१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २३ मंगलबार ११:२७:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बिरामीमा ऊर्जा भर्न ‘म्युजिक थेरापी’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार ११:२७:oo

संगीतको धुन कसलाई मन नपर्ला ? यसले मनलाई शान्त र आनन्दित बनाउँछ । तर, संगीत केवल मनोरञ्जन मात्र होइन, विज्ञानले संगीतलाई थेरापीको रूपमा प्रयोग गर्न सकिने पुष्टि गरिसकेको छ ।

आधुनिक जीवनशैलीले गर्दा मानिसहरू दिनभर व्यस्त हुन्छन् । जसकारण उनीहरूमा तनाव बढ्छ । त्यसलाई मेटाउन साँझ घर फर्किएपछि गीत, गजल वा भजन सुन्नेहरू धेरै छन् । प्राकृतिक चिकित्सक डा. डिबी सुनुवार म्युजिक थेरापीको महत्व बढ्दै गएको बताउँछन् । ‘स्वास्थ्य उपचारका विधिमध्ये संगीत थेरापी एक राम्रो उपचार पद्धति हो । संगीतले जीवनशैलीलाई आनन्दमय र सुखमय बनाउँछ,’ उनले भने । 

सङ्गीतशास्त्रअनुसार संगीतमा ‘सा, रे, ग, म, प, ध, नि’ गरी सात स्वर हुन्छन् । तीनै सात स्वरहरूको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । सामान्यतः हारमोनियम, गितार, सारंगी, बाँसुरीजस्ता वाद्यवादनमार्फत यिनै स्वरलाई आधार बनाएर संगीत सिर्जना गरिन्छ र यसले मनलाई शान्त गराउँछ । उनी भन्छन्, ‘म्युजिक थेरापी शारीरिकभन्दा पनि मानसिक बिरामीलाई बढी लाभदायी हुन्छ । संगीतमा मनको हरेक भागलाई स्पन्दित गर्ने शक्ति हुन्छ । यसले उत्साह र आनन्द जगाउँछ ।’

मेलोडी, हर्मोनी र रिदमका सशक्त गतिविधिले मानिसको मस्तिष्कका धेरै पक्षलाई जागरुक गराउँछन् । ‘हामीले म्युजिक र नृत्यलाई पार्किन्सन रोगका बिरामीहरूको उपचार गर्न पनि प्रयोग गर्ने गरेका छौँ । यसले शारीरिक गतिविधि, सामाजिक अन्तरक्रिया र मानसिक प्रेरणा उपलब्ध गराउँछ । यही कारण अमेरिकाको स्ट्यानफोर्ड न्युरोसाइन्स हेल्थ सेन्टरले पार्किन्सन रोगका बिरामीको उपचारका लागि व्यावसायिक डान्सरहरूको प्रशिक्षणमा कक्षा सञ्चालन गर्ने गरेको छ,’ स्ट्यानफोर्ड स्कुल अफ मेडिसिनको बुलेटिनमा डा. लोयड मिनरले लेखेका छन् । 

मनोपरामर्शविद् आदर्श प्रधान मानिसले आफूलाई आवश्यक पर्ने ऊर्जाअनुसारको संगीत सुन्नुपर्ने बताउँछन् । ‘हामीलाई कस्तो ऊर्जा चाहिन्छ, त्यहीअनुसार म्युजिक सुन्नुपर्ने हुन्छ । जसका लागि ट्राई ओरिजिन सिद्धान्त जान्नुपर्दछ,’ उनले भने ।

ट्राई ओरिजिन सिद्धान्तअनुसार चार किसिमको ऊर्जा स्रोतबाट ब्रह्माण्डका हरेक पदार्थ बनेको हुन्छ । जुन हेट्रो, हेमो, न्युटो र न्युट्रो हुन् । म्युजिकले हामीभित्रका यी ऊर्जालाई सक्रिय गरिदिन्छ । हेट्रोले एक्टिभ बनाउँछ, हेमोले प्यासिभ बनाउँछ, न्युटोले सन्तुलित बनाउँछ, न्युट्रोले स्थिर वा शान्त बनाउँछ ।

‘जब हामी संगीत सुन्छौँ, हामीलाई एकाग्र बनाउँछ, काममा फोकस गर्न सहयोग गर्छ । नकारात्मक स्टिमुलीबाट सकारात्मक स्टिमुली तुरुन्त बनाई मस्तिष्कलाई ताजा बनाउँछ,’ प्रधानले भने । 

तनावले निम्त्याउने रोग

निद्रा नलाग्ने, डिप्रेसन तथा चिन्ता बढ्ने । टाउको दुख्ने, कम्मर दुख्ने, छालाका रोग लाग्नेजस्ता शारीरिक समस्या देखिन्छ । मुटुको धड्कन बढ्ने, ब्लप्रेसर हाई हुने, छाती दुख्ने र हृदयाघात हुनेसमेत जोखिम हुन्छ । 

- तनावले पेटमा एसिड बढाउँछ र कालान्तरमा अल्सर हुने जोखिम पनि रहन्छ । 

थेरापीको आनन्द लिने विधि
- म्युजिक थेरापीले पिट्युटरी ग्रन्थिलाई उत्प्रेरित गर्ने र शरीरका कोषिकाहरूमा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउने डा. सुनुवारले बताए । संगीत थेरापी गर्नुपूर्व बिरामीलाई मन पर्ने संगीत छनोट गर्नुपर्ने उनले बताए । ‘मन परेको संगीतको छनोट गरेर आनन्दले संगीत सुन्नुपर्छ । तनावरहित अवस्थामा ध्यान एकत्रित गरेर संगीतको धुनमा रिल्याक्स लिन सक्नुपर्छ । बिहान पोजेटिभ एफर्मेसन र बेलुकी रिल्याक्सेसन म्युजिक सुन्नु राम्रो हुने उनले बताए । 

कसरी गर्ने म्युजिक थेरापी ?
- संगीतको भाव बुझेर आफूले आफैँलाई प्रश्न गर्नुपर्छ । के म हरेक काम गर्न सक्छु ?’ आफैँ उत्तर दिनुपर्छ, सक्छु । यसले व्यक्तिको आत्मबल बढाउन सहयोग गर्छ । 

- संगीतको धुनमा बिस्तारै शरीरका अंग चलाउँदै सुर–तालमा शरीरलाई चलायमान बनाउँदै लानुपर्छ । यसले व्यक्तिका नसा–नसामा कम्पन उत्पन्न गर्छ । जसकारण पिट्युटरी ग्रन्थि उत्प्रेरित हुन्छ । शरीर लचिलो बन्छ र विकार तत्वसमेत बाहिर जान सहयोग मिल्छ । 

- खुसीका हार्मोन सक्रिय हुँदा मस्तिष्क तीक्ष्ण हुन्छ र स्मरणशक्ति बढ्छ । टाउको दुख्ने, रुघाखोकी लाग्ने, मानसिक रोग लाग्नेजस्ता समस्याका लागि यो थेरापी उपयोगी छ । 

- शारीरिक अंग सहज रूपमा चलायमान हुँदा रक्तप्रवाहमा सहजता हुन्छ । गहिरो निद्रा लाग्नुका साथै तनावबाट मुक्ति पाउन सकिन्छ । रिस कम गर्न मद्दत गर्छ । तनावमुक्त भएको अवस्थामा स्ट्रेस, एन्जाइटीजस्ता मानसिक समस्याबाट बच्न सकिन्छ ।