स्याङ्जाको वालिङ नगरपालिका– ५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछानेले यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरेका छन् ।
आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौंस्थित अकिस्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो । पित्लेक कालिका कृषि फार्म र अकिस्टा नेपाल प्रालिबिच यहाँ उत्पादित सुन्तला खरिद–बिक्री गर्ने सम्झौताअनुरूप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताए ।
‘कम्पनीसँग यस वर्ष सम्झौता भएबमोजिम प्रतिकेजी ६५ रुपैयाँका दरले हामीले बिक्री गर्याैँ,’ उनले भने, ‘कम्पनीबाट दुई–तीनजना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।’ कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरूको पनि सुन्तला टिपेर पठाइएको उनले बताए । किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी ६५ रुपैयाँका दरले बिक्री गरिसकेका छन् ।
यस वर्ष बिक्री भएको सुन्तलाबाट तीन लाख ९० हजार आम्दानी भइसकेको र अब २५–३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उनको भनाइ छ ।
गत वर्ष पनि सुन्तला बिक्रीबाट तीन लाख २५ हजार आम्दानी गरेका लामिछानेले यस वर्ष चार लाखभन्दा बढी आम्दानी गरेका छन् । दश वर्ष पहिला व्यावसायिक रूपमा सुन्तलाखेती थालेका लामिछानेको बगैँचामा हाल ५५० बोट सुन्तला छन् । ती बोटमध्ये हाल ३५० बोटले फल दिन्छन् भने अरू बोट सानै छन् ।
गत वर्ष पनि काठमाडौंकै एक कम्पनीसित सुन्तला खरिद–बिक्रीको सम्झौता भएर बिक्री गरेको उनको भनाइ छ । लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।
स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, बुटवललगायतका ठुला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् । व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो ।