मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Wednesday, 18 December, 2024
झलनाथ खनाल
२o८o श्रावण २६ शुक्रबार o८:o७:oo
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के हो पुँजीवादी लोकतन्त्रको अन्तिम गन्तव्य ?

अहिलेसम्म सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुइटा ऐतिहासिक लक्ष्य प्राप्त भइसकेको छ

Read Time : > 8 मिनेट
झलनाथ खनाल
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार o८:o७:oo

अहिलेसम्मको संघर्ष र रूपान्तरणको क्रममा सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुइटा लक्ष्यलाई हामीले सफलतापूर्वक पूरा गरेका छौँ । जहाँसम्म साम्राज्यवाद, प्रभुत्ववाद, उपनिवेशवादबाट नेपाल राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने सवाल छ, त्यसनिम्ति संघर्ष जारी छ । जनवादी क्रान्तिकालमा हामी मुलुकलाई अर्ध–उपनिवेश भनेर विश्लेषण गथ्र्यौं । अहिले हामी स्वतन्त्र, सार्वभौम र क्षेत्रीय अखण्डताले युक्त मुलुक भन्छौँ । तर, साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादविरुद्धको संघर्ष जारी छ र जारी राख्नुपर्छ ।

उनीहरू अहिले पनि नेपालमा राजनीतिक रूपले हस्तक्षेप गर्ने, नेपालमा आफ्ना लबी तयार पार्ने, ती लबीमार्फत सरकारलाई आफ्नो हितअनुरूप चल्न दबाब दिने र सूक्ष्म व्यवस्थापन गर्ने प्रयत्न गरिरहेका छन् । त्यसरी नै आर्थिक रूपले पनि नेपाललाई सहयोग गरेको देखाउने, हतियार दिने, तिनका पार्टपुर्जा आफूसँग किन्न बाध्य पार्ने काम गर्दै नेपालको सेनालाई समेत आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने प्रयत्न गरिरहेका छन् । ती एसपिपी र एमसिसीजस्ता सम्झौताहरू गराउने र नेपाली सेनालाई इन्डो–प्यासिफिक कमान्डको मातहत पुर्‍याउने प्रयत्नमा समेत लागिरहेका छन् । त्यसरी नै आर्थिक रूपले पनि व्यापक घुसपैठ गरिरहेका छन् । 

उनीहरू नेपाललाई सहयोग गरेको नाउँमा आफ्ना लबीहरूलाई बलियो बनाउने काम गरिरहेका छन् । हामी देखिरहेका छाैँ, उनीहरू नागरिक समाजलाई सुदृढ गर्ने, मानवअधिकारलाई सुदृढ गर्ने र मिडियालाई बलियो बनाउने नाउँमा करोडौँ र अर्बाैँ रुपैयाँ यी क्षेत्रका आफ्ना दलाललाई पोषण गर्ने काममा खर्च गरिरहेका छन् र तीमार्फत नेपालमा कम्युनिस्टविरोधी प्रचार गर्ने र चीनविरोधी तत्वलाई उकास्ने काम पनि गरिरहेका छन् । त्यसरी सिर्जना गरिएका दलालमार्फत उनीहरूले कहिले ‘चीनले नेपालको सिमानामा अतिक्रमण गर्‍यो’ भन्ने र कहिले ‘चीनमा मुस्लिमहरूलाई दमन गरिएको छ’ भनेर नेपालमा दुई–चारजना जम्मा गरेर चीनविरोधी प्रदर्शन गर्ने काम पनि गर्दै आएका छन् । यसरी उनीहरू नेपाल र चीनबीच असमझदारी बढाउन र त्यसबाट फाइदा उठाउने आफ्ना कलुषित उद्देश्य पूरा गर्न खोज्छन् ।

