काभ्रेको पनौती नगरपालिका– ४ का रामशरण थापा एकाबिहानै उठेर गाईको गोठमा पुग्छन् । श्रीमतीले कुँडो पकाउँदै गर्दा उनी भकारो सोहोर्छन्। पाँचवटा गाई र बाच्छाबाच्छीको हेरचाह गर्ने, गाई दुहुने र दूधको क्यान लिएर डेरीतिर जाने उनीहरूको दैनिकी हो।
उनले ३० वर्षदेखि पाँचवटा गाई पाल्दै आएका छन् । उनी दैनिक ३० लिटर दूध बेच्छन् । उनले वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छन्।
३० वर्षअघि उनी काठमाडौं बस्थे। राजधानीमा घरमा रङरोगनको काम गर्दै आएका उनी श्रीमतीको सल्लाहमा गाउँ फर्के । दुवैजना मिलेर खेती–किसानीतिर लागे। उनले लगाएका घरका रङ खुइलिए होला, तर गाउँ फर्केपछि भने उनको जिन्दगीको रङ फेरियो।
वार्षिक नौ हजार लिटरभन्दा बढी दूध बेचेर वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छन् उनी । सफलताको कथा सुनाउँदै उनले भने, ‘३० वर्ष पहिले काठमाडौंमा घरहरूमा रङ लगाउने काम गर्थेँ । श्रीमतीले गाउँ नै फर्केर पशुपालन र खेती गरौँ भनेपछि गाउँ फर्केर पशुपालनमा लागेँ’, थापाले भने, ‘खेती र पशुपालनबाट राम्रो भएको छ, खुसी छु । जे–जति गर्यो खेती किसान र पशुपालनबाट नै गरेको हुँ।’
पनौती नगरपालिका– ८ स्थित खरिबोट दुग्ध उत्पादक कृषि सहकारी संस्थामा दूध बेच्दै आएका उनले हरेक १५ दिनमा सहकारीबाट ३०–३५ हजार बुझ्छन्।
उनले आर्थिक वर्ष ०७८/७९ मा नौ हजार २७ लिटर बिक्री गरेका थिए। यस वर्ष उनले बागमती प्रदेश सरकारले दिने दूधको आधारमा अनुदान ३१ हजार सात सय ७५ रुपैयाँ प्राप्त गरेका छन्। किसानले सहकारीबाट दूधको प्रतिफ्याट १७ रुपैयाँ १० पैसाका दरले पाउने गरेका छन्।
थापाका दुई छोरा र एक छोरी छन्। उनले दूध बेचेरै छोराछोरीको शिक्षादीक्षा गराए । छोरीको विवाह भइसकेको छ भने जेठो छोरा पढ्नका लागि अस्ट्रेलिया गएका छन्। कान्छो छोरा पनि अस्ट्रेलिया जाने तयारीमा छन् ।
दूधमा आधारित अनुदान १० लाख वितरण
बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयबाट प्राप्त दूधमा आधारित अनुदान वितरण गरेको छ खरिबोट दुग्ध कृषि सहकारी संस्था लि.ले। उक्त रकम दूधको आधारमा किसानलाई वितरण गरेको हो ।
सहकारी संस्थाका व्यवस्थापक केशव बञ्जराका अनुसार बागमती प्रदेश सरकारले प्रतिलिटर तीन रुपैयाँ ५० पैसाका दरले दूधमा आधारित अनुदान दिएको हो।
सहकारीले आर्थिक वर्ष ०७८/७९ मा दुई लाख ८७ हजार ६ सय ९१ लिटर दूध बिक्री गरेका थिए। सोही दूधको आधारमा प्रदेश सरकारबाट प्राप्त १० लाख २५ हजार किसानलाई वितरण गरेको बञ्जराले बताए।
पनौती नगरपालिका– ८ मा अवस्थित उक्त सहकारीको जम्मा सदस्य एक सय एकजना छन् । तीमध्ये ८२ जना किसानले सहकारीलाई दूध दिने गरेको बञ्जराले बताए।
दैनिक तीन स्थानबाट दूध संकलन गर्दै आएको सहकारीका व्यवस्थापक बञ्जराले बताए । तीन स्थानबाट दैनिक सात सयदेखि आठ सय लिटर दूध संकलन गरी केही डिडिसी र केही निजी डेरीहरूलाई दिँदै आएको उनको भनाइ छ।
एक वर्षमा पनौती नगरपालिका– ४ का रामशरण थापाले सबैभन्दा बढी दूध बिक्री गर्ने गरेको व्यवस्थापक बञ्जराले बताए । थापाले एक वर्षमा नौ हजार २७ लिटर दूध बिक्री गरेका छन्। उनले अनुदान ३१ हजार सात सय ७५ रुपैयाँ प्राप्त गरेका छन्। त्यसरी नै अन्य ८१ जनाले अनुदान प्राप्त गरेका छन्।
सहकारीले यसरी दूधको अनुदान ६ वर्ष अघिदेखि वितरण गर्दै आएको जानकारी दिए। अनुदान शनिबार पाँचौँपटक वितरण गरेको उनले जानकारी दिए। सहकारीले चारजनालाई रोजगारी पनि दिएको छ। सहकारीले वेलावेलामा क्यानलगायतको सामग्री पनि वितरण गर्दै आएका छन्।
लम्पी स्किन संक्रमणले किसान निराश
सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरी अनुदान वितरण गरेको छ। सहकारीका अध्यक्ष प्रह्लाद बञ्जराको सभापतित्व तथा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा अनुदान वितरण गरिएको हो ।
दूधमा आधारित अनुदान वितरण गर्दै नगरप्रमुख भण्डारीले लम्पी स्किन महामारीका कारण अनुदान पाए पनि किसानको अनुहारमा चमक नआएको बताए।
किसान र सरोकारवाला सबै मिलेर एकजुट भई पशुमा लाग्ने महामारी लम्पी स्किनलाई परास्त गरी पहिलेकै अवस्थामा किसानको अनुहारमा चमक देख्न चाहेको भणडीको भनाइ छ।
‘प्रदेश सरकारको अनुदान पाएकोमा किसान खुसी त छन्, तर सदाको जसरी अनुहारमा चमक देखिएन । यता अनुदान लिइराख्दा उता गोठमा लम्पी स्किनले केही भयो कि भन्ने चिन्ता छ,’ भण्डारीले भने, ‘हामी सबै मिलेर लम्पी स्किनलाई परास्त गर्नुपर्छ। यसपालिजस्तै अर्काे वर्ष आउँदा महामारीलाई परास्त गरी अनुहारमा चमकका साथ अनुदान लिएको हेर्ने मन छ।’
सुरुमै प्रदेश सरकारबाट तीन सय डोज भ्याक्सिन प्राप्त गरेको, तर किसानले लगाउन नमानेको उनको गुनासो छ।
‘हामीले प्रदेशबाट तीन सय डोज भ्याक्सिन प्राप्त गरेका थियौँ । त्यति नै पर्याप्त त थिएन, तर त्यति नै भए पनि लगाउन भनेर जाँदा किसानले लगाउन दिएनन्। परीक्षणका लागि ल्याएको भ्याक्सिन लगाउँदैनौँ भने किसानले,’ नगरप्रमुख भण्डारीले भने, ‘त्यो भ्याक्सिन लगाउन पाएको भए पनौतीमा सायद यस्तो महामारी हुन्नथ्यो कि । भ्याक्सिनको गलत प्रचारले क्षति बढी भयो।’
सोही कार्यक्रममा नगरउपप्रमुख गीता बञ्जराले किसानले पशुको गोठमा सफासुग्घर गर्नुपर्ने बताइन्। मान्छेलाई जस्तै सफासुग्घर गरेर पालेमा रोगहरूले नसताउने उनको भनाइ छ। पशुको पहिलो डक्टर किसान नै भएको उनले बताइन्।
‘हामीले पशुपालनमा हेलचेक्र्याइँ पनि गरेका छौँ। पशुलाई फोहोरमा राखेका छौँ । त्यसले गर्दा पनि रोग बढी लाग्ने गरेको छ। मान्छेलाई जस्तै सफामा राख्ने गरौँ,’ उनले भनिन्, ‘मैले बुझेअनुसार पशुमा लम्पी स्किन लागेपछि सामान्य उपचारबाहेक अरू छैन। त्यसका लागि सबैभन्दा बढी उपचार भनेकै सफासुग्घरमा राख्नु हो जस्तो लाग्छ।’
पनौतीमा आठ हजार नौ सयभन्दा बढी पशुलाई भ्याक्सिन लगाइएको र छुटपुट बाँकी अझै लगाउन बाँकी रहेको नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा शाखा प्रमुख लीलानाथ सापकोटाले जानकारी दिए।