१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Wednesday, 26 June, 2024
अजित अधिकारी काठमाडौं
२o८o श्रावण २८ आइतबार १o:o५:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयल निगम व्यवस्थापनको संरक्षणमै पोखरा डिपो प्रमुखद्वारा इन्धन अपचलन

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १o:o५:oo

नेपाल आयल निगमको उच्च व्यवस्थापनले गण्डकी प्रादेशिक कार्यालय, पोखरामा इन्धन चुहावट दर बढ्दै गएको जानकारी पाए पनि बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासको मनोबल बढेको थियो । यसले उनलाई इन्धन अपचलनमा निरन्तर क्रियाशील बनाएको खुलेको छ । उनले एउटै ट्यांकरबाट तीन हजार दुई सय लिटर डिजेल अपचलन गर्ने नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ ।

निगमको केन्द्रीय कार्यालयस्थित आपूर्ति तथा वितरण विभागले सबै डिपोमा इन्धन चुहावटको लक्ष्य निर्धारण गर्ने गरेको छ । भण्डारण वा ढुवानीका क्रममा तापक्रम वा अन्य कारणले इन्धन चुहावट हुने विश्वव्यापी मान्यताका कारण निगमले पनि देशभरका डिपोलाई निश्चित प्रतिशतले इन्धन नोक्सानी हुने लक्ष्य किटान गरेको हुन्छ । पोखरा डिपोका लागि आयल निगमले पेट्रोलमा ०.८५ प्रतिशत र डिजेलमा ०.५० प्रतिशत नोक्सानी लक्ष्य निर्धारण गरेको छ ।

पोखरा तुलनात्मक रूपमा चिसो ठाउँ भएकाले विगतका वर्षमा लक्ष्यभन्दा करिब आधा मात्रै इन्धन नोक्सानी हुने गरेको थियो । आव ०७८/७९ को असारमा पोखरा डिपोको नोक्सानी दर पेट्रोलमा ०.६५ प्रतिशत र डिजेलमा ०.१९ प्रतिशतमा सीमित थियो । तर, गत असोजमा निगम व्यवस्थापन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई रिझाएर दास पोखरा डिपो पुगेपछि नोक्सानी हुने इन्धनको दर बढ्दै गएको थियो । दासको कार्यकाल लम्बिदै जाँदा प्रत्येक महिना इन्धन चुहावट हुने दर बढ्दै गएको थियो । यस्तो वेला दासलाई फिर्ता बोलाई योग्य कर्मचारी खटाउनुपर्नेमा केन्द्रीय कार्यालयले गत फागुनमा पोखरा डिपोको अपरेसन र ह्यान्डलिङ नियमनका लागि भन्दै केन्द्रीय कार्यालयबाट ६ तहका उपेन्द्र सुवेदी र नौ तहका अभिषेक ठाकुरलाई पठाएको थियो । उनीहरूले एक हप्तासम्म पोखरा डिपो बसेर लकिङ, फिटिङलगायतका विषयमा नियमन र निर्देशन दिएर फर्केका थिए ।

कारबाही खेप्नुपर्ने डिपो प्रमुख दासको संरक्षण गर्न निगम केन्द्रीय कार्यालयले जनशक्ति नै परिचालन गरेका थिए । त्यसकै फाइदा उठाउँदै दासले ट्यांकरमा नियमित बिलिङ गरेभन्दा बढी तेल हालेर पठाउने र व्यक्तिगत लाभ लिने गरेको पोखरा डिपोस्थित कर्मचारीहरू बताउँछन् ।

दासले बिल काटेभन्दा बढी तेल पेट्रोलपम्पहरूलाई वितरण गर्ने गरेकै कारण अघिल्लो वर्षको तुलनामा गत असारको नोक्सानी दर दोब्बरले बढेको छ । असारमा पेट्रोल ०.८३ प्रतिशत र डिजेल ०.४० प्रतिशत नोक्सानी भएको थियो । यो दर तोकिएको लक्ष्य भित्रै भए पनि अस्वाभाविक चुहावट हो । किनभने डिजेल निगमको अमलेखगन्जस्थित डिपोसम्म पाइपलाइनबाट आउने र त्यहाँबाट तुलनात्मक रूपमा चिसो ठाउँ पोखरामा जाने हुँदा नोक्सानी नभई बढ्नुपर्ने हुन्छ । पेट्रोलियम पदार्थमा चिसोमा खुम्चिने र तातोमा फैलिने स्वभाव हुन्छ ।

शुक्रबारबाट निलम्बनमा परेका दासलाई नियमन गर्दैगर्दा कमजोरी भएको निगमको केन्द्रीय कार्यालयस्थित आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बरालले स्वीकार गरे । ‘तोकिएको लक्ष्यभित्रै चुहावट दर कायम भएकाले बिस्तारै सुधार होला भन्ने भयो, तर यति ठूलो अपराध भएको रहेछ’ बरालले भने, ‘डिपो प्रमुखले गरेको गल्तीको नैतिक जिम्मेवारी लिन्छु र आउँदा दिनमा यस्ता घटना कुनै पनि डिपोमा हुन नदिन उच्च सतर्कता अपनाउन सबैतिर निर्देशन पनि जारी गरेको छु ।’

०७२ यता बराल पटक–पटक गरेर लामो समयदेखि आपूर्ती तथा वितरण विभाग निर्देशकको रूपमा कार्यरत छन् । नयाँ कार्यकारी प्रमुख आउनासाथ उनी रोजाइमा परेर वितरण विभाग प्रमुख हुने गरेका छन् । निगमले डिपोमा भएको इन्धन अपचलनबारे अध्ययन गर्न उपनिर्देशक नकुल भण्डारी, प्रबन्धक पुष्कर कार्कीलगायत सम्मिलित छानबिन समिति बनाएको छ । सो समितिले आइतबारबाट काम सुरु गर्ने निगमको भनाइ छ ।

डिपो प्रमुख हेरफेरको सम्भावना
आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी तेल चोरी र चुहावटका घटनामा कारबाही गर्न निर्मम हुँदै आएका छन् । उनले घटना सार्वजनिक हुनासाथ शुक्रबार साँझ पोखरा डिपो प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरेका थिए । उनले हतारमा यस्तो निर्णय लिएको भन्दै उच्च व्यवस्थापनमा रहेका केही कर्मचारीले असन्तुष्टि पोखेका छन् ।

व्यवस्थापनमा रहेका केही कर्मचारीको असन्तुष्टिका बाबजुद कार्यकारी निर्देशक थानीले आइतबार दिउँसोसम्म पोखरा डिपोमा नयाँ र दक्ष कर्मचारीलाई पठाउने योजना बनाएका छन् । त्यस्तै, सिनामंगल डिपोमा समेत चुहावट दर बढ्दै गएपछि त्यहाँ कार्यरत प्रबन्धक मनोज ढकाललाई फिर्ता बोलाउने तयारीमा कार्यकारी निर्देशक थानी छन् । दुवै ठाउँमा नयाँ डिपो प्रमुख पठाउने विषयमा बजार व्यवस्था विभाग हेर्ने नायब प्रबन्ध निर्देशक वीरेन्द्र गोइतले पनि साथ दिएका छन् ।

गोइतले निगमको प्रतिष्ठामा थप आँच आउन नदिन पोखरा र सिनामंगल डिपोमा नयाँ प्रमुख पठाउनैपर्नेमा जोड दिएको स्रोतको भनाइ छ । ‘गोइत सरले पोखरामा नयाँ कर्मचारी पठाउन ढिलाइ भए कार्यालय नै नआउनेसम्मको कुरा गर्नुभएको छ,’ एक कर्मचारीले भने, ‘सिनामंगलको पनि चुहावट बढेको र त्यहाँ कार्यरत कर्मचारीले डिपो प्रमुख ढकालका बारेमा उजुरी गरिसकेका छन् । त्यसैले त्यहाँ पनि कुन दिन घटना घट्छ भनेर पर्खिनुको सट्टा नयाँ प्रमुख पठाउनुपर्छ भन्ने कुरामा गोइत सरले जोड दिनुभएको छ ।’

तर, निगमको उच्च व्यवस्थापनमा रहेका केही कर्मचारी भने कार्यकारी निर्देशक थानीलाई रोक्ने योजनामा छन् । कार्यकारी निर्देशक थानीले शनिबार नै केही डिपोमा नयाँ र दक्ष कर्मचारी पठाउने गरी निर्णय गर्न चाहेका थिए । तर, उच्च व्यवस्थापनमा रहेका ‘स्वार्थी कर्मचारी’का कारण रोकिएको स्रोतको भनाइ छ । कार्यकारी निर्देशक थानीले भने संस्थाको आवश्यकताअनुसार उचित निर्णय लिने भन्दै छोटो प्रतिक्रिया दिए ।
 

ad
ad
ad
ad