मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
२o८१ पौष ५ शुक्रबार १६:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १६:३८:oo

तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सर्वसाधारणलाई सहज भएको छ । राष्ट्रिय परिचयपत्र लिनका लागि दमौली पुग्नुपर्ने बाध्यता रहेकामा स्थानीय तहबाटै प्राप्त गर्ने अवसर मिलेसँगै सर्वसाधारणलाई सजिलो भएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए ।

जिल्लाका आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण भइरहेको भण्डारीले बताए ।

जिल्लाका व्यास नगरपालिका र भानु नगरपालिकामा भने राष्ट्रिय परिचयपत्र वितरणको काम बाँकी छ । विगत केही वर्ष पहिलादेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरी प्रशासनमा परिचयपत्र आएर बसेकालाई पालिकाबाटै परिचयपत्र प्राप्त गर्ने व्यवस्था मिलाइएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।

उनले भने, ‘कार्यालयमा ६० हजारभन्दा बढी परिचयपत्र आएर बसेका थिए, परिचयपत्र सम्बन्धित पालिकामै लगेर वितरण गर्ने काम भइरहेको छ, यसले गर्दा सर्वसाधारणलाई दमौलीसम्म आउनुपरेन ।’ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यसहित सम्बन्धित पालिकाबाटै परिचयपत्र लिने व्यवस्था मिलाइएको बताए ।

उनले भने, ‘परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको हो, पञ्जीकरण विभागबाट सहयोग पायौँ, कर्मचारीलाई पालिकामै खटाएर परिचयपत्र वितरण गरिएको छ ।’ घरदैलोमै गएर सेवा दिन सकिए जनताको मन जित्न सकिने प्रजिअ थापाको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाबाटै परिचयपत्र वितरण गरिँदा सर्वसाधारणलाई सहज भएको बताए  । उनका अनुसार बन्दीपुरका ६ वटै वडामा पुगेर राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम गरिएको थियो ।

बन्दीपुरका स्थानीय आनन्द गुरुङले परिचयपत्र लिनका लागि एक दिनको समय छुट्याएर दमौली जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले भने, ‘पालिकाबाटै परिचयपत्र पाउँदा समयको पनि बचत भयो ।’