१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २५ बिहीबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘नयाँ ब्रोकर आएपछि बजार प्रतिस्पर्धात्मक भएको छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १o:३३:oo

नयाँ ब्रोकर सञ्चालनमा आएपछि सेयर बजार प्रतिस्पर्धात्मक भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । नयाँ ब्रोकर कम्पनीको संगठन धितोपत्र ब्रोकर एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ ब्रोकरको आगमनले एक अर्को ब्रोकरलाई प्रतिस्पर्धा र चुनौती दुवै थपिएको हुँदा यसको फाइदा लगानीकर्तालाई हुने बताएका हुन् । 

उनले भने, ‘हिजोको दिनमा तजबिजमा लाइसेन्स पाउने परम्पराको अन्त्य भएको छ । नियामावलीमै ओपन इन्ट्री र ओपन एक्जिटको व्यवस्था गरेको हुँदा शंका गर्ने ठाउँ छैन ।’ नयाँ ब्रोकर थपिए भनेर डराउनुपर्ने अवस्था नभएको र प्रतिस्पर्धामा जान सक्नेलाई बजारको सधैँ साथ रहने उनको भनाइ छ । 

हमालले आइपिओमा आवेदन दिनुअघि कम्पनीका बारेमा लगानीकर्ताले अध्ययन गरेर मात्र आवेदन दिनुपर्ने बताए । उनले भने, ‘अन्य मुलुकमा कम्पनीको वर्गका आधारमा आइपिओ जारी हुन्छ, हाम्रोमा त्यो वर्गविभाजन छैन त्यसैले अध्ययन नै मुख्य कुरा हो ।’

अहिले सेयर बजार थोरै घट्दा पनि बोर्डलाई गाली गर्ने गरेको हमालको गुनासो थियो । उनले आक्रोश पोखे, ‘पौडी खेल्न नजान्नेले खोलामा हामफाल्ने अनि डुबेपछि सरकार र सेबोनलाई गाली गर्ने ? आइपिओ भन्दैमा सबै कम्पनीमा सबैले आवेदन दिने हो र ? सेयर भर्नुअघि कम्पनी हेर्नुपर्दैन ?’ उनले १० कित्ते नीतिका कारणले पनि कम्पनीको आइपिओ ओभर सब्सक्राइब हुने अवस्थाले केही नकारात्मक प्रभाव पारेको बताए । बजारसुधारको काम अघि बढेको र अब नरोकिने उनको दाबी थियो । पुँजीबजारका सबै प्लेयरले नाफा कमाउने सुनिश्चितता आवश्यक रहेको बताए । 

उनले भने, ‘बजारका सबै प्लेयरले नाफा कमाउने सुनिश्चितता आवश्यक छ, लगानीकर्ता र ब्रोकर सबैले कमाउनुपर्छ, तपाईंहरूले तिरेको शुल्कबाट नै हामी पनि चल्ने हो ।’ उनले भारतमा २०–२५ रुपैयाँ शुल्कमा सेयर किनबेच हुने गरेको बताउँदै अब नेपालमा पनि त्यस्तै अवस्था ल्याइने बताए ।

ad
ad
ad
ad