१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतको रियल टाइम मार्केटमा नेपालको विद्युत् बेच्ने बाटो खुल्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o९:oo

नेपालले भारतको रियल टाइम (वास्तविक समय) मार्केटमा विद्युत् खरिद–बिक्री गर्न पाउने भएको छ । भारतले क्रस बोर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका, २०१८ को पहिलो संशोधन गर्दै नेपालसहित भुटान, बंगलादेश र म्यानमारलाई रियल टाइम मार्केटमा विद्युत् खरिद–बिक्री गर्न बाटो खुला गरेको हो । हालसम्म नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स)को डे अहेड मार्केटमा व्यावसायिक र बिहार राज्यमा आदान–प्रदानका रूपमा विद्युत् खरिद गर्दै आएको थियो । तर, अब भने नेपाल विद्युत् प्राधिकरणले आइइएक्सको रियल टाइम मार्केटमा पनि विद्युत् खरिद–बिक्री गर्न पाउने भएको हो । 

यसअघि नेपालसहितका उक्त मुलुकहरूलाई डे अहेड मार्केटमा मात्रै विद्युत् खरिद–बिक्री गर्न दिने व्यवस्था थियो । त्योअनुसार दैनिक रूपमा बिक्री गरिने विद्युत्का लागि अघिल्लो दिनमा नै बिडिङ गर्नुुपर्ने हुन्थ्यो । उदाहरणका लागि, सोमबार खरिद–बिक्री गरिने विद्युत्का लागि आइतबार नै बिडिङ गर्नुपर्छ । 

आइइएक्सले डे अहेड मार्केटमा विद्युत् खरिद–बिक्री गर्न १५–१५ मिनेटको ९६ ब्लकमा छुट्याएको छ । उक्त ब्लकहरूमा विद्युत् बिक्री गर्न अघिल्लो दिननै छुट्टाछुट्टै बिड गर्नुपर्ने हुन्छ । त्यसकै आधारमा भोलिपल्ट विद्युत् खरिद–बिक्री गरिन्छ । सोहीअनुसार प्राधिकरणले भोलिपल्ट हुने विद्युत् उत्पादन अनुमानका आधारमा डे अहेड मार्केटमा बिक्री गर्न बिड गर्छ । तर, भोलिपल्ट अनुमान गरेभन्दा बढी विद्युत् उत्पादन भएमा बढी भएको विद्युत् खेर जाने सम्भावना हुन्छ । अनुमानभन्दा कम उत्पादन भएमा पेनाल्टी तिर्नुपर्ने अवस्था पनि रहन्छ ।

तर, रियल टायम मार्केटमा यस्तो समस्या हुँदैन । आफूसँग विद्युत् भएको अवस्थामा तत्काल बिक्री गर्न सकिने सुविधा यसमा हुन्छ । प्राधिकरणका अनुसार रियल टाइम मार्केटमा एक घन्टापहिले विद्युत् खरिद–बिक्री गर्न बिडिङ गरिनेछ । यसमा पनि १५–१५ मिनेटको ब्लकमा विद्युत् बिक्री गर्न सकिने प्राधिकरणको भनाइ छ । 

आइइएक्सले अल्पकालीन ऊर्जा व्यापारका लागि विभिन्न एक्सचेन्ज मार्केटहरू सञ्चालन गरेको छ । त्यसअन्तर्गत डे अहेड मार्केट र रियल टाइम मार्केट पनि हुन् । उक्त बजारमा बिडिङमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री गर्न सकिन्छ । 

प्राधिकरणले भारतमा विद्युत् व्यापार गर्न एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई नोडेल एजेन्सी तोकेको छ । उक्त एजेन्सीमार्फत नै प्राधिकरणले भारतको रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्नेछ ।नेपालमा विद्युत्का स्रोत नै जलविद्युत् आयोजना हुन् । झरी हुँदा खोलामा पानीको बहाब बढ्छ र उत्पादन पनि बढ्छ । तर, अघिल्लो दिन नै गरेको बिडिङमा त्यो विद्युत् समावेश हुँदैन । फलस्वरूप त्यस्तो विद्युत् खेर जाने समस्या हुन्थ्यो । अब भने विद्युत् खेर जाने समस्या नहुने प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए ।

रियल टायम मार्केटमा आफूसँग विद्युत् भएको अवस्थामा तत्काल बिक्री गर्न सकिने सुविधा हुन्छ । प्राधिकरणका अनुसार रियल टाइम मार्केटमा एक घन्टापहिले विद्युत् खरिद–बिक्री गर्न बिडिङ गरिनेछ । यसमा पनि १५–१५ मिनेटको ब्लकमा विद्युत् बिक्री गर्न सकिन्छ ।

यस्तै, अनुमानित समयमा प्राविधिक कारणवश आयोजनाहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । आकस्मिक रूपमा आउने बाढीपहिरोले पनि आयोजना बन्द गराउन सक्छन् । त्यो अवस्थामा अनुमानितभन्दा कम बिजुली उत्पादन भई पेनाल्टी तिर्नुपर्ने अवस्था आउँथ्यो । तर, अब त्यो समस्या पनि समाधान हुने अधिकारीको भनाइ छ । 