त्यति मात्र होइन, साम्राज्यवादी र प्रभुत्ववादीहरू नेपालमा सांस्कृतिक अतिक्रमण पनि गरिरहेका छन् । एकातिर पश्चिमा साम्राज्यवादी नेपालमा क्रिस्चियनिजमलाई फैलाउन टाउको टेकेर लागेका छन् । केही समयअघि अमेरिकाको विदेश मन्त्रालयले एउटा ‘धार्मिक स्वतन्त्रता’सम्बन्धी प्रतिवेदन प्रकाशित गरेर ‘नेपालमा क्रिस्चियनहरूलाई भेदभाव गरेको’ आरोप लगाउँदै नेपालमा धार्मिक द्वन्द्व चर्काउने प्रयास गर्न पुग्यो । त्यसरी नै छिमेकी देशका कथित हिन्दूवादीहरू ‘नेपाललाई हिन्दूराज्य बनाउने’ घोर आपत्तिजनक नारा उराल्दै उनीहरूका नेपाली गुमास्ताहरूलाई विभिन्न ढंगले प्रयोग गरिरहेका छन् । 

०४६ सालको परिवर्तनपछि दलाल नोकरशाही पुँजीवादको प्रभाव निकै ठूलो मात्रामा विस्तार भयो । त्यसले अर्थतन्त्रका विभिन्न क्षेत्र, व्यापारिक क्षेत्र र प्रशासनलाई व्यापक रूपले आफ्नो प्रभावमा पार्दै लग्यो । यो समयमा राष्ट्रिय पुँजीको पनि एक हदसम्म विकास हुँदै गयो । 

स्वाभाविक रूपले हामीले जनवादी क्रान्तिका कालदेखि नै सामाज्यवादी र प्रभुत्ववादी शक्तिले नेपालविरुद्ध सुरु गरेको राजनीतिक, आर्थिक, सैनिक, सांस्कृतिक र अन्य सबै हस्तक्षेप, दबाब र नियन्त्रणविरुद्धको संघर्षलाई दृढतापूर्वक जारी राख्नुपर्छ । उनीहरूले गरिरहेका नयाँ–नयाँ हर्कतको विरोध र भण्डाफोर गर्नुपर्छ । नेपाली जनताको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको संघर्षलाई हरमूल्यमा जारी राख्नुपर्छ । जबसम्म यस्ता हर्कत अन्त्य हुँदैनन्, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ ।

त्यसरी नै हामीले नयाँ जनवादी क्रान्तिको थालनीदेखि नै दलाल नोकरशाही पुँजीवादविरुद्ध पनि निरन्तर संघर्ष गर्दै आएका छौँ । त्यसले नै नेपाली समाजमा राष्ट्रिय पुँजीवादको विकास र विस्तारलाई सुरुदेखि रोक्ने र अवरोध खडा गर्ने कार्य गर्दै आएको छ । जब मुलुक एकीकृत भयो, त्यसवेलादेखि नै नेपाली समाजमा राष्ट्रिय पुँजीवादको विकास अर्थात् राष्ट्रिय उद्योगधन्दाको विकासका आधार तयार भएका थिए र त्यसका अंकुरण पलाइरहेका थिए । तर, सामन्तवादका साथसाथै उपनिवेशवादसमेतको बोझ र बाधा थपिएकाले राष्ट्रिय पुँजीवादको विकास लामो समय हुन पाएन ।

आखिर दोस्रो विश्वयुद्धको पूर्वघडीतिर आएर मात्र नेपालमा दलाल–नोकरशाही पुँजीपतिहरूको नेतृत्वमा आधुनिक उद्योगधन्दाहरूको विकासको सामान्य थालनी भयो । ००७ सालको परिवर्तनपछि त्यसले केही गति प्राप्त गर्‍यो । तर, त्यो सामान्तवादको सहयोगी र साम्राज्यवादको प्रतिनिधि मात्र भएर लामो समय रह्यो । पञ्चायतकालभर दलाल–नोकरशाही पुँजीवादको भूमिका त्यत्तिकैमा सीमित भयो । 

