत मृत्युदर उच्च रहेको अध्ययनमा उल्लेख छ । सर्पको टोकाइ र यसको उपचारमा पहुँचबारे अध्ययन गरिरहेका डा. शर्मा भन्छन्, ‘अस्पतालसम्म पुगेका २० प्रतिशतमध्ये पनि प्रतिएक सयजनामा झन्डै ५८ जनासम्म मृत्यु हुने गरेको छ । सर्पको टोकाइबाट हुने केसहरू ग्रामीण भेगमा बढी हुन्छन्, जहाँ नजिक सर्पदंश उपचार केन्द्र हुँदैन । विषालु सर्पले टोक्दा ८० प्रतिशत बिरामीको मृत्यु अस्पताल नपुर्‍याइकनै हुन्छ । कतिपय अवस्थामा रातको समयमा सर्पले टोकेका केसमा मानिसको मृत्यु भएकोसमेत थाहा हुँदैन ।’

नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । यी सर्पको टोकाइबाट मानव शरीरमा पर्ने असरको आधारमा चिकित्सकले विषलाई चार वर्गमा विभाजन गरी उपचार गर्ने गर्छन् । पहिलो वर्गअन्तर्गतको विष अर्थात् साइटोटक्सिनले स्थानीय तन्तुमा क्षति पुर्‍याउँछ । यस्तै, हिमोटक्सिनले आन्तरिक रक्तस्राव गराउँछ, न्युरोटक्सिनले स्नायुलाई क्षतिग्रस्त बनाउँछ भने कार्डियोटक्सिनले सीधा मुटुमा असर पार्नुका साथै शरीरमा आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार करिब ६ सय प्रजातिका सर्प विषालु हुने र त्यस्ता सर्पको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ ।

सर्पदंशको प्राथमिक उपचार छैन, एक घन्टाभित्र अस्पताल पुर्‍याइसक्नुपर्छ : डा. सञ्जीव शर्मा, सर्पदंश रोग विशेषज्ञ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
सर्पदंशको उपचारका लागि प्रयोगमा ल्याइने परम्परागत प्राथमिक उपचार विधि जोखिमपूर्ण छन् । डोरीले बाँध्ने, घाउ चुस्ने अर्थात् टोकेको ठाउँमा काटेर रगत बग्न दिनेजस्ता परम्परागत विधिले विषको प्रभाव घटाउँदैन ।

बिरामी समयमै अस्पताल पुर्‍याउन ढिलाइ हुने भएकाले ज्यान जाने जोखिम बढी हुन्छ । सामान्यतया, सर्पको विष शरीरमा फैलिँदा श्वासप्रश्वासमा समस्या देखिएर मानिसको मृत्यु हुन्छ ।

बिरामीलाई क्रिटिकल केयर अर्थात् भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यसको कुनै प्राथमिक उपचार छैन, जति छिटो अस्पतालसम्म पुर्‍याउन सकियो, जोखिम त्यति नै कम हुन्छ ।