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भारतको उक्त नीतिगत व्यवस्था स्वागतयोग्य भएको बताए । ‘डे अहेड मार्केटमा अघिल्लो दिन नै बिडिङ गर्दा अनुमानअनुसार विद्युत् उत्पादन तलमाथि हुने समस्या देखिन्थ्यो । त्यो अवस्थामा बढी हुने विद्युत्लाई व्यवस्थापन गर्न चुनौती हुन्थ्यो,’ उनले भने, ‘तर, अब त्यो समस्या हुँदैन । बढी भएको विद्युत् तत्काल बिक्री गर्न सकिन्छ । साथै, नेपालमा उत्पादन कम भएको अवस्थामा पनि तत्काल आयात गर्न सकिन्छ । यसले विद्युत् आपूर्ति र सप्लाईमा ठूलो सहयोग पुग्छ ।’ 

हिउँदमा पनि फाइदा
बर्खामा विद्युत् निर्यात गरे पनि हिउँदमा भने आयात गर्नुपर्ने बाध्यता कायमै छ । नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना छन् । बर्खामा खोलामा पानी बढी हुदाँ विद्युत् उत्पादन पनि बढी हुन्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा माग धान्ने बिजुली पनि उत्पादन हुँदैन । त्यसवेला स्वदेशी माग धान्न भारतबाट नै विद्युत् आयात गर्नुपर्छ । तर, डे अहेड मार्केटमा अघिल्लो दिन नै बिड गरेर विद्युत् आयात गर्दा वास्तविक समयको मागअनुसार आपूर्ति हुन सकेको थिएन । तर, अब हिउँदमा पनि वास्तविक समयको मागअनुसार विद्युत् आयात गर्न सकिने प्राधिकरणको भनाइ छ । 

 तर, स्वीकृति लिनुपर्ने झमेला कायमै
यद्यपि, यसअन्तर्गतको बजारमा पनि विद्युत् बिक्री गर्न निश्चित आयोजनालाई स्रोत देखाएर भारत सरकारबाट स्वीकृति लिनैपर्ने बाध्यता कायम नै छ । भारतले आफ्नो र आफूले क्रस बर्डर ऊर्जा व्यापार सम्झौता गरेका मुलुकको लगानीमा बनेका आयोजनाको मात्रै विद्युत् किन्ने सर्त यसै निर्देशिकामा राखेको छ । त्यो सर्त रियल टाइम विद्युत् व्यापारमा पनि लागू हुनेछ । 

प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा विभिन्न १० आयोजनाको चार सय ५२ मेगावाट विद्युत् बिक्री गर्न पाउने स्वीकृति पाइएको छ । प्राधिकरणले अहिले सोहीअन्तर्गतको विद्युत् डे अहेड मार्केटमा बिक्री गर्दै आएको छ । अब त्यो विद्युत् (४५२ मेगावाट) पनि रियल टाइम मार्केटमा बिक्री गर्न पाइनेछ । थप विद्युत् बिक्री गर्न भने निश्चित आयोजनालाई स्रोत मानेर भारत सरकारबाट स्वीकृति लिनुपर्नेछ । नेपालले उक्त मार्केटमा प्रतियुनिट १२ भारुमा विद्युत् खरिद–बिक्री गर्न सक्नेछ । 

नेपाल र भारतबीच विद्युत् व्यापार गर्ने गरी २०१४ मै सम्झौता भएको थियो । सोही आधारमा अहिले नेपालले भारतसँग अल्पकालीन रूपमा विद्युत् व्यापार गर्दै आएको छ । साथै, नेपाल र भारतबीच मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्न प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गत जेठ १८ गते द्विपक्षीय समझदारी भएको छ । तर, त्यसका लागि अन्तिम सम्झौता गर्नमा भने अस्वाभाविक रूपमा ढिलाइ हुँदै आएको छ । 

नेपाली बिजुलीका लागि भारतीय बजार निकै ठूलो मानिन्छ । नेपालमा जति विद्युत् उत्पादन हुँदै छन्, सोबराबरको विद्युत् यहीँ खपत हुने बजार छैन । अहिले पनि नेपालको विद्युत् खेर गइरहेको अवस्था छ । त्यसैले नेपाली बिजुलीका लागि भारतीय बजार अपरिहार्य छ । साथै, बढ्दो जलवायु परिवर्तनका लागि भारतलाई पनि नेपालको स्वच्छ बिजुलीको आवश्यकता बढ्दो छ । किनकि, भारतमा डिजेल र पावर प्लान्ट चलाउँदा वातावरण प्रदूषण नमज्जाले बढेको छ । त्यसले गर्दा भारतलाई स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने दबाब छ । सोहीअनुसार भारतले नेपालको विद्युत् किन्ने भन्दै आएको छ । त्यो अवस्थामा भारतबाट हुने यस्ता नीतिगत निर्णयले नेपालको विद्युत्को बजारलाई विविधीकरण गर्न सहयोग पुग्ने सरोकारवाला बताउँछन् । 

ad
ad