०४६ सालको परिवर्तनपछि दलाल नोकरशाही पुँजीवादको प्रभाव निकै ठूलो मात्रामा विस्तार भयो । त्यसले अर्थतन्त्रका विभिन्न क्षेत्र, व्यापारिक क्षेत्र र प्रशासनलाई व्यापक रूपले आफ्नो प्रभावमा पार्दै लग्यो । यो कालमा राष्ट्रिय पुँजीको पनि एक हदसम्म विकास हुँदै गयो । अर्थतन्त्रमा पुँजीवादी उत्पादन सम्बन्ध देशव्यापी रूपमा विस्तार गर्दै गयो । सामन्तवाद जति खुम्चिँदै गयो, त्यति नै अर्थतन्त्रमा दलाल पुँजीवाद विस्तार हुँदै गयो ।

आखिर ०५० को दशकमा पुगेपछि सामन्तवाद अर्थतन्त्रमा धेरै नै कमजोर हुँदै गयो । माओवादी जनयुद्धले ग्रामीण क्षेत्रमा रहेको सामन्तवादलाई अझ धेरै कमजोर बनाइदियो । तर, त्यसको विस्थापनमा राष्ट्रिय पुँजीवादको विकास हुन सकेन । बरु दलाल पुँजीवाद हाबी हुँदै गयो । दलाल पँुजीवाद सुरुमा सामन्तवादको मूलतः सहयोगी भएर विकसित हुँदै आएको भए पनि सामन्तवाद र त्यसको अधिसंरचनासँग दलाल पुँजीवादको पनि अन्तर्विरोध छँदै थियो । त्यो आफ्नै गतिले विकसित भइरहेको थियो ।

जब ज्ञानेन्द्र शाहले १९ माघ घटाए, तब समस्त वामपन्थी क्रान्तिकारी शक्ति, लोकतान्त्रिक शक्ति, देशभक्त शक्ति, ज्ञानेन्द्र तानाशाहीविरुद्ध पूर्ण प्रजातन्त्र (गणतन्त्र)को नारा लिएर संयुक्त संघर्षमा उत्रिए । त्यसवेला स्वयं दलाल नोकरशाही पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य शक्ति पनि राजतन्त्रविरुद्ध संघर्षको मैदानमा उत्रिए । परिणामस्वरूप ०६२–०६३ को पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । सामन्तवाद र त्यसको अधिसंरचनासमेत अन्त्य भयो र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो । यो नेपालको पुँजीवादी जनवादी क्रान्ति हो । 

यो क्रान्तिमा श्रमजीवी वर्ग र पुँजीपति वर्ग दुवै संयुक्त रूपले सहभागी भए र दुवैले क्रान्तिलाई नेतृत्व गरे । त्यसले गर्दा क्रान्तिका फलमा श्रमिक वर्गले आमजनताको प्रतिनिधित्व गर्दै नियन्त्रण गर्न र समाजलाई सरासर समाजवादी रूपान्तरणतिर लान सम्भव भएन । हामीले क्रान्तिपछिको संक्रमणकालमा सम्झौताको बाटो हिँड्न पर्‍यो । जब संविधान बनाउने र शान्ति–प्रक्रियालाई मूलभूत रूपले टुंग्याउने काम भयो । तब संक्रमणकाल पनि सकियो ।

हामीले पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिलाई संस्थागत गर्ने र संविधानमा निश्चित हदसम्म समाजवादी पक्षलाई पनि समावेश गर्ने काम अवश्य गर्‍यौँ । तर, मुलुकमा पुँजीवादी जनवादी क्रान्तिपछि पुँजीवादी संसदीय लोकतन्त्र स्थापना भयो र समग्र सामाजिक–आर्थिक जीवनमा दलाल पुँजीवाद हाबी हुने स्थिति तयार भयो । यसरी वर्तमान नेपाली समाजको राजनीतिमा, प्रशासनमा, अर्थतन्त्रमा व्यापार र विनिमय तथा वित्तीय क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको स्थिति आजको वास्तविकता हो । स्वाभाविक रूपले दलाल पुँजीवाद आज समाजवादी क्रान्तिको तारो बन्न पुगेको छ । यो दलाल पुँजीवादलाई नेपाली समाजवादी क्रान्ति र रूपान्तरणले मात्र उन्मूलन गर्न सक्छ । पार्टी स्थापनाको यो लक्ष्यलाई पूरा गर्न बाँकी नै छ । 

