मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Thursday, 19 December, 2024
गिनीमा कुपछि सेनाको समर्थनमा निस्किएको भिड । तस्बिर : एजेन्सी
डेक्लन वाल्स
२o८o श्रावण १७ बुधबार o८:o६:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

नाइजरमा कुसँगै अफ्रिकामा बन्यो ‘कु करिडोर’ : पश्चिम चिन्तित, रुस उत्साहित

Read Time : > 3 मिनेट
डेक्लन वाल्स
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार o८:o६:oo

अफ्रिकामा एक नयाँ ‘कु बेल्ट(करिडोर)ले आकार लिएको छ । ६ देशलाई जोड्ने तीन हजार ५०० माइल लामो करिडोर अफ्रिकाको एकातर्फको समुद्र तटदेखि अर्कोतर्फको तटसम्म फैलिएको छ । अहिलेका लागि यो पृथ्वीको सबैभन्दा लामो ‘सैन्य शासनको’ करिडोर बनेको छ । गत हप्ता पश्चिमी अफ्रिकी राष्ट्र नाइजरमा सैन्य कुपछि यस करिडोरले पूर्णता हासिल गरेको हो । अफ्रिकाको एक हिस्साको सम्पूर्ण चौडाइमा फैलिएको यस करिडोरमा पश्चिममा गिनी, माली, बुर्किना फासो, नाइजर, चाड र सबैभन्दा पूर्वमा सुडान छन् । एउटा मुलुकबाहेक बाँकी ठाउँमा सेनाले पछिल्लो दुई वर्षभित्रै कुमार्फत सत्ता नियन्त्रण गरेका हुन् । 

कुको सबैभन्दा पछिल्लो सिकार नाइजरका राष्ट्रपति मोहम्मद बाजुम प्रजातान्त्रिक रूपमा निर्वाचित अमेरिकी सहयोगी हुन् । उनलाई बुधबार उनकै गार्डले राजधानी नियामेको राष्ट्रपति भवनमा हिरासतमा लिएका थिए । बाजुमका सुरक्षा प्रमुखले कुपछि आफैँलाई राष्ट्र प्रमुख घोषणा गरेका छन् । ‘हामीले अन्ततः चुप लागेर नबस्ने निर्णय गरेका छौँ,’ नाइजरका स्व–नियुक्त नयाँ शासक जनरल अब्दुरहमान चियानीले शुक्रबार टेलिभिजन सम्बोधनमा भने । नाइजरमा भएको पछिल्लो विद्रोहले विश्वका शक्ति केन्द्रलाई तरंगित गरेको छ । 

अमेरिका र उसका सहयोगीका लागि नाइजरको सैन्य विद्रोहले साहेल क्षेत्रमा इस्लामबादी लडाकुविरुद्धको जारी युद्धको भविष्यमा गम्भीर प्रश्न खडा गरिदिएको छ । अल–कायदा र इस्लामिक स्टेटजस्ता इस्लामिक समूह फराकिलो साहेल क्षेत्रको मरुभूमिबाट तीव्रताका साथ समुद्रतर्फ प्रभाव विस्तार गरिरहेका छन् । र, समुद्रको एक तटदेखि अर्को तटसम्म फैलिएको नवगठित कु बेल्टले साहेलको अधिकांश हिस्सा ओगटेको छ । साहेल क्षेत्र पछिल्लो समय मध्यपूर्व र दक्षिण एसियालाई उछिन्दै विश्वव्यापी जिहादी हिंसाको केन्द्रबिन्दु बनेको छ । इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले निकाल्ने वार्षिक अध्ययन ‘ग्लोबल टेररिज्म इन्डेक्स’अनुसार सन् २०२२ मा यस्तो हिस्सामा भएको कुल ६ हजार ७०१ मृत्युमध्ये ४३ प्रतिशत यही भएको थियो । जबकि सन् २००७ मा यस भेगको हिस्सा एक प्रतिशत मात्रै थियो । 

गत हप्ता पश्चिमी अफ्रिकी राष्ट्र नाइजरमा सैन्य कुपछि ६ देशलाई जोड्ने तीन हजार ५०० माइल लामो ‘कु करिडोर’ले पूर्णता हासिल गरेको छ

गत साताको कुअघिसम्म नाइजर अमेरिकाको जिहादविरोधी क्षेत्रीय रणनीतिक अभियानको आधार थियो । कम्तीमा एक हजार १०० अमेरिकी सेना अहिले पनि त्यहाँ तैनाथ छन् । अमेरिकी सेनाले राजधानी नियामे र उत्तरी सहर अगाडेजमा ११ करोड डलरको लागतमा ड्रोन बिआरएस परियोजना निर्माण गरेको छ । अब, यी सबै जोखिममा परेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी जे. ब्लिन्केनले कुबारे टिप्पणी गर्ने क्रममा अमेरिकाले बाजुमलाई राष्ट्रपति पदमा पुनर्बहाली नगरिए नाइजरलाई दिँदै आएको आर्थिक र सुरक्षा सहयोग अन्त्य गर्न सक्ने चेतावनी दिए । ‘हामीले संवैधानिक व्यवस्थालाई खलल पुर्‍याउने जिम्मेवार व्यक्तिलाई सम्भव भएसम्म स्पष्ट भाषामा हाम्रो अडान व्यक्त गरेका छौँ,’ विदेशमन्त्री ब्लिन्केनले भने । 

अमेरिका नाइजरबाट पूर्ण रूपमा बाहिरने सम्भावनामा अधिकारीहरू शंका व्यक्त गर्छन् । विशेषतः अमेरिकी फिर्तीले रुसका लागि ढोका खोल्ने भएकाले पनि अमेरिकालाई नाइजरबाट पूरै हात झिक्न गाह्रो छ । गत हप्ता नाइजरको छिमेकी बुर्किना फासोमा भएको विद्रोहपछि नियामेमा कु समर्थकले रुसी झन्डा फहराएको दृश्यले यसैतर्फ संकेत गर्छ । बुर्किना फासोको विद्रोहपछाडि क्रेमलिनको हात नभए पनि त्यस दृश्यले रुसले हालैका वर्षमा अफ्रिकामा आफूलाई पश्चिमविरोधी, अझ विशेषगरी फ्रेन्चविरोधी कसरी स्थापित गरेको छ भन्ने देखाउँछ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता त्यही नयाँ स्थापित शक्तिको फाइदा उठाउन खोजेका थिए । सेन्ट पिटर्सबर्गमा आयोजित अफ्रिकी देशसँगको शिखर सम्मेलनमा उनले ती देशका प्रतिनिधिलाई ‘औपनिवेशिकता र नवउपनिवेशवाद’बाट मुक्त गर्ने प्रस्ताव गरे । 

पछिल्लो समय रुसी भाडाको सेना ‘वाग्नर’ अफ्रिकाको सुन र हिराको व्यवसायमा जोडिन थालेको छ । तिनले हिरा व्यापारीका लागि खानीवरपरका नागरिकमाथि अत्याचार गरेका रिपोर्ट आइरहेका छन् । वाग्नरका अस्थिर प्रमुख यभ्गेनी प्रिगोजिनका लागि कुले नयाँ व्यापारका अवसर खुला गर्छ । उनका भाडाका सेनाहरू ‘कु बेल्ट’मा पर्ने माली र सुडानका साथै नजिकैको सेन्ट्रल अफ्रिकन रिपब्लिक र लिबियामा खुला रूपमा काम गरिरहेका छन् । प्रिगोजिनले नाइजरको पछिल्लो विद्रोहको स्वागत गर्दै सहयोगका लागि आफ्नै सशस्त्र लडाकु तयार रहेको बताइसकेका छन् । यदि ‘कु बेल्ट’ भू–राजनीतिक चालबाजीको रंगमञ्च बनेको भए पनि विज्ञहरूका अनुसार यी विद्रोहका विभिन्न स्थानीय कारक पनि छन् ।

 गिनीमा विद्रोहका नेताले तिनको कदम भ्रष्ट नेताप्रति लक्षित भएको बताउँदै भ्रष्टाचारप्रति वाक्क आमआक्रोशलाई सम्बोधन गर्ने प्रयास गरेका थिए । माली र बुर्किना फासोका विद्रोही नेताले तीसँग देशलाई नराम्ररी प्रभावित बनाएको जिहादी हिंसाको जवाफ भएको दाबी गरेका छन् । तर, ती मुलुकमा सैन्य शासकको दाबीविपरीत ती आएपछि हिंसा झन् फैलिएको छ । बुर्किना फासोमा पहिले जिहादी हिंसा उत्तरमा सीमित भएकोमा पछिल्लो समय देशको राजधानी नजिक आएको छ । मालीमा सेनाले सत्ता हातमा लिएपछि त्यहाँ तैनाथ रहेका पाँच हजार फ्रेन्च सेनालाई हटाइयो । तिनको स्थानमा वाग्नरका करिब एक हजार भाडाका फौज तैनाथ गरिएको छ । ‘आम्र्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट’का अनुसार यसपछि नागरिक हताहती निकै बढेको छ । 

