राष्ट्रसंघले सिंगापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ । सिंगापुरमा लागुऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई शुक्रबार फाँसी दिइएको थियो ।
त्यस्तै, कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँचजनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो । गत नोभेम्बरमा सातजनालाई मृत्युदण्ड दिइएयता कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो । साउदी अरबको तुलनामा कुवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ ।
राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कुवेत र सिंगापुरमा यस साता दिइएका मृत्युदण्डको निन्दा र कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्छाैं ।’ दुवै देशलाई यसअघि मृत्युदण्डमा प्रतिबन्ध लगाउने १७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गरिएको छ ।