यसरी अहिलेसम्मको सामाजिक–आर्थिक रूपान्तरणको महायात्रामा अघि बढ्ने क्रममा हामीले नेपाली क्रान्तिको पहिलो चरणलाई पुँजीवादी जनवादी क्रान्तिको चरणलाई पार गरेका छौँ । यो चरणलाई पार गर्दा हामीले हाम्रो देशका विशिष्ट स्थिति अनुरूपको विशिष्ट नेपाली बाटोबाट पार गरेका छौँ । यस अर्थमा हामीले पार्टी स्थापनाका ध्येय–उद्देश्यमध्ये नेपाली क्रान्तिको न्यूनतम लक्ष्यलाई पूरा गरेका छौँ । यो एउटा ऐतिहासिक उपलब्धि हो । तर, जुन बिन्दुमा हामीले पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियालाई टुंग्याएका छौँ, ठिक त्यही बिन्दुदेखि हाम्रो देशमा समाजवादी क्रान्ति र रूपान्तरणको उच्चस्तरको ऐतिहासिक क्रान्तिकारी प्रक्रियाको सुरुवात भएको छ ।

यो नेपाली क्रान्तिको सामान्य नियम हो । यस नियमलाई देख्न नसक्नु अज्ञानताको कुरा हो वा माक्र्सवादी ऐतिहासिक भौतिकवादी परिवर्तनको नियमलाई अस्वीकार गर्नु जस्तै हो । नेपालका सचेत कम्युनिस्टले यो सच्चाइलाई वा नियमलाई गहिरो गरी बुझ्नुपर्छ र गौरवशाली नेपाल र नेपाली जनतालाई वैज्ञानिक समाजवादको दिशामा अघि बढाउन संकल्पबद्ध भएर अघि बढ्नुपर्छ । यतिवेला नेपालका सबै क्रान्तिकारी कम्युनिस्टहरूको यो पहिलो र प्राथमिक महत्वको कर्तव्य हो । 

०६२–०६३ को क्रान्तिले जुन सामाजिक–आर्थिक ढाँचाको स्थापना गरेको छ, त्यो पुँजीवादी समाजिक आर्थिक ढाँचा हो । त्यो क्रान्तिले जुन लोकतन्त्रको स्थापना गरेको छ, त्यो पँुजीवादी लोकतन्त्र हो । विश्वभर नै र हाम्रो देशमा पनि विकसित तथा स्थापित भएका संसदीय लोकतन्त्रहरू सबै नै पुँजीवादी लोकतन्त्र हुन् । हामी नेपालका कम्युनिस्टहरू आफैँसमेत लागेर स्थापना भएको आजको ‘सुधारिएको संसदीय लोकतन्त्र’ पनि पुँजीवादी लोकतन्त्र नै हो ।

माक्र्सवादीहरूले वर्गीय समाजमा उत्पन्न हुने र विकास गर्ने सबै चिन्तन, विचार, दर्शन, व्यवस्था, तन्त्र, लोकतन्त्र, पार्टी, संगठन सबैको वर्गचरित्र हुन्छ भन्ने कुरा भुल्नु हुदैन । आज हामीले स्थापना गरेको लोकतन्त्रलाई सुधारिएको संसदीय व्यवस्था, जनताको संसदीय व्यवस्था, बहुदलीय लोकतन्त्र, बहुदलीय जनवाद वा जनताको बहुदलीय जनवाद वा सम्पूर्ण लोकतन्त्रलगायत जस्ता नाम दिए पनि हुन्छ । ती नाम जतिसुकै रंगीचंगी र सुन्दर राख्न खोजे पनि आजको लोकतन्त्र भनेको पुँजीवादी लोकतन्त्र नै हो । यसको वर्गचरित्र पुँजीवादी हो । यो अन्तिम विश्लेषणमा पुँजीपति वर्गको लोकतन्त्र हो ।

यो पुँजीवादी लोकतन्त्रले शोषणलाई अन्त्य गर्न सक्दैन, एक वर्गले अर्को वर्गलाई गर्ने अन्याय र अत्याचारलाई अन्त्य गर्न सक्दैन । यसले जनतालाई समानताको हक दिन सक्दैन । यसले नेपाली समाजमा विद्यमान जातीय धार्मिक र सांस्कृतिक विभेदलाई अन्त्य गर्न पनि सक्दैन । यसले भष्टाचारलाई अन्त्य गर्न सक्दैन । यसले साम्राज्यवाद र प्रभुत्ववादबाट देशलाई स्वतन्त्र र मुक्त बनाउन पनि सक्दैन । यसले पारदर्शी ढंगले विकास निर्माण पनि गर्न सक्दैन । यसले शोषणका अधिकारलाई सुरक्षित गर्छ । यसले पुँजीपति वर्गलाई शोषण र भ्रष्टाचार गरेर जति पनि सम्पत्ति केन्द्रीकरण गर्ने अधिकार दिन्छ । यसले मुठीभरका पुँजीपति र धनकुबेरहरूका हातमा सारा सम्पत्ति केन्द्रीकरण गर्न अनुमति दिन्छ र आमजनतालाई गरिबीको रेखामुनि खसाल्छ । यसले भयानक ढंगले आम्दानीको खाडल बढाउँदै लान्छ । त्यसैले मुलुकमा पुँजीवादी व्यवस्था स्थापना भएको छोटो अवधिमा मुलुकमा चौतर्फी संकट बढ्दै गएका छन् । ती संकट अझ गहिरिँदै जान्छन् र समाजवादी क्रान्तिका निम्ति वस्तुगत आधार झन्–झन् गहिरो बन्दै जान्छ । यो समाज विकासको र क्रान्तिको विकासको पनि नियम नै हो ।

पुँँजीवादी लोकतन्त्रले आवधिक निर्वाचन गराउँछ । सत्ता परिवर्तन भइरहेको पनि देखाउँछ । जनताको निर्वाचनबाट सरकार बनेको पनि देखाउँछ । तर, प्रत्येक निर्वाचनमा प्रथमतः पैसाको मात्र महत्व हुन्छ, जोसँग पैसा छ, उसैले चुनाव जित्छ । दोस्रो, पैसावालाले व्यापक रूपले झुट प्रचार गर्न सक्छ । तत्कालीन प्रचारले जनताको दिमागमा भ्रम हाल्ने काम गर्छ र सेतोलाई कालो तथा कालोलाई सेतो परिणाम निकाल्ने बनाउँछ । तेस्रो, पैसाकै बलमा पुँजीवादी शक्तिले मसलको प्रयोग गर्छ ।

विभिन्न प्रकारका गुन्डागर्दी गराउँछ र प्रभाव एउटाको भए पनि परिणाम अर्कैको बनाइदिन्छ । चौथो, पैसाकै बलले त्यसले मतदातालाई गुप्त रूपले खरिद–बिक्री गराउँछ । जनताको गरिबीबाट फाइदा उठाउँछ । पाँचौँ, पैसाकै बलले त्यसले कर्मचारी र सुरक्षालाई पनि किन्छ । परिणामको दृष्टिले आकाशलाई पाताल र पाताललाई आकाश बनाइदिन्छ । यसरी पुँजीवादी लोकतन्त्रमा पुँजीले सबै कुराको निर्णय गर्छ । त्यसैले यो पुँजीवादी लोकतन्त्र सारतः पुँजीवादी अघिनायकत्वबाहेक केही होइन ।

यस्ता कुराको व्यापक भण्डाफोर नगरी र त्यस्ता प्रवृत्तिविरुद्ध जनतालाई गोलबद्ध नगरी समाजवादी क्रान्तिकारीले चुनाव जित्नसमेत कठिन हुन्छ । त्यसैले हाम्रो पार्टीको स्थापना उद्देश्यमा हामीले जनवादबाट अघि बढेर समाजवाद र साम्यवादमा पुग्ने कुरा घोषित गरेका छौँ । पुँजीवादी लोकतन्त्र अन्तिम गन्तव्य होइन । त्यो हाम्रो न्यूनतम गन्तव्यचाहिँ हो । त्यो हामीले प्राप्त गरिसक्याैँ । यो न्यूनतम लक्ष्य प्राप्त नगरी अधिकतम लक्ष्यमा पुग्न सकिँदैनथ्यो । हाम्रो जस्तो देशको क्रान्तिमा पुँजीवादी लोकतन्त्र भनेको समाजवादमा पुग्ने अनिवार्य सिँढी हो । त्यसैले हामीले पुँजीवादी लोकतन्त्रलाई अधिकतम रूपमा क्रान्तिकारी ढंगले उपयोग गर्दै अघि बढ्नुपर्छ । 

के यो लोकतन्त्रले हामीलाई केही पनि दिएको छैन ? होइन, यो लोकतन्त्रले आमजनतालाई बोल्ने, लेख्ने, प्रकाशन गर्ने, सभा गर्ने, संगठन बनाउने, विचारको आधारमा संगठित हुने, आलोचना गर्ने, पार्टी खोल्ने, निर्वाचनमा भाग लिने, बहुमत ल्याएमा सरकार बनाउने, गठबन्धन गरेर पनि बहुमत बनाएर सरकार बनाउने, संसद्मा बहुमतका आधारमा कानुन बनाउनेजस्ता अधिकार दिएको छ । 

यी पुँजीवादी अधिकारलाई समाजवादी क्रान्तिकारीले भरपूर रूपमा उपयोग गर्नुपर्छ । ती अधिकारको प्रयोग गरेर नै हामीले माक्र्सवाद–लेनिनवादको वैज्ञानिक मार्गदर्शनमा श्रमजीवी जनताको अग्रदूत कम्युनिस्ट पार्टीको निर्माणलाई तीव्र बनाउनुपर्छ । सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पार्टीलाई वर्ग आधारित, जनआधारित र देशव्यापी बनाउनुपर्छ । पार्टीका वरिपरि वर्गीय संगठनको व्यापक राष्ट्रव्यापी सञ्जाल बनाउनुपर्छ । समाजको प्रधान अन्तर्विरोध र प्रधान प्रतिद्वन्द्वीलाई ठिक ढंगले ठम्याउन हरबखत कठोर प्रयत्न गर्नुपर्छ । जहिलेसुकै पनि पार्टीले आफ्ना प्रचार, संगठन र संघर्षका कामलाई लक्ष्यकेन्द्रित गरी अघि बढाउनुपर्छ ।

पार्टीको नेतृत्वमा सबै वर्ग र तहका जनताको व्यापक वर्गीय संयुक्त मोर्चा निर्माणलाई प्राथमिकता दिएर अघि बढाउनुपर्छ । खास वेलामा प्रधान प्रतिद्वन्द्वीविरुद्ध वा प्रधान निसानाविरुद्ध विभिन्न प्रकारका राजनीतिक गठबन्धन, कार्यगत एकता वा राजनीतिक संयुक्त मोर्चा पनि बनाउन सकिन्छ । ताकि प्रधान प्रतिद्वन्द्वीविरुद्ध सबै शक्तिलाई गोलबन्ध गर्न सकियोस् । यस्तो नीतिगत र वैचारिक राजनीतिक मोर्चाबन्दीका साथमा प्रधान प्रतिद्वन्द्वीविरुद्ध विभिन्न वर्ग, तह, समुदाय र क्षेत्रका जनताका बहुआयामिक संघर्षलाई जोडदार रूपले अघि बढाउनुपर्छ । यसरी जनताका शोषण, उत्पीडन र विभेदविरोधी संघर्ष, भ्रष्टचार, बेथिति र कुशासनविरोधी संघर्ष र राष्ट्रिय उत्पीडन तथा हस्तक्षेपविरोधी संघर्षलाई योजनाबद्ध रूपले अघि बढाउनुपर्छ । ती संघर्षलाई संसद्भित्र र बाहिरबाट तथा माथि र तलबाट कुशल संयोजनका साथ अघि बढाउनुपर्छ । तब मात्र यसले नेपाली जनताको क्रान्तिकारी चेतना, संगठन र शक्ति राष्ट्रव्यापी रूपमा विकास गर्दै जान्छ । 

हामी स्थानीय र राष्ट्रिय जनप्रतिनिधि संस्थाहरूमा जनताको दख्खल बढाउँदै लान सक्छौँ । त्यो नवीन चेतना, संगठन र संघर्षले मुलुकमा समाजवादी क्रान्ति र रूपान्तरणका निम्ति वस्तुगत र आत्मगत शक्तिको निर्माण हुँदै जान्छ । तब नै हाम्रो यो प्रिय र सुन्दर मुलुक नेपाल एउटा सभ्य, सुसंस्कृत, उज्यालो, लोकतान्त्रिक र समृद्ध समाजवादी नेपालमा विकसित र रूपान्तरित हुनेछ र हामी अनन्त विकास र रूपान्तरणको मार्गबाट अघि बढ्दै वैज्ञानिक साम्यवादको दिशामा अघि बढ्नेछाैँ ।

अन्तमा, यी पार्टी स्थापनाका दूरगामी ऐतिहासिक लक्ष्य हुन् । यी लक्ष्य प्राप्त गर्ने हाम्रो क्रान्तिकारी महायात्रा अहिले ७५ वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म सामन्तवादलाई उन्मूलन गर्ने र पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने दुइटा ऐतिहासिक लक्ष्य प्राप्त भैसकेको छ । साम्राज्यवाद र प्रभुत्ववादका हस्तक्षेप र घुसपैठहरूको विरोध र भण्डाफोर गर्दै, दलाल पुँजीवादविरुद्ध मुख्य संघर्षलाई केन्द्रित गर्ने र समाजवाद तथा साम्यवादको दिशातिर समाजलाई अघि बढाउने हाम्रो गौरवपूर्ण ऐतिहासिक संघर्ष जारी छ । यो ऐतिहासिक संघर्षलाई हरप्रकारले तीव्र र व्यापक बनाउँदै अघि बढ्नुपर्छ ।

त्यसका लागि माक्र्सवाद–लेनिनवादको वैज्ञानिक मार्गदर्शनमा देशको ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्छ । समाजवादी क्रान्तिका सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति र सिद्धान्त अघि सार्न सक्नुपर्छ । तिनको आधारमा पार्टीका प्रचार, संगठन र संघर्षलाई प्रधान अन्तर्विरोध र प्रधान निसानामा केन्द्रित गरेर अघि बढाउन सक्नुपर्छ । जनता र राष्ट्रलाई हरघडी र घटनामा सही मार्गदर्शन गर्न सक्नुपर्छ । सकेसम्म सबै वामपन्थी र मित्रशक्तिलाई एकताबद्ध पार्नुपर्छ ।

तब मुलुकमा जनताको क्रान्तिकारी संघर्षको उच्च लहर पैदा हुनु अनिवार्य हुन्छ । उक्त लहरले मुलुकमा अजंगका उलटपलट र हेरफेर ल्याउनेछ । क्रान्तिकारी संघर्षको बाटो जतिसुकै उबड–खाबड र बांगोटिंगो भए पनि जनताको विजय सुनिश्चित छ । समाजवादी क्रान्तिको विजय सुनिश्चित र समाजवादी नेपालको स्थापना अनिवार्य छ ।
(पूर्वप्रधानमन्त्री खनाल एकीकृत समाजवादीका सम्मानित नेता हुन्)