सबैतिर हिंसाको विस्तारको जरो त्यहाँको कमजोर राज्य प्रणालीमा भेटिन्छ । साहेल क्षेत्रमा विश्वकै सबैभन्दा गरिबमध्येका देश छन् भने यहाँको जन्मदर पनि निकै उच्च छ । (जस्तो, नाइजरमा औसतमा एक महिलाले सात बच्चा जन्माउँछिन् ।) बेरोजगार युवाहरूको बढ्दो जनसंख्याले निराशाको भावना व्याप्त छ । यसले पनि विद्रोहलाई मलजल गर्छ । कु गर्नेहरूमा पनि युवाकै संख्या बढी देखिन्छ । पछिल्ला अधिकांश सैन्य कुको नेतृत्व ३० वा ४० वर्षका पुरुषले गरेका छन् । गत वर्ष बुर्किना फासोको सैन्य कु गर्ने इब्राहिम ट्राओरे जम्मा ३४ वर्षका छन् । उनी विश्वकै कान्छा राष्ट्र प्रमुख बनेका छन् । जबकि अफ्रिकाका अन्य देशमा नेताको औसत उमेर ६० वर्ष देखिन्छ ।

सन् १९५२ देखि अफ्रिकी देशहरूमा भएका कुमध्ये ९८ प्रतिशत सफल भएको अफ्रिकामा कुसम्बन्धी हालैको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ । युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाका सह–प्राध्यापक जोनाथन पावेलले यस अवधिमा सुडानमा सबैभन्दा बढी विद्रोह भएको बताए । त्यहाँ सन् २०२१ मा पछिल्लो सैन्य कुपछि सत्तामा पूर्ण नियन्त्रणका लागि दुई सैन्य एकाइ नै एक–अर्काविरुद्ध पूर्णस्तरको युद्धमा छन् । सन् २०१७ मा कू दशकयताकै न्यून स्तरमा झरेको थियो । त्यसपछि घडीको सुई उल्टो दिशामा घुम्न थालेको छ । 

नाइजर भने यसमा फरक देखिन्थ्यो । कुको लामो इतिहास भए पछिल्लो समय यो २.५ करोड जनसंख्या भएको मरुभूमि राष्ट्र स्थिरताको बाटोमा हिँड्न थालेजस्तो देखिन्थ्यो । सन् २०२१ मा भएको निर्वाचनमा बाजुम चुनिएका थिए । उनले जिहादी विद्रोहीविरुद्धको युद्धमा प्रगति गरिरहेका थिए । उनलाई देशको सशस्त्र सेनाको समर्थन रहेको देखिन्थ्यो । प्रभावशाली पश्चिमी सेलेब्रिटी उनका पाहुना हुन्थे । गत अक्टोबरमा उनी बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्ससँग एउटै स्टेजमा मुस्कुराइरहेको देखिएका थिए । नारी शिक्षा प्रवद्र्धन र जन्मदर घटाउन उनले अभियान सुरु गरेका थिए । 

तर, राष्ट्रपति कार्यालयका सुरक्षा गार्ड प्रमुख जनरल चियानीसँगको तनावमा धेरैको ध्यान गएन । यही तनाव गत हप्ताको विद्रोहको कारण भएजस्तो देखिन्छ । पश्चिम अफ्रिकामा कुबारे पुस्तक लेखेका डा. इसाका के. सोआरेले कहिलेकाहीँ ‘कु’ फैलिँदै आउने बताए । ‘कुमा एक संक्रामक प्रभाव हुन्छ । यदि तपाईंले आफ्ना सहकर्मीले छिमेकी देशमा नागरिक सरकार ढालेको देख्नुभयो, र तपाईंको खुट्टामुनि पनि रातो कार्पेट आउन सक्छ भन्ने प¥यो भने तपाईं त्यो मौका चुकाउन चाहनुहुन्न,’ सोआरेले भने ।
 द न्युयोर्क टाइम्